प्रधानमन्त्री कोन्टे भन्छन् – महामारीले थलिएको अर्थतन्त्र र सामाजिक संरचनालाई उठाउनु छ
रोम — इटालीका प्रधानमन्त्री जोसेप कोन्टेले आगामी जुन ३ देखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । सम्भावित जोखिमको आकलन गरेरै लकडाउनका कारण आक्रान्त नागरिकलाई केही राहत दिन यो निर्णय गरिएको प्रधानमन्त्री कोन्टेले बताए ।
जुन ३ तारिखदेखि इटालीबाट अर्को देशमा यात्रा गर्न र अर्को देशबाट इटाली आउन पनि दिइने उनले बताए । सात्रै जिम, स्विमिङ पुल, स्पोर्ट्स सेन्टर पनि मे २५ देखि खोलिने उनले बताए । साथै जुन १५ बाट सिनेमाघर तथा थियटरहरु पनि खोलिने निर्णय गरिएको छ ।
युरोपेली देशबाट आउनले नागरिकलाई दुई हप्ता क्वारेन्टाइन बस्न पर्ने नियम पनि हटाइएको प्रधानमन्त्री कोन्टेले जानकारी दिएका छन् ।
यो घोषणा कोरोना महामारीका कारण डामाडोल भएको इटालीको अर्थतन्त्र उकास्ने प्रयासस्वरुप गरिएको हो । शनिबार टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले भने, ‘हामीले कोरोना भाइरसको संक्रमण फेरि बढ्न सक्ने आकलन गरेका छौं । तर हामीले यो कुरा स्वीकार गर्नैपर्छ कि अहिले हामीले सुरु गरेनौं भने हामी माथि उठ्नै सक्दैनौं ।’
कोरोना भाइरसको भ्याक्सिन पत्ता नलागुन्जेल इटालीका व्वयसाय बन्द गर्न नसकिने पनि उनले बताए । कोरोना भाइरसको महामारीबाट ध्वस्त भएको अर्थतन्त्र र सामाजिक संरचनालाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।
पछिल्लो समय इटालीमा कोरोना भाइरसको संक्रमण घटिरहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १५३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म इटालीमा ३१ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म २ लाख २४ हजार ७ सय ६० जना संक्रमित भएका छन् । इटालीमा संक्रमण पुष्टि भएकामध्ये १ लाख २२ हजार ८ सय १० जना निको भएका छन् ।
