पाकिस्तानमा ह्‍वात्तै बढे संक्रमित

पाकिस्तानी स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ४६ हजार ९ सय १५ पुगेको छ भने १ हजार ३ जनाले ज्यान गुमाइसकेका छन् ।
एजेन्सी

इस्लामाबाद — पाकिस्तानमा पछिल्ला केही दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेको छ । अधिकारीहरूले संक्रमण फैलिने क्रम वृद्धि भएसँगै आगामी दिनमा थप संकट उत्पन्न हुने चेतावनी दिइसकेका छन् ।

पाकिस्तानमा ह्‍वात्तै बढे संक्रमित

पाकिस्तानी स्वास्थ्य मन्त्रालयअनुसार गएको २४ घण्टामा १ हजार ९ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, ४६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

गत मार्चदेखि कोभिड–१९ को संक्रमण फैलिएको पाकिस्तानमा बुधबार साँझसम्म १ हजार ३ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार संक्रमितको संख्या ४६ हजार ९ सय १५ पुगेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कोभिड–१९ बाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । सिन्धमा १८ हजार ९ सय ६४ जनामा संक्रमण देखिइसकेको छ भने ३ सय १६ जनाले ज्यान गुमाइसकेका छन् । त्यसैगरी, पञ्जाबमा संक्रमितको संख्या १६ हजार ६ सय ८५ छ । २ सय ९० जनाको मृत्यु भइसकेको छ ।

खैबर पख्तुनख्वामा ६ हजार ५ सय ५४ जना संक्रमित भएका छन् भने मृतकको संख्या ३ सय ४५ छ । बलुचिस्तानमा २ हजार ८ सय ८५ र इस्लामावाद राजधानी क्षेत्रमा १ हजार १ सय ३८ जना संक्रमित छन् । ती राज्यहरूमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या क्रमश: ३८ र ९ छ ।

गिलगित बल्तिस्तानमा ५ सय ५६ र पाकिस्तान प्रशासित कश्मीरमा १ सय ३३ जनामा संक्रमण पुष्टि भइसको छ । गिलगित बल्तिस्तानमा ४ र कश्मीरमा १ जनाको ज्यान गइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये १३ हजार १ सयभन्दा बढी निको भइसकेका छन् ।

अधिकारीहरूले हालसम्म ४ लाख १४ हजार २ सय ५४ जनाको परीक्षण गरिसकिएको जनाएका छन् । पाकिस्तानको जनसंख्या करिब २२ करोड छ । मन्त्रालयका अनुसार तीमध्ये १३ हजार ९ सय ६२ जनाको बुधबार परीक्षण भएको हो ।

विधायिकाको मृत्यु

कोभिड–१९ का कारण पाकिस्तानकी एक विधायकको बुधबार मृत्यु भएको छ । सत्तारूढ दल पाकिस्तान तेहरिके इन्साफ पार्टीकी एक नेतृको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट तहरिक–ए–इन्साफ पार्टीकी ६५ वर्षीया नेतृ शाहिन राजाको मृत्यु भएको हो । उनी पार्टीकी वरिष्ठ सदस्य तथा पञ्जाब प्रान्तीय सभाकी विधायिका हुन् ।

समाचार संस्था रोयटर्स्का अनुसार उनको उपचारका क्रममा लाहोरस्थित एक अस्पतलामा ज्यान गएको हो । ‘उनलाई मे १७ मा अस्तपालमा भर्ना गरिएको थियो । तर उनलाई सोमबार मायो अस्पतालमा ल्याइएपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो,’ अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. असद अस्लामले भने ।

चुनावी क्षेत्रको भ्रमणका क्रममा नेतृ शाहिनमा कोभिड–१९ को संक्रमण भएको बताइएको छ । शाहिनको निधनप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खान र पञ्जाबका मुख्यमन्त्री उस्मान बुजदारले दु:ख व्यक्त गरेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?