घर फर्कन पाउनुपर्ने भन्दै मुम्बईमा मजदुरको प्रदर्शन

वैशाख ३, २०७७

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लकडाउन बढाएपछि मुम्बई सहरमा हजारौं मजदुरले विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न ठाउँबाट मुम्बई पुगेका मजदुरले बान्द्रा रेल स्टेसनमा घर फर्कन पाउनुपर्ने माग गर्दै विरोधमा उत्रेका हुन् । मोदीले अगामी साता पहिलोको भन्दा थप कडा लकडाउन हुने बताएकै दिन मजदुरहरूले सडकमा प्रदर्शन गरेका हुन् ।

अधिकांश मजदुर मंगलबार लकडाउन अन्त्य भएपछि घर फर्कने आशामा रहेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार मजदुरलाई लखेट्न प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रहरी अधिकारीका अनुसार उत्तर प्रदेश र पश्चिम बंगालबाट आएका हजारभन्दा बढी मजुदर प्रदर्शनमा सहभागी थिए । भारतका विभिन्न सहरमा लकडाउनका कारण करिब १० करोड मजदुर अड्केको बताइएको छ । कपितय भने सयौं किलोमिटर हिँडेरै घर पुगेको जनाइएको छ ।

आर्थिक प्याकेज नल्याएको भन्दै आलोचना

प्रधानमन्त्री मोदीले लकडाउनका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्ने गरी कुनै आर्थिक प्याकेजको घोषणा भने गरेनन् । जबकि मोदीसँगको भिडियो कन्फरेन्समा मुख्यमन्त्रीहरूले पनि आर्थिक क्षेत्रमा परेको नकारात्मक प्रभावलाई सम्बोधन गर्ने गरी विशेष प्याकेज ल्याउन माग गरेका थिए । विपक्षीहरूले पनि लकडाउनको निर्णय सही भए पनि अर्थतन्त्रमा परेको असरबारे केही नबोलिएको भन्दै मोदीको आलोचना गरेका छन् । विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री पी चिदम्बरमले ट्वीट गर्दै गरिबहरूको जीवनसँग सरकारको कुनै चासो नभएको भन्दै सरकारको आलोचना गरेका छन् । ‘लकडाउन लम्ब्याउनु ठीक हो तर गरिबहरूलाई त्यत्तिकै छाडिएको छ । पैसा छ, खाद्य सामग्री छ तर सरकारले कुनै व्यवस्था गरेको छैन,’ चिदम्बरमले लेखेका छन् ।

गरिबहरूलाई राहत दिनुपर्छ भनेर पूर्वगर्भनर रघुराम राजनदेखि अर्थशास्त्री अभिजित बनर्जीसम्मले सुझाव दिए पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ । केही दिनअघि मात्र पूर्वगर्भनर तथा वरिष्ठ अर्थशास्त्री राजनले एउटा ब्लग लेख्दै सरकारले लकडाउनसँगै गरिब, किसान तथा साना व्यापारीलाई लक्षित गर्दै विशेष आर्थिक प्याकेज ल्याउन ढिलाइ गर्न नहुने सुझाव दिएका थिए । अन्यथा भाइरसको संक्रमण नियन्त्रण आए पनि मुलुकले आर्थिक रूपमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत उनले दिएका थिए ।

कान्तिपुर

Link copied successfully