काँकडभिट्टा — विश्व नै कोरोना भाइरसले संक्रमणले आक्रान्त छ । कोरोना संक्रमण हुन नदिन सरकारले तीन सातायता लकडाउन जारी राखेको छ । तर, झापा दमकको वेलडाँगीका भुटानी शरणार्थीहरुलाई रोगको भन्दा पनि भोकको डर छ ।
७५ वर्षका सहबहादुर मगर भन्छन्,‘रोगले भन्दा पनि भोकले चाहिँ चाँडो लैजाने हो कि भन्ने डर छ ।’ शरणार्थीलाई सरकारले उपलब्ध गराउँदै आएको चामल, दाललगायतका खाद्यान्न करिब एक वर्षदेखि कटौती भएको छ । जसका कारण शरणार्थी दुखजिलो ढंगबाट जीवन निर्वाह गर्न बाध्य छन् । ‘लकडाउनले झनै समस्या थपिदिएको छ’, मगर भन्छन्, ‘भोकै मर्ने अवस्था भइसक्यो ।’ केही संघसंस्थाले उनीहरुलाई थोरै राहत पनि दिए केही दिनअघि । तर, त्यो पर्याप्त नरहेको शरणार्थीहरु बताउँछन् । ‘१० किलो चामलले कति दिन पुग्ला ?’, अर्का शरणार्थी रहलसिंह समालले सुनाए,‘हात्तीको मुखमा जिरो जस्तो मात्रै भएको छ ।’

