कोरोना भाइरसका संक्रमित देखिएका र अन्य क्षेत्रमा फैलन सक्ने जोखिम भएका २० स्थानलाई ‘हटस्पट’ घोषणा गरिएको छ
नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थप फैलन नदिन भारतको दिल्ली राज्य सरकारले विभिन्न स्थानलाई ‘हटस्पट’ घोषणा गरेको छ । कोभिड–१९ का संक्रमित भएका तथा अन्य क्षेत्रमा विस्तार हुन सक्ने जोखिम भएका २० स्थानलाई हटस्पट घोषणा गरिएको हो ।
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले बुधबार अबेर राति त्यसको घोषणा गरेका हुन् । घोषणा गरिएका सबै ठाउँ कोरोनाको संक्रमण बढी देखिएका क्षेत्रमा पर्छन् । हटस्पट घोषणा गरिएका ठाउँलाई बन्द गर्ने निर्णय पनि गरिएको छ । जसअनुसार ती ठाउँबाट बाहिरिन र प्रवेश गर्न पनि रोक लगाइएको छ ।
विगत केही दिनयता संक्रमण फैलँदै गएपछि दिल्ली सरकारले यस्तो निर्णय लिएको हो । दिल्लीमा कोभिड–१९ का पहिलो संक्रमण २ मार्चमा देखिएको थियो । तर पाँच साता नबित्दै संक्रमितको संख्या निकै बढेको छ । बिहीबारसम्म दिल्लीमा ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । ९ जनाले ज्यान गुमाइसकेका छन् ।
दिल्लीमा पहिचान भएका कोरोना संक्रमणका धेरैजसो दक्षिण दिल्लीको निजामुद्दिनमा भेलामा सहभागी भएका र कतिपय उनीहरूको सम्पर्कमा आएका रहेको राज्य सरकारले दाबी गरेको छ । दिल्ली सरकारले हालसम्म पुष्टि भएका केसमध्ये पाँच सयभन्दा बढी उक्त भेलासँग सम्बन्धित रहेको बताएको छ ।
भेलामा करिब ८ हजारको हाराहारीमा तब्लिगी समुदायका सदस्यहरूको सहभागिता रहेको थियो । भेलाका सहभागीहरूमा संक्रमण देखिएपछि दिल्ली सरकारले महामारीविरुद्ध थप कडा कदम चाल्दै आएको छ । त्यसैक्रममा संक्रमित क्षेत्र तोक्ने र बन्द गर्ने निर्णय गरिएको हो ।
राजधानी दिल्लीमा कोभिड–१९ को संक्रमण रोक्न थप कडाइ भइरहँदा अन्य राज्यहरूले पनि त्यही किसिमका निर्णय गरेका छन् । नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा पनि विभिन्न पन्ध्र जिल्लाका १ सय ५ स्थानलाई कोरोना संक्रमणको बढी जोखिम भएको भन्दै हटस्पट तोकिएको छ । जसमा लखनउ, वाराणासी, कानपुर, आगरा, मेरठ, गाजियाबादलगायत जिल्लाका विभिन्न क्षेत्र छन् ।
उत्तरप्रदेश सरकारले ती क्षेत्रका नागरिकलाई अत्यावश्यक सामान खरिद गर्नका लागि समेत घर बाहिर निस्कन रोक लगाएको छ । राज्य सरकारले तरकारीलगायत दैनिक अत्यावश्यक उपभोग्य सामग्री घरघरैमा पुर्याइने बताएको छ । उत्तरप्रदेशमा बिहीबारसम्ममा ३ सय ६१ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने ४ जनाको मृत्यु भइससकेको छ ।
उडिसामा लकडाउन लम्ब्याइयो
भारतको केन्द्र सरकारले लागू गरेको तीन साता लामो लकडाउन सकिन केही दिन बाँकी छँदै उडिसा सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । राज्य सरकारको निर्णयअनुसार लकडाउनलाई अप्रिल ३० सम्म निरन्तरता दिइनेछ ।
मुख्यमन्त्री नवीन पट्नायकले बिहीबार त्यस्तो घोषणा गरेका हुन् । उडिसामा हालसम्म ३९ जनामा कोरोना पुष्टि भएको छ साथै उनले शैक्षिक संस्थाहरू १७ जुनसम्म बन्द रहनेसमेत बताएका छन् ।
यस अतिरिक्त महाराष्ट्र, तेलंगना, पन्जाब, मध्यप्रदेशलगायका राज्यहरूले पनि लकडाउनलाई निरन्तरता दिने बताइसकेका छन् । केन्द्र सरकारले तीन साताका लागि गरेको लकडाउन अवधि आगामी १४ अप्रिलमा सकिन्छ । राज्य सरकारहरूको लकडाउनलाई निरन्तरता दिने घोषणासँगै विपक्षीलगायतका अन्य राजनीतिक दलहरूले समेत निरन्तरता दिनुपर्ने सुझाव दिएका कारण प्रधानमन्त्री नरेन्द्र मोदीसमेत लकडाउनलाई १४ अप्रिलपछि पनि बढाउने निष्कर्षमा पुगेको बताइएको छ ।
पछिल्लो तथ्यांकअनुसार भारतका ७ सय २० जिल्लामध्ये ३ सय वटामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । त्यसमा पनि दिल्ली, मुम्बई, बैंग्लोर, पुनेलगायतका सहरी क्षेत्रमा संक्रमण सबैभन्दा बढी देखिएको छ । भारतका राज्यहरूमध्ये सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ । त्यहाँ संक्रमितको संख्या बाह्र सयभन्दा बढी नाघिसकेको छ । पूरै भारतभर भने ५ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १ सय ६६ जनाको मृत्यु भइसकेको छ ।
