अर्थतन्त्र उकास्‍न बेलायत सरकारको वित्तीय प्याकेज, नेपाली नागरिकलाई राहत

चैत्र ५, २०७६

नवीन पोखरेल

लन्डन — बेलायत सरकारले कोरोना भाइरसबाट प्रभावित व्यापार, व्यवसायहरुलाई सहयोग गर्न एउटा अप्रत्याशित वित्तीय प्याकेज घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणले अर्थतन्त्र संकटोन्मुख भएपछि बेलायत सरकारले नयाँ प्याकेज घोषणा गरेको हो । 

ब्रिटिस अर्थमन्त्री ऋषि सुनकले मंगलबार साना कम्पनीहरुको बीमा, कर छुट, सहुलियतपूर्ण ऋणलगायत सहयोगका लागि ३३० अर्ब पाउण्ड छुट्टाइएको घोषणा गरे । यसमा होटेल, रेस्टुरेन्ट तथा विमान सेवाहरु पनि पर्नेछन् ।


प्याकेजमा पसल तथा रेस्टुरेन्टहरुले यो वर्ष बिजनेस रेट तिर्नुपर्ने छैन । त्यस्तै घर किन्नेलाई तीन महिनासम्म मोर्गेज ढिलाइमा छुट, बैंक अफ इंग्ल्याण्डको स्वीकृतिमा ठूला फर्महरुलाई सहुलियतमा ऋण सुविधा, कर छुट आदि सरकारको प्याकेजमा रहेका छन् ।अर्थमन्त्रीले यदि यो प्याकेज पर्याप्त नभए सरकारले थप उपाय घोषणा गर्ने पनि बताएका छन् । 


अर्थमन्त्री सुनकले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा अहिले बेलायतमा आर्थिक संकटकाल आएको बताउँदै विश्वयुद्धपछि यस्तो संकट पहिलो पटक बेहोर्नु परेको बताए । उनले एयरलाइन्स र एयरपोर्टलाई सहयोग गर्न छिट्टै आफ्ना सहकर्मी यातायात मन्त्रीसँग सम्भावित प्याकेजबारे छलफल गरिने आश्वासन पनि दिएका छन् ।


प्रधानमन्त्री बोरिस जोन्सनले नियमित पत्रकार सम्मेलनमा अर्थतन्त्र उकास्न सम्भव भएसम्म सबै गर्नुपर्ने बताए । ‘यो समय निडर र साहसी हुने बेला हो । हामी रोजगारी, आम्दानी र व्यवसायलाई सहायता गर्छौं’, उनको प्रतिबद्धता छ ।


सरकारको राहत प्याकेजले बेलायतका नेपाली व्यवसायीहरु खुशी भएका छन् । ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामी सरकारको प्याकेजले घर हुनेलाई धेरै राहत दिने विश्वास गर्छन् । 


‘बैंकले तीन महिनासम्म मोर्गेज नतिरे पनि छुट दिने व्यवस्थाले अरु विकल्प खोज्न सहज हुन्छ’, मोर्गेज सल्लाहकारसमेत रहेका दर्लामीले भने, ‘खासमा यो सरकारको अर्थतन्त्र उकास्ने दीर्घकालीन नीति हो । बेलायती अर्थतन्त्रमा दोश्रो विश्वयुद्धपछिकै नराम्रो असर पुग्ने अड्कल भइरहँदा सरकारको प्रयास सराहनीय छ ।’ अहिले घरको मोर्गेज (किस्ता) तिर्न ढिला तिरे बैंकले कारबाही गर्छ र रेकर्ड पनि नराम्रो बस्छ ।


ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष विराज भट्टको ट्राभल व्यवसाय अहिले चौपट भएको छ ।आफ्नो करिब ७० प्रतिशत व्यापार घटेका बेला सरकारले घोषणा गरेको राहत कार्यक्रम सकारात्मक रहेको उनले बताए । ‘हवाई व्यवसाय अहिले समग्रमा करिब ८० प्रतिशत घाटामा छ । धेरै व्यवसाय बन्द हुने अवस्थामा सरकारको कदम राम्रो सुरुवात हो तर कार्यान्वयन कसरी र कहिले हुन्छ हेर्न बाँकी छ’, उनले कान्तिपुरसँग भने । 


कोरोना भाइरस संक्रमणले ट्राभल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको व्यवसायी बताउँछन् । ब्रिटिस सरकारले एक महिनाका लागि अत्यावश्यक परिस्थितिमा बाहेक यात्रा नगर्न निर्देशिका जारी गरेको छ । भट्ट ट्राभल व्यवसायमा आउँदो वर्षका लागि मात्र केही आशा गर्न सकिने बताउँछन् । 


बेलायतमा कोरोना भाइरसको संक्रमण अप्रत्याशित रुपमा बढेसँगै मंगलबारसम्म यसबाट ७१ जनाको मृत्यु भइसकेको छ भने १९५० जनामा संक्रमण भेटिएको छ । 


सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले ब्रिटेनमा करिब ५५ हजार जना संक्रमित भएको हुन सक्ने दाबी गरेका छन् । 

कोरोना भाइरस

नवीन

Link copied successfully