अस्ट्रेलिया — अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित आधाभन्दा बढी बिरामी निको भएका छन्। अहिलेसम्म पोजिटिभ नतिजा देखिएकामध्ये करिब ५२ प्रतिशत बिरामी 'रिकोभर' भएको यहाँस्थित स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ।
अस्ट्रेलियामा अहिलेसम्म करिब ६ हजार ३ सय संक्रमित छन् भने ५९ जनाको मृत्यु भइसकेको छ।
आइतबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार ३ हजार २ सय ९५ जना निको भएका छन्। तुलनात्मक रूपमा संक्रमण भएका व्यक्ति अस्पताल भर्ना हुने संख्यासमेत कम रहेको छ। अहिलेसम्म अस्ट्रेलियाको सबै राज्यमा रहेका अस्पतालमा २ सय ४० जना भर्ना भएका छन्। अन्य सरकारले उपलब्ध गराएको होटल र आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा छन्। अस्पतालमा भएका बिरामीमध्ये ८० जनाको सघन उपचार कक्ष (आइसीयू) मा उपचार भइरहेको छ।
अस्ट्रेलियामा संक्रमण दरसमेत विश्वको तुलनामा कम रहेको छ। तथ्यांकअनुसार अहिलेसम्म ३ लाख ५१ हजारमा परीक्षण गरिएको छ, जसमा १ दशमलव ८ प्रतिशत संक्रमित पाइएका छन्।
अस्ट्रेलियालाई पूर्णतः लकडाउन नगरिएको भए पनि संक्रमण रोक्नका लागि अत्यावश्यकबाहेक प्रायः सबै सेवा बन्द गरिएको छ भने सामाजिक दुरी कायम नराखे जरिवाना र जेल सजायसम्मका नयाँ नियम लगाइएको छ। यसका साथै प्राय: सबै राज्यले आफ्नो सिमाना बन्द गरेका छन्।
प्रधानमन्त्री स्कट मरिसनका साथै स्वास्थ्य अधिकारीले संक्रमण रोक्नका लागि सरकारले अपनाएको उपाय प्रभावकारी देखिएको र यसलाई पालना गर्न आग्रह गरेका छन्। संक्रमण कम भए पनि खुसी हुनुपर्ने अवस्था नरहेको र पूर्ण रूपमा नियन्त्रणमा आउन समय लाग्ने उनको भनाइ छ। यहाँको संक्रमण दरसमेत हरेक दिन पातलिँदै गएको छ। आइतबार नयाँ संक्रमितको संख्या ५१ मात्र छ, जुन अघिल्लो साताको तुलनामा २ सयले कम हो।
यहाँका विभिन्न ३ राज्यमा संक्रमित ८ जना नेपाली समेत निको भएर घर फर्किसकेका छन्। अरुमा थप कुनै संक्रमण पाइएको छैन। अस्ट्रेलियास्थित नेपाली दूतावासले नेपालीका बारेमा दैनिक रूपमा जानकारी लिइरहेको बताउँदै सरकारको सुझाव पालना गर्न आग्रह गर्दै आएको छ।
