सुकुम्बासीले फिर्ता गरे राहत

चैत्र ३०, २०७६

बलराम घिमिरे

रसुवा — जिल्लाका दुई जना सुकुम्बासीले राहत फिर्ता गरेका छन् । कालिका गाउँपालिका–३ इटपारका मुरली नेपाली र झक्कबहादुर भुसालले गाउँपालिकाले उपलब्ध गराएको राहत फिर्ता गरेका हुन् ।

आफूभन्दा पनि न्यून आय भएकालाई राहत दिन अनुरोध गर्दै उनीहरुले पालिकाले उपलब्ध गराएको राहत शुक्रबार फिर्ता गरेको गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानले बताए । ‘राहत फिर्ता गर्ने दुवै जना सुकुम्बासी हुन्,’उनले भने । 

कतै जग्गा जमिन नभएका मुरली नेपालीलाई २०५६ सालमा आफू गाविस अध्यक्ष हुँदा सार्वजनिक जग्गामा घर बनाएर राखिदिएको न्यौपानेले बताए । त्यो घर पनि २०७२ को भूकम्पले लडायो । भूकम्प पीडितमा उनको नाम निस्कियो तर आफ्नो नाउँमा घर जग्गा नहुँदा घर बनाउन पाएनन् । पछि जनता आवास मार्फत उनले जसोतसो घर त बनाउन सके । खेतीपाती गर्नका लागि आफ्नो नाममा एक टुक्रा पनि जग्गा जमिन नहुँदा ज्याला मजदुरी गरेर आफ्नो परिवार पालिरहेका छन् । 

सुकुम्बासी भएका कारण गाउँपालिकाले उनीहरूलाई वडामार्फत राहतको कुपन उपलब्ध गराएको थियो । 

अहिलेलाई कुनै समस्या नभएको भन्दै उनीहरुले वडाअध्यक्षमार्फत पालिकालाई राहतको कुपन फिर्ता गरेको न्यौपानेले बताए । राहत फिर्ता गरेका मुरली नेपालीले पनि अहिले तत्काल आफूलाई राहतको आवश्यकता नपरेको बताए । 

‘म भन्दा पनि कम्जोर अवस्था रहेको परिवारले राहत पाउन भनेर फिर्ता गरेको हुँ,’ उनले भने ।  उनले फिर्ता गरेको राहतको कुपन एकल महिला भएको परिवारलाई दिइएको उपाध्यक्षले बताए । 

गाउँपालिकाले राहत पाउन योग्य परिवारलाई सोमबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको छ । पहिलो चरणमा २ सय ६७ परिवारलाई राहत उपलब्ध गराइएको कालिका गाउँपालिका अध्यक्ष सिता पौडेल अधिकारीले बताइन् । 'कुपनका आधारमा नजिकैको पसलबाट सामग्री लिने व्यवस्था मिलाइएको छ,' उनले भनिन् ।

गाउँपालिकाले भूमिहिन, सुकुम्बासी, आफ्नो खेती नभएका, परिवारको कुनै सदस्यको नियमित आयआर्जन नभएको, परिवारको कुनै सदस्य स्वदेश वा विदेशमा रोजगारीमा नरहेको वा नभएको, परिवारको कुनै सदस्यको व्यापार व्यवसाय नभएको र दैनिक ज्यालादारीमा परिवारको गुजरा चलाइरहेका परिवारलाई राहत सामग्री उपलब्ध गराइएको पालिकाले बताएको छ ।   

बलराम

Link copied successfully