संक्रमणको दोस्रो चरण स्थिर

कैलालीकी स्थानीय महिलाको स्वाबको परीक्षण पोजेटिभ आएपछि मुलुकमा कोभिड–१९ संक्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यसयताको एक सातामा नयाँ संक्रमित भेटिएका छैनन् ।
‘सुदूरपश्चिममा संकलन भएका करिब दुई हजार नमुना परीक्षणको नतिजा आएपछि मात्र दोस्रो चरणको संक्रमणको वास्तविक स्थिति थाहा हुन्छ ।’ – डा. वासुदेव पाण्डे, निर्देशक, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा
अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको शुक्रबार एक साता हुन्छ । विदेशबाट आएका व्यक्तिबाट स्थानीयलाई संक्रमण भएपछि यो चरण सुरु भएको हो । यो अवधिमा थप संक्रमित देखिएका छैनन् ।

संक्रमणको दोस्रो चरण स्थिर

थप संक्रमित नभेटिए पनि ढुक्क हुने स्थिति नभएको विज्ञहरूको विश्लेषण छ । सुदूरपश्चिमका जिल्ला र बागलुङबाट संकलन गरिएका करिब दुई हजार नमुना परीक्षणको नतिजा आएपछि मात्रै संक्रमणको वास्तविक अवस्था थाहा हुने उनीहरूको भनाइ छ । नयाँ संक्रमण नदेखिए पनि संक्रमणको संवेदनशीलतालाई ध्यान दिएर थप लकडाउन, आइसोलेसन, क्वारेन्टाइन, सामाजिक दूरी, साबुन पानीले हात धुनेलगायत सुरक्षाका उपायलाई कायम राख्नुपर्ने सुझाव विशेषज्ञहरूले दिएका छन् ।


चीनको वुहानबाट फर्किएका एक ३२ वर्षीय नेपाली विद्यार्थीमा पहिलोपटक संक्रमण पुष्टि भएको ७३ दिनपछि गत शनिबार कोभिड–१९ को विस्तार दोस्रो चरणमा प्रवेश गरेको थियो । कोरोना प्रभावित राष्ट्रहरूबाट आएकामा संक्रमण देखिने अवस्थालाई संक्रमणको पहिलो चरण भनिन्छ । उनीहरूबाट नजिकको सम्पर्कमा आएका व्यक्ति, आफन्तमा देखिन थाल्नु दोस्रो चरण हो । विदेश भ्रमणमा नगएकी कैलालीकी ३४ वर्षीया महिलामा दुबईबाट फर्किएका आफन्तबाट संक्रमण सरेपछि दोस्रो चरणमा कोभिड–१९ प्रवेश गरको थियो ।


‘कोरोना संक्रमण दोस्रो चरणमा गयो तर त्यहाँबाट हालसम्म अगाडि बढेको देखिएको छैन,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डे भन्छन्, ‘हालसम्म मुलुकको विभिन्न भागबाट हामीले दिनहुँ पाएको जानकारीअनुसार कोरोना संक्रमणले झन् बढी खतराको संकेत गरेको छैन ।’

धनगढीलगायत सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा र गण्डकीको बागलुङबाट संकलन भएका करिब दुई हजार नमुना परीक्षणको नतिजा आएपछि मात्र दोस्रो चरणको संक्रमणको वास्तविक स्थिति थाहा हुने उनले बताए । ती नमुना सेनाको हेलिकप्टरबाट राजधानी ल्याउने काम भइरहेको छ ।


स्वास्थ्य मन्त्रालयले मुलुकका विभिन्न ठाउँबाट संक्रमणको विवरण लिइरहेको छ । देशभर ११८ ठाउँबाट ‘अर्लि वार्निङ एन्ड रिपोर्टिङ सिस्टम’ अन्तर्गत विभिन्न प्रकारका रोग, संक्रमणबारे दिनहुँ सरुवा रोग महाशाखामा जानकारी आउँछ । महाशाखामा इन्फुएन्जा (रुघाखोकी), सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सारी), ज्वरो, डेंगु, औलो, कालाजार, हैजालगायतका रोगको अवस्थाबारे जानकारी आउने गरेको छ । कोभिड–१९ सँग मिल्ने लक्षण महामारीका रूपमा फैलिएको हालसम्म मुलुकको कुनै भूभागमा देखिएको छैन ।


‘हाल अर्लि वार्निङ एन्ड रिपोर्टिङ सिस्टम’ बाट मुलुकमा कहीँ पनि निमोनियाको लक्षण बढेको अवस्था छैन, ज्वरो, इन्फुएन्जाजस्तो लक्षण पनि बढेको छैन,’ डा.पाण्डेले कान्तिपुरसँग भने, ‘मुलुकमा हाल भएका लक्षणले खतराको संकेत गरेको छैन ।’ तर भारतीय सीमा क्षेत्रबाट भने संक्रमणको उच्च जोखिम अझै कायम रहेको उनले बताए । ‘भारतका लखनउलगायत सहरमा कोभिड–१९ को हटस्पट पहिचान भएको छ,’ डा.पाण्डे भन्छन्, ‘यसले गर्दा नाकाहरूमा व्यापक सुरक्षा हुनुपर्छ, मुलुक भित्रिने एक जना मात्रै संक्रमितले हाम्रो अवस्था परिवर्तन गर्न सक्छ ।’


यस्तै कोरोनाको नमुना परीक्षणको दायरा अझ बढाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । लकडाउन अनिश्चित अवधिसम्म गर्न नसकिने भएकाले यतिबेला जतिसक्यो धेरै परीक्षण गरी अधिकतम स्थिति पत्ता लगाउनुपर्छ । दोस्रो चरणमा कोही व्यक्ति संक्रमित देखिए यो अवस्थामा कन्टेक्ट ट्रेसिङ (सम्पर्क पछ्याउन) गर्न सजिलो हुन्छ । यो स्थितिमा आइसोलेसन, सेल्फ क्वारेन्टाइन, उपचार प्रक्रियाले संक्रमण थप फैलिनबाट जोगाउन सकिन्छ । यो नै भाइरस फैलन नदिने उत्तम तरिका भएको विज्ञहरूको भनाइ छ ।


संक्रमणको दोस्रो अवस्थालाई जित्न नसकिए तेस्रो चरण समुदायमा संक्रमण प्रसारणको अवस्था हो । यो अवस्थामा संक्रमित व्यक्तिको सम्पर्कमा नआएका, रोग प्रभावित मुलुकबाट आएका व्यक्तिको सम्पर्कमा नआएका व्यक्तिमा नयाँ संक्रमण देखिन थाल्छ । सामान्य भाषामा भन्ने हो भने तेस्रो चरणमा संक्रमण भए संक्रमितको पहिचान गर्ने अवस्था हुँदैन । त्यसबेला स्थितिले महामारीको रूप लिन थालिसकेको हुन्छ । अझ चौथो चरण संक्रमणको सबैभन्दा डरलाग्दो अवस्था हो । यो अवस्थामा ठूलो जनसंख्या संक्रमित भइसक्ने भएकाले नियन्त्रण गर्न अत्यन्त गाह्रो हुन्छ ।


‘लकडाउनले गर्दा संक्रमणको विस्तारमा अवरोध हुन्छ, यसको फाइदा उठाउँदै अत्यधिक परीक्षण गर्नुपर्छ’, डा.पाण्डेले भने, ‘परीक्षणबाट शंकास्पद संक्रमितलाई तुरुन्त आइसोलेसन, क्वारेन्टाइनलगायतका उपचार प्रक्रियामा ल्याएर संक्रमणको कडीलाई तोड्नुपर्छ ।’


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीन हजार व्यक्तिको परीक्षण गर्दा नौ जनामा मात्र संक्रमण देखिएकाले हालसम्मको अवस्था सकारात्मक भएको बताए । ‘तीन हजार परीक्षण गर्दा ९ जना मात्र संक्रमित अरू मुलुकमा देखिएको छैन,’ उनले भने, ‘अब एक सातामा आउने नमुना परीक्षणको नतिजाले अवस्था स्पष्ट गर्छ ।’ हाल देशभरि कोरोनाका १ सय १७ शंकास्पद बिरामी आइसोलेसनमा छन् । हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलगायत राजधानी बाहिर नौ स्थानबाट कोभिड–१९ को नमुना परीक्षण भइरहेको छ । मन्त्रालयले आगामी सातादेखि दु्रतगतिले परीक्षण गर्ने जनाएको छ ।


एपीएफ अस्पताल कोभिड–१९ लाई तयार

सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को बलम्बुस्थित अस्पताल कोभिड–१९ संक्रमणको उपचारका लागि तयार भएको छ । राजधानीमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै कोरोनासम्बन्धी परीक्षण तथा उपचार हुँदै आएकामा एपीएफ अस्पताललाई पनि त्यसका लागि तयार गरिएको हो । पहिलो पटक शंकास्पद सात जनालाई एपीएफ अस्पताल बलम्बुको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी चिकित्सकहरुको संयुक्त टोली खटिएको छ ।


कैलाली र कञ्चनपुरमा ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’

कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा कोरोना भाइरसको ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’ बिहीबारदेखि सुरु भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका ल्याब निरीक्षक रामप्रसाद ओझाले जाँचका लागि दुवै जिल्लाका गरी २० जना ल्याब प्राविधिकहरूलाई परिचालन गरिएको बताए । ‘उनीहरूलाई जाँच गर्ने विधिबारे अभिमुखीकरण गराएर पठाएका छौं,’ उनले भने । ल्याब प्राविधिकहरूको टोलीले सुरक्षाकर्मी र क्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरेकाहरूको परीक्षण गरिरहेको उनले जानकारी दिए । बिहीबार दिउँसोसम्म गरिएका परीक्षणमा नेगेटिभ रिपोर्ट आएको ल्याब प्राविधिकहरू बताउँछन् । त्यसैगरी डोटीमा तीन सय, अछाममा एक सय, बाजुरामा तीन सय, डडेलधुरामा दुई सय, बैतडीमा सात सय, दार्चुलामा पाँच सय किटसहित ल्याबका स्वास्थ्य प्राविधिक पठाइएको छ । यस्तै बझाङमा चार सय, कैलालीमा १ हजार २ सय र कञ्चनपुरमा आठ सय किट पठाइएको छ । सुदूरपश्चिममा २ हजार ३ सय ९९ जना क्वारेन्टाइनमा रहेको तथ्यांक छ ।


केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशालाबाट धनगढीमा ल्याइएको पीसीआर मेसिन बिहीबारसम्म सञ्चालनमा आउन सकेको छैन । यसअघि धनगढीमा स्थापना गरिएको पीसीआर मेसिनको गति सुस्त भएपछि बुधबार काठमाडौंबाट अर्को मेसिन ल्याइएको थियो । उक्त मेसिन सञ्चालन गर्न केही सहायक उपकरणहरूको जडान कार्य अधुरै रहेकाले ढिलाइ भएको सेती प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले बताए ।


र्‍यापिड टेस्ट सुरु

बागलुङको धौलागिरी अञ्चल अस्पतालमा बिहीबारदेखि कोरोना भाइरसको परीक्षण सुरु भएको छ । संघीय सरकारले गत शनिबार गरेको निर्णयअनुसार अस्पतालमा ‘आरडीटी’ किट्समार्फत र्‍यापिड टेस्ट थालिएको हो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले यो विधिबाट १५ मिनेटमा एक जनाको परीक्षण गर्न सकिने बताए । बिहीबार अस्पतालमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिस्ट डा.सुरज बराल, क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरे र स्वास्थ्य कार्यालय बागलुङका डिल्ली आचार्यको रगत परीक्षण गरेर र्‍यापिड टेस्ट सुरु गरिएको थियो ।


प्रदेश ५ सरकारले कोरोना नियन्त्रणका लागि क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको आरडीटी (‍र्‍यापिड टेस्ट डाइग्नोस्टिक टेस्ट) परीक्षण गर्ने भएको छ । प्रारम्भिक रूपमा कोरोना भए/नभएको जानकारीका लागि दुई साता क्वारेन्टाइनमा बसेकाको यस्तो परीक्षण गरिने सामाजिक विकास मन्त्रालयले जनाएको हो । त्यसका लागि बिहीबारबाट ६ वटा स्वास्थ्यकर्मीको टोली खटिएको छ ।


धमाधम स्वाब संकलन

जिल्ला स्वास्थ्य कार्यालय बझाङले क्वारेन्टाइनमा बसेका र भारतबाट फर्केर आएका १८ जनाको स्वाब संकलन गरेर बिहीबार परीक्षणका लागि धनगढी पठाएको छ । बुधबार विभिन्न स्थानीय तहबाट उक्त स्वाब संकलन गरिएको थियो । बैतडीमा क्वारेन्टाइनमा बसेका र जिल्ला बाहिरबाट आएकाहरूमा संक्रमण अवस्था जाँच गर्न बिहीबार ४ सय २५ जनाको स्वाब संकलन गरिएको छ ।


उदयपुरको कटारी नगरपालिका–१, वेलासोतस्थित क्वारेन्टाइनमा राखिएका २६ जनाको थ्रोट स्वाबको नमुना परीक्षणका लागि बुधबार धरान पठाइएको छ । स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र कटारी नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले १५ दिनदेखि क्वारेन्टाइनमा बसिरहेकाको स्वाब संकलन गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको हो ।


प्रदेश १ को विराटनगरस्थित कोसी अस्पतालमा पनि अब कोरोना भाइरसको आशंका गरिएका व्यक्तिको स्वाब परीक्षण हुने भएको छ । संघीय सरकारले बिहीबार हेलिकप्टरबाट कोसी अस्पतालको पीसीआर ल्याबको स्तरोन्नतिका लागि विज्ञसहित उपकरण तथा सामग्री पठाएको छ । वीर अस्पताल काठमाडौंका प्राविधिक विज्ञ बलराम गौतमले उक्त सामग्री लिएर विराटनगर आइपुगेको र एक साताभित्र ल्याब स्तरोन्नति गरेर स्वाब परीक्षण सुरु गर्ने प्रदेश–१ सरकारको तयारी छ ।

प्रकाशित : चैत्र २८, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?