ठेकेदार भागेपछि मजदुरको बिचल्ली
सिन्धुपाल्चोक — मेलम्ची नदी छेउको घना जंगलबीच एउटा थोत्रो त्रिपाल टाँगिएको थियो । पुरानो पाल अगाडि चुल्होमा एक महिला रुँदै ठूलो डेक्चीमा खाना पकाउँदै थिइन् । खाना कुर्दै जंगल छेउबाट बजार हेरिरहेका १९ जना रुँदारुँदै सुन्निएको अनुहार लिएर उभिरहेका भेटिए ।
मेलम्ची नगरपालिका–१० को शिखरपुरको खेतमा पालमा बास कटाइरहेका रोल्पा त्रिवेणी गाउँपालिका–२ का कर्णबहादुर खड्काले व्यथा सुनाइरहँदा भावुक देखिए । ‘ठेकेदार सम्पर्कमा छैनन्, काम लगाउने मान्छे पनि बेपत्ता भए, आफ्नै देशमा बेवारिसे भइयो, कतिन्जले यसरी बस्नुपर्ने थाहा छैन्, रुँदारुँदै दिक्क भइसक्यौं,’ खड्का भक्कानिए । जाजरकोटबाट १३ र रोल्पा जिल्लाबाट ६ जना मेलम्ची, भोताङ सडक खण्डमा जाली पर्खाल लगाउन ठेकेदारले यहाँ ल्याएको उनले सुनाए ।
रोल्पा र जाजरकोटका १९ मजदुर ३६ दिनदेखि लकडाउन खुल्ने र घर जान पाउने आशमा पाल टाँगेर अलपत्र बसिरहेका छन् । ‘घर पुगेर मर्न पाए कति आनन्द हुन्थ्यो, सरकारले लकडाउन बढाउने हल्ला आएको छ, हाम्रो झनै बिजोग हुने भयो,’ उनले स्थानीय र जनप्रतिनिधिलाई गुहारेको सुनाउँदै भने । १३ जनालाई काम लगाउने ठेकेदारका प्रतिनिधि प्रकाश श्रेष्ठ सम्पर्कमा आएर जिल्ला पुर्याउने आश्वासन मात्रै दिएको र अन्य कुनै सहयोग नगरेको मजदुरको भनाइ छ ।
बाँकी ६ जनाले कुन ठेकेदारमार्फत आएको भन्नेबारे केही थाहा नपाएकाले अन्योलमा छन् । ‘ठेकेदार र कम्पनीको कोही पनि चिन्दैनौं, उनीहरु सम्पर्कमा छैनन्, कहिले अरुको घरमा आश्रय लिन्छौं, कहिले पालमा, यसरी कति दिन कटाउनु ?,’जाजरकोटका जुनचादी गाउँपालिकाकी ४० वर्षीया चन्द्रा घर्तीले प्रश्न गरिन् । मेलम्ची नगर १० का वडाध्यक्षबाट राहतमा पाएको चामल, दाल, नुनबाट दैनिकीको गर्जो टारिरहेको उनले बताइन् ।
विश्वभर त्रास मच्चिरहेको थाहा पाएपनि आफूहरु कोरोना संक्रमित नभएकाले घर जानपाउनुपर्ने उनको माग छ । ‘यहाँ हामीले स्वास्थ्य परीक्षण गरायौं, केही समस्या देखिएको छैन्, जे भएपनि घर जान पाउ यही सरकारसम्म खबर पुर्याइदिनुहोस्,’ उनले भनिन् ।
जाजरकोट र रोल्पाका सडक मजदुर लकडाउन खुलेलगत्तै घर जाने तयारीमा छन् । तर, आर्थिक अभावका कारणले के गर्ने समस्या उत्तिकै देखिएको रोल्पा त्रिवेणी नगर–२ का मनबहादुर बुढामगरले गहिरो समस्या देखाए । ‘पहिले २२ जना थियौं, ९ जना घरबाटै पैसा मगाएर फर्किए, हामीले सकेनौं र यही अड्किएर बसेका छौं, एकदिन कटाएको पनि एकवर्षझैं लागिरहेको छ,’ उनले परिवारको कमजोर अवस्था दर्शाउँदै भने । यहाँको राहत सकिएपछि के खाएर बाँच्ने र जीवन गुर्जाने केही पत्तो नभएको भन्दै उनले सरकारलाई गुहारे ।
देशभर लकडाउन भएलगत्तै मजदुर परिवार भोकभोकै रहने देखिएपछि वडाको विपत् व्यवस्थापन कोषबाट चामल, नुन, तेलजस्ता आवश्यक खाद्यान्न सहयोग गरेको मेलम्ची नगर–१० का अध्यक्ष भक्तबहादुर खड्काले बताए । ‘लडकडाउन अवधिभर उहाँहरुलाई आवश्यक खाद्यान्न सहयोग गरिरहेने छौं, यसबारे सरकारले पनि व्यवहारिक रुपमा सोच्न जरुरी देखिन्छ,’ उनले भने । केही स्थानीय रामशरण दाहालको घरमा र बाँकी पालमा आश्रय लिएर बसिरहेको उनले प्रष्ट्याए ।
