जर्मनी लैजाँदै गरिएको मास्क बीच बाटोमै अमेरिकाद्वारा ‘कब्जा’

एजेन्सी

वासिङ्टन — विश्व बजारमा देखिएको अभावसँगै विभिन्न देशले मास्क, पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) तथा अन्य मेडिकल उपकरणको व्यापारमा बेइमानी भएको बताएका छन् । जर्मनीले आफ्नो देश ल्याउन लागिएका २ लाख मास्क लगेको भन्दै अमेरिकामाथि ‘आधुनिक डकैती’ गरेको बताएको छ ।

जर्मनी लैजाँदै गरिएको मास्क बीच बाटोमै अमेरिकाद्वारा ‘कब्जा’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जर्मनी लैजान लागिएका मास्क अमेरिकामा निर्मित हुन् । बर्लिनस्थित एक स्थानीय सरकारले मगाएका ‘एफएफपी–२’ मास्क बैंककमा जफत गरिएको हो । ती मास्क बर्लिनको प्रहरीका निम्ति मगाइएको बताइएको छ ।


चीनका वुहानबाट फैलिएको भाइरसबाट युरोपेली देश र अमेरिका अति प्रभावित भएको देखिएको छ । बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको दाबी गरेका छन् ।


कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो देशका उत्पादन अन्य देशमा निर्यात गर्न प्रतिबन्ध लगाएपछि मास्क निर्माता अमेरिकी कम्पनी थ्री एम उक्त कदम चाल्न बाध्य भएको जनाइएको छ ।


ट्रम्पले ‘डिफेन्स प्रोडक्सन एक्ट’ नामक कानुन लागू गर्दै मेडिकल सामग्रीको उत्पादन तथा आपूर्ति गर्ने अमेरिकी कम्पनीलाई घरेलु माग धान्न बाध्य पारेका थिए । ‘ती सामान घरेलु प्रयोगका लागि तत्काल हामीलाई चाहिन्छ । ती हामीसँगै हुनैपर्छ,’ कारोना भाइरससम्बन्धी दैनिक ब्रिफिङका क्रममा ट्रम्पले भने ।


ट्रम्पले करिब २ लाख ‘एन–९५’ मास्क, १ लाख ३० हजार सर्जिकल मास्क तथा ६ लाख पन्जा अमेरिकी अधिकारीहरूले जफत गरेका बताए । यद्यपि, राष्ट्रपति ट्रम्पले ती कहाँ र कसरी जफत गरिएका हुन् भन्ने खुलाएनन् ।


जर्मनमन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएका मास्क अन्यत्र लगिनु ‘आधुनिक डकैती’ भएको बताउँदै ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न सुझाव दिएका छन् । ‘एटलान्टिक पारिका आफ्ना साझेदारहरूसँग व्यवहार गर्ने यो उपयुक्त शैली होइन । विश्वव्यापी संकटकै बेला यस्ता जबरजस्ती गरिनु झन् उचित होइन,’ उनले भने ।

युरोपेली देशका अन्य नेताहरूले पनि मास्क तथा मेडिकल सामग्री खरिदमा आफूलाई धोका भएको बताएका छन् । फ्रान्सको ले–दे–फ्रान्स क्षेत्रका सभापति भेलेरी पेक्रेसेंले पनि आफूहरूलाई मास्क खरिदका क्रममा अमेरिकी कम्पनीले बेइमानी गरेको बताएका छन् ।


‘मैले मास्कको मौज्दात भेटें र किन्न खोजें,’ उनले भने, ‘तर अमेरिकीहरूले तीन पटकसम्म फरक–फरक मूल्य प्रस्ताव गरे र बढी तिर्न बाध्य पारे ।’ उनले युरोपमा महामारी फैलिएसँगै मास्क तथा अत्यावश्यक मेडिकल सामग्रीको भाउ बढाइएको बताए ।


त्यसैगरी, चीनबाट डेनमार्क लग्न लागिएका ४ लाख मेडिकल मास्क तथा कोभिड–१९ परीक्षण किट बीचबाटै अन्यत्र पुर्‍याइएको थियो । धेरै मूल्य पाएपछि ती सामान अर्को देशलाई बेचिएको डेनमार्कको आरोप छ । कोभिड–१९ को संक्रमण फैलिएसँगै इटाली र स्पेन यसअघि चीनसँग अर्डर गरेका मेडिकल सामग्री आफ्नो देशमा पुगेका भए पनि कम गुणस्तरका भएपछि फिर्ता गरेका थिए ।

प्रकाशित : चैत्र २३, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?