सेनिटाइजर बनाउँदै क्याम्पस

चैत्र ५, २०७६

सुनसरी — चिकित्सकले कोरोना संक्रमणबाट बच्न सेनिटाइजरले हात सफा गर्नुपर्नेमा जोड दिएपछि धरान–१४ विजयपुरस्थित केन्द्रीय प्रविधि क्याम्पसको माइक्रोबायोलोजी विभागले मंगलबारदेखि सेनिटाइजर उत्पादन सुरु गरेको छ ।

धरान उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर सर्वसाधारणका लागि उत्पादन सुरु गरिएको हो । कोरोना भाइरसको संक्रमण नेपालमा हालसम्म नदेखिएको सरकारी भनाइ भए पनि सतर्कताका लागि सर्वसाधारणलाई सचेत बनाउन सेनिटाइजर उत्पादन थालिएको माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन्द्र लिम्बूले बताए । बजारमा सेनिटाइजर अभाव भएपछि क्याम्पसले प्राविधिक रूपमा उत्पादन गर्ने र उक्त प्रविधि उपमहानगरपालिकामार्फत सर्वसाधारणलाई हस्तान्तरण गर्ने उनको भनाइ छ । 


सेनिटाइजर सामान्यतया बिरामीको उपचारमा संलग्न चिकित्सकहरूले मात्र हात सफा गर्न प्रयोग गर्दै आएका छन् । तर पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण फैलिएर महामारीको रूप लिएपछि सर्वसाधारणले पनि हात सफा गर्न जरुरी भएको छ ।


कोरोनाबाट बच्नका लागि साबुन पानीले हात धोएर सफा गर्न सकिने भए पनि कतिपय अवस्थामा साबुन पानी नपाएको बेला सेनिटाइजरले सफा गर्न सकिने भएकाले विकल्पका रूपमा यसलाई लिइएको लिम्बूले बताए । 


माइक्रोबायोलोजीका विभागीय प्रमुख लिम्बूले पहिलो प्राथमिकता साबुन पानीले नै हात धुनु उपयुक्त उपाय भए पनि सधैं सबै ठाउँमा साबुन पानी उपलब्ध हुन नसक्दा सेनिटाइजर प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यले उत्पादन गरिएको बताए । उपमहानगरपालिकाले पनि चाहिने भएकाले सेनिटाइजर उत्पादनका लागि समिति गठन गरेको छ । उपमहानगरले २ सय लिटर सेनिटाइजर उत्पादन गर्ने लक्ष्य राखेअनुसार पहिलो चरणमा उत्पादन सुरु गरिएको हो । लिम्बूका अनुसार बजारमा यसको मूल्य करिब ६ लाख रुपैयाँ पर्ने भए पनि माइक्रोबायोलोजीका प्राविधिकहरूले ७० हजार रुपैयाँमा २ सय लिटर उत्पादन गर्ने भएका छन् । उक्त मूल्य प्याकेजिङसहