१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

संक्रमित सई भन्छन्- 'आरडीटीले हँसाएको थियो, पीसीआरले रुवायो'

परीक्षणको दायरासँगै पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । विदेशबाट आएका र तिनका परिवारमात्र नभई कोरोनाविरुद्धकै अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सवारी चालकसमेत संक्रमित हुन थालेका छन् । यीमध्ये कतिपयले आफू कहाँ र कहिले संक्रमित भएँ भनेर हेक्का राख्न नसक्दा कन्ट्याक्ट ट्रेसिङ र थप परीक्षण जटिल बनेको छ ।
मकर श्रेष्ठ

काठमाडौँ — लकडाउनदेखि उनी नियमित मोबाइल गस्तीमा हुन्थे । कालीमाटी प्रहरीको इलाकाभित्र हुने जुनसुकै घटनामा सुरुमा पुग्ने उनकै भ्यान हुन्थ्यो । दैनिक १२ घण्टाको ड्युटी सकेर बानेश्वरस्थित कोठामा पुग्थे ।

संक्रमित सई भन्छन्- 'आरडीटीले हँसाएको थियो, पीसीआरले रुवायो'

यो दैनिकी कोरोना संक्रमित प्रहरी नायब निरीक्षक (सई) को हो । मंगलबार पनि बिहान ड्युटीबाट फर्केर दिउँसो सुते । बेलुका खाना खाएर सुत्ने बेलामा महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले फोन गरे र पाँच दिनअघि दिएको स्वाबको रिपोर्ट पोजिटिभ आएको भन्दै उनलाई कार्यालय बोलाए । उनी आत्तिँदै मोटरसाइकलमा कार्यालय पुगे । त्यहाँ उनलाई लिन एम्बुलेन्स आइसकेको थियो । वृत्तका साथीहरू न बोल्न सके न रुन । एकोहोरो टोलाइरहे ।

मंगलबार राति १२ बजेदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा रहेका उनले आफ्ना पीडा यसरी सुनाए–

नेपाल प्रहरीको जागिर खाएको २२ वर्ष भयो । दुई वर्षदेखि कालीमाटी वृत्तमा कार्यरत छु । त्यसअघिसम्म प्रहरी प्रधान कार्यालयमा थिएँ । लकडाउनअघि कहिले सीआरभी त कहिले मोबाइल ड्युटी पर्थ्यो । यी दुवै कुनै घटना भएमा तत्काल पुग्नैपर्ने जिम्मेवारी हुन् । लकडाउनदखि भने मोबाइल ड्युटी मात्रै पर्‍यो । कहिले बिहान १० देखि राति १० बजेसम्म हुन्थ्यो, कहिले राति १० बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्म हुन्थ्यो । १२ घण्टे ड्युटी अनिवार्य थियो । अरू बेलाजस्तै सोमबार राति १० बजेदेखि सुरु भएको ड्युटी मंगलबार बिहान १० बजे सकियो ।

रातभरि गस्ती गरेर बिहान ६ बजे कार्यालय गएँ । हातमुख धोएर फ्रेस भएँ । चिया खाएँ । कालीमाटीमा बिहान हुने भीडभाड भनिसाध्य हुँदैन । पसल बन्द गराउनै सकिँदैन । यहाँका व्यापारी अत्यन्तै अटेरी छन् । कसरी हुन्छ, व्यापार गरेर कमाउने भन्ने मात्रै ध्याउन्न छ । मंगलबार बिहान पनि यस्तै थियो । १० बजे ड्युटी सकिएपछि कार्यालयमै नुहाएर बानेश्वरस्थित कोठामा गएँ । खाना खाएँ । दिउँसो १२ बजे सुतेर ५ बजे उठें । साँझ खाजा खाएँ ।

मंगलबार मात्रै होइन, लकडाउनमा मेरो दैनिकी नै यस्तै थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार २७ जना कोरोना संक्रमित थपिएको विवरण सार्वजनिक गरको थियो । काठमाडौं उपत्यकामा पनि पाँच जना थपिएको भनिएको थियो । कहाँका परे होलान् भन्ने लाग्यो । अनलाइन र फेसबुकतिर हेरिरहें । केही पत्ता लागेन । साथीहरूलाई आफ्नो एरियामा कोही पर्‍यो कि भनेर पनि सोधें । यसरी निधिखोजी गर्नुको कारणचाहिँ आफ्नो क्षेत्रमा कोही नपरे सुरक्षित भइन्थ्यो भन्ने थियो । केही पत्ता लागेन ।

पौने ९ बजेतिर खाना खाएँ । कोठामा हामी बूढाबूढी मात्रै थियौं । सुत्ने तरखरमा थिएँ । १० बजेतिर डीएसपी सापको फोन आयो । तिम्रो रिपोर्ट पोजिटिभ आयो भन्ने छ । अफिस आऊ । अस्पताल जानुपर्छ जस्तो छ भन्नुभयो । सुन्नासाथ खलखली पसिना आयो । खङरंग भएँ । बोल्नै सकिनँ । हामी दुवै जना हेरेको हेर्‍यै भयौं । केही बेरपछि श्रीमती रुन थालिन् । उनलाई सम्झाएर राति १० बजे बाइकमा कालीमाटी गएँ । म र प्रहरी जवान भाइलाई लिन एम्बुलेन्स कार्यालयअगाडि आइसकेको रहेछ । कोहीसँग बोल्ने माहोल नै भएन । सबै साथीहरू चिन्तित थिए । नहुन् पनि कसरी ? हाम्रो भान्सा एउटै थियो । ड्युटी गर्ने गाडी एउटै थियो ।

अझ मुद्दाको भाइलाई पनि कोरोना देखिएपछि ब्यारेकमा बस्ने सबै आत्तिए । एम्बुलेन्समा राखेर हामीलाई १२ बजे बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल पुर्‍याइयो । हामी पुग्नुभन्दा अघि तीन जना रहेछन् । हामी पुगेको केही छिनपछि भक्तपुरबाट एक जनालाई ल्याए । हामी अहिले एउटै कोठामा ६ जना छौं । हाम्रा लागि दुईवटा ट्वाइलेट छ । सबैका लागि पानी तताउने भाँडो एउटै छ । जार एउटा मात्रै छ । सबैले त्यही भाँडो समाउँछन् । हामीमध्ये कोहीलाई संक्रमण नहुन पनि सक्छ भन्ने आशा बाँकी नै छ । तर, सामूहिक बसाइले म झन् आत्तिएको छु । खाना दिइरहेका छन् । तर, परीक्षण गर्न कोही चिकित्सक र नर्स आएका छैनन् ।

कोठामा श्रीमती एक्लै छिन् । उनी रोइरहेकी छन । उनलाई फोन गरेर सम्झाइरहेको छु । एउटा छोरा जापानमा छ । अर्को छोरा अंकलकोमा छ । ६६ वर्षीया आमालाई एक साताअघि ललितपुरको सानागाउँस्थित बहिनीको कोठामा छाडेको थिएँ । मलाई त कोरोना लागिहाल्यो, अब आमा र श्रीमतीलाई नहोस् भनेर कामना गरिरहेको छु । आज त म बस्ने घर, कार्यालय र बहिनीको घरमा पनि सिल गरिसकिएको छ । आफन्तले पनि फोन गरेर सम्झाइरहनुभएको छ । मर्नै त कसलाई पो रहर हुन्छ र † डर लागिरहेको छ ।

तरकारी बजारबाटै सरेको हुनुपर्छ

जेठ १ मा कालीमाटीमा कोरोना परीक्षण गरिएको थियो । परीक्षण गर्न आउनेको भीड थियो । भीडभाडमा ओहोरदोहोर गरिरहनुपरेको थियो । तर, कसैलाई पनि छोएको थिइनँ । त्यो दिन मात्रै होइन, अरू बेला पनि कालीमाटीमा सधैं भीडभाड हुन्थ्यो । यहाँ बारम्बार विवाद भएकाले पनि जानैपथ्र्यो । लकडाउनको समेत पालना हुुँदैन्थ्यो । हामीले भनेको नमानेपछि फर्केर बाहिर आउँथ्यौं । भीड हुँदा बरु हामी नै हार मानेर भाग्थ्यौं ।

कालीमाटीमा जाँच गर्दा मेरो ड्युटी त्यहीं पर्‍यो । भीड नियन्त्रण गर्न हामी ६ जना खटिएका थियौं । सम्झाइबुझाई गरेर लाइन राख्यौं । यो भीडमा हामीले पनि परीक्षण गरिदिन भन्यौं तर पीसीआर गरिदिएनन् । आरटीडी मात्रै भयो । परीक्षण भएको १० मिनेटमा रिपोर्ट आयो । रिपोर्ट नेगेटिभ आएपछि हामी खुसी भयौं ।

