भीड बढेपछि खाद्य सामग्री किन्ने समय घटाइयो

चैत्र ३०, २०७६

सुवास विडारी

मकवानपुर — खाद्य सामग्री किन्ने बहानामा हेटौंडा बजार क्षेत्रमा भीडभाड बढेसँगै स्थानीय प्रशासनले किनमेलको समय घटाएको छ । आइतबार बिहान बसेको कमान्ड पोस्टको बैठकले बजारमा भीड बढेको निष्कर्ष निकाल्दै खाद्य सामग्री किनमेलको समय घटाएको हो ।

यसअघि किनमेलको समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेकोमा यसलाई आइतबारको बैठकले परिवर्तन गरेको छ । अब किनमेलको समय २ घन्टा घटाएर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।


यसअघिको कमान्ड पोस्टको बैठकले हेटौंडा–४, ख्वपगल्ली र हेटौंडा–१०, बसपार्कको तरकारी बजार बन्द गरेको छ भने टीसीएनमा पनि खुद्रा किनमेल बन्द गरेको छ ।


तरकारी किन्नका लागि बजार नआउन आग्रह गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा तरकारीका ठेला नै विभिन्न क्षेत्रमा पुर्‍याउने व्यवस्था गरिएको छ । ‘तरकारी किन्ने स्थानमा बढी भेला देखिएपछि ठेलामार्फत् टोलटोलमा तरकारी पुर्‍याउने व्यवस्था मिलाइएको छ ।’, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले हेटौंडामा खाद्यान्नको स्टकको अवस्था र नियमित रुपमा बजार अनुगमन भइरहेको बताए । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully