भुटानी शरणार्थी भन्छन् : अरु सबै खप्‍न सकिँदो रहेछ, भोक सकिएन

पर्वत पाेर्तेल

काँकडभिट्टा — विश्व नै कोरोना भाइरसले संक्रमणले आक्रान्त छ । कोरोना संक्रमण हुन नदिन सरकारले तीन सातायता लकडाउन जारी राखेको छ । तर, झापा दमकको वेलडाँगीका भुटानी शरणार्थीहरुलाई रोगको भन्दा पनि भोकको डर छ ।

७५ वर्षका सहबहादुर मगर भन्छन्,‘रोगले भन्दा पनि भोकले चाहिँ चाँडो लैजाने हो कि भन्ने डर छ ।’ शरणार्थीलाई सरकारले उपलब्ध गराउँदै आएको चामल, दाललगायतका खाद्यान्न करिब एक वर्षदेखि कटौती भएको छ । जसका कारण शरणार्थी दुखजिलो ढंगबाट जीवन निर्वाह गर्न बाध्य छन् ।  ‘लकडाउनले झनै समस्या थपिदिएको छ’, मगर भन्छन्, ‘भोकै मर्ने अवस्था भइसक्यो ।’ केही संघसंस्थाले उनीहरुलाई थोरै राहत पनि दिए केही दिनअघि । तर, त्यो पर्याप्त नरहेको शरणार्थीहरु बताउँछन् । ‘१० किलो चामलले कति दिन पुग्ला ?’, अर्का शरणार्थी रहलसिंह समालले सुनाए,‘हात्तीको मुखमा जिरो जस्तो मात्रै भएको छ ।’ 

धेरैजसो शरणार्थीहरु आफूले पालेका खसी, बाख्रा र सुंगुर बेचेर लकडाउन अवधिमा गर्जो टारिरहेका छन् । दुई दिनकी सुत्केरी विष्णु पौडेल अस्पतालवाट आउँदा घरमा खाने कुरा केही थिएन । घरको खसी बेचेर भात खाइरहेकी छन् । भन्छिन्,‘जसरी पनि खानु त पऱ्यो । साना बालबच्चालाई भोको राख्नु त भएन नि ।’ 

८० वर्ष पुग्न लागेका पूर्णबहादुर गुरुङलाई तेस्रो देश पुनर्वासमा गएनन् ।  छोराछोरी सबै अमेरिका लागे । उनी ज्वाइसँग बस्छन् । सरकारबाट मासिक २ हजार २ सय रुपैयाँ भत्ता पाउँछन् । त्यसैले जीवन चलेको छ । भन्छन्, ‘सबैकुरा खप्न सकिने रैछ तर यो भोक खप्न चाहिँ सकिँदो रहेनछ ।’ 

प्रकाशित : चैत्र ३०, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्