३ जनामा कोरोना संक्रमण देखिएपछि वीरगन्जमा त्रास, 'ट्राभल हिस्ट्री' खोज्दै प्रहरी

चिकित्सकहरुले वीरगन्जमा कोभिड विशेष अस्पताल स्थापनाको माग गरेका छन्

चैत्र ३०, २०७६

भूषण यादव

वीरगन्ज — वीरगन्जको एक मस्जिदमा रहेका तीन भारतीय नागरिकमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि वीरगन्जवासीमा त्रास फैलिएको छ। अधिकांश टोलवासीले आफ्नो टोल प्रवेश गर्ने मुख्य द्वारमा  बाँसले अवरोध गरी ‘प्रवेश निषेध’ लेखिएको बोर्ड झुन्ड्याएका छन्। 

वीरगन्ज महानगरपालिका-२ छपकैयास्थित श्रीराम हलअगाडि रहेको मस्जिदमा बस्दै आएका उनीहरुमा संक्रमण पुष्टि भएपछि हाल नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। हेटौंडामा शुक्रबार प्रारम्भिक परीक्षण गरी उनीहरुको नमुना पुनः परीक्षणका लागि काठमाडौं पठाइएकोमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुको  सम्पर्कमा रहेका २६ जनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज चिनी मिलस्थित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको छ। 



स्थानीयले खडा गरेको सडकको अवरोध


यसैबीच, नारायणी अस्पतालले सम्पूर्ण ओपीडी सेवा बन्द गरिएको जानकारी गराएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले कोभिड १९ को संक्रमण देखिएकाले शनिबारदेखि लागू हुने गरि अर्को व्यवस्था नहुन्जेलसम्म आकस्मिकबाहेक सम्पूर्ण ओपीडी सेवा बन्द गरिएको जनाए। 



वीरगन्जमा ३ जनामा संक्रमण देखिए पनि हालसम्म कोभिड विशेष अस्पताल स्थापना नभएकोमा चिकित्सकले चिन्ता गरेका छन्। अस्पतालका फिजिसियन डा. निरज सिंहले आइतबार मध्याह्न सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार कृपया यो स्पष्ट गरिदिनुस् कि नारायणी अस्पताल कोभिड १९ अस्पताल हो वा होइन? हो भने अरु बिरामीलाई अर्को अस्पतालमा सार्नपर्‍यो। होइन भने ३ जना संक्रमितलाई कोभिड १९ अस्पताल सार्नुपर्‍यो।’ कोभिड १९ का संक्रमितलाई उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले अरु बिरामीलाई हेर्न नमिल्ने उनले बताए। अस्पतालमा भर्ना भएका अन्य बिरामीको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। यस्तो बेला उनीहरुमा रोग सर्ने सम्भावना बढी हुन्छ। 

आइतबार नारायणी अस्पतालको ओपीडी बन्द भएपछि उपचार गराउन आएका धेरै सर्वसाधारण फर्किएका थिए। ‘यहाँका शिक्षण तथा निजी अस्पताललाई कोभिड विशेष अस्पताल बनाएर ३ संक्रमितलाई सार्नुपर्‍यो,’ डा. सिंहले भने, ‘या त नारायणीको सेवा अन्य अस्पतालमा सार्नुपर्‍यो।’ 


ट्राभल हिस्ट्री खोजिँदै


क्वारेन्टाइन बनाइएको सिद्धार्थ मावी 


प्रहरीले संक्रमित व्यक्ति वीरगन्जको मस्जिदमा कसरी आइपुगे भनेर ट्राभल हिस्ट्री खोजी गरिरहेको छ। बिहीबार नारायणी अस्पतालमा स्क्रिनिङ गराउने क्रममा ती मुस्लिम धार्मिक प्रचारकले आफूहरु ४ महिनाअगाडि नै नेपाल प्रवेश गरेको चिकित्सकलाई बताएका थिए। तर, चिकित्सकले उनीहरुले बताएको ट्राभल हिस्ट्रीमा विश्वास गरेका छैनन्। ‘लामो समयदेखि नेपालमै छन् भने कहाँ कोबाट संक्रमित भए,’ नारायणी अस्पतालका एक चिकित्सकले भने, ‘उनीहरुले बताएको जिल्लामा अहिलेसम्म संक्रमणको केस बाहिरिएको छैन।’ 

पर्सा प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरुले ट्राभल हिस्ट्री फरकफरक बताइरहेका छन्। ‘उनीहरुको वीरगन्ज प्रवेश लकडाउनअघि या पछि भएको हो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ,’ ती अधिकृतले भने।

भूषण

Link copied successfully