यो कुरा डीएसपी सापलाई पनि जानकारी गरायौं । उहाँ पनि खुसी हुनुभयो किनभने हाम्रो रिपोर्टकै आधारमा अरूलाई पनि छैन भन्ठान्नुभयो । कालीमाटीमा ३ सय ६४ जनाको पीसीआर र ७ सय जनाको आरडीटी भएको थियो । रिपोर्ट सुखद् आएपछि हामी सबै अरू बेला जस्तै नियमित काममा खटिइरह्यौं ।

काठमाडौं महानगरपालिकाका कर्मचारीको परीक्षण गर्दा मेरो मोबाइल ड्युटी पर्‍यो । ११ बजेतिर परीक्षण गर्ने ठाउँमा पुग्यौं । एक अर्को टाँसिएर परीक्षण गर्न लाइन बसेका रहेछन् । लाइन मिलायौं । त्यहाँ जाँदा सामान्य मास्क लगाएको थिएँ तर पन्जा थिएन । अपनाउनुपर्ने सावधानीचाहिँ अपनाएकै हो । डीएसपी सापले प्रहरीको पनि परीक्षण गराउन महानगरलाई आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभएअनुसार आग्रह गरे । साढे १ बजे बोलाए । २ गते दुई बजेतिर १८ जना प्रहरी गाडीमा गयौं । पीसीआर गर्‍यौं । मेरो ड्युटी त्यहीं थियो । त्यहीं बसें । अरू कार्यालय फर्किए ।

परीक्षणको क्रममा ३१ जनाको आरटीडी पोजिटिभ देखियो । सबै आत्तिन थाले । क्वारेन्टाइनमा राख्ने कुरा भयो तर क्वारेन्टाइन थिएन । होटल खोजी भयो । कसैले राख्न मानेनन् । महानगरको कार्यालयकै चारवटा कोठा खाली गरेर उनीहरूलाई राखियो । त्यहाँबाट म ६ बजेतिर कार्यालय गएँ । त्यही दिन राँगाभैंसी काट्ने ठाउँमा २०–२५ जनाको झगडा भएको थियो । त्यो भीड नियन्त्रण गर्न पनि म आफैं पुगेको थिएँ । केहीलाई नियन्त्रणमा लिएर ल्याएँ । ड्युटीकै क्रममा धेरैसँग भेटे पनि भीडभाडबाट टाढै थिएँ । रिपोर्ट नआउँदासम्म डरचाहिँ लागिरहेको थियो ।

डरैडरमा ड्युटी

डाक्टरले स्वाबको रिपोर्ट २४ घण्टामा आउँछ है भनेका थिए । २४ घण्टा कुरें, आएन । ३६ घण्टा कुर्दा पनि आएन । परीक्षण गर्दा नै नेगेटिभ आयो भने फोन आउँदैन भनेका थिए । स्वाब दिएको ५ दिनसम्म पनि कतैबाट फोन नआएपछि रिपोर्ट नेगेटिभ आएछ क्यारे भन्नेमा ढुक्क थिएँ । डियुटी यथावत् नै गरिरहें ।

स्वाब दिएको पाँचौं दिनको राति रिपार्ट पोजिटिभ आएको थाहा पाए । त्यसपछि छाँगाबाट खसेजस्तो भए । कहाँबाट सर्‍यो होला भन्ने सम्झें । ड्युटी कार्यालय, घरभन्दा कतै गएको छैन । ड्युटीमा जाँदा पनि कसैलाई छोएको छैन । कार्यालयभित्र अरू साथीबाट सर्‍यो कि कालीमाटीको तरकारी बजारबाट भन्ने अनुमान गरें । मसँगै संक्रमित जवान भाइ मुद्दा फाँटमा काम गर्थें । बाहिरका मान्छेसँग समेत सम्पर्क हुने मुद्दा फाँट हुँदै हामीसम्म पनि सरेको हो कि भन्ने पनि लाग्छ । कार्यालयका अरू रिपोर्ट नआएसम्म केही भन्नै गाह्रो छ ।


प्रकाशित : जेष्ठ ८, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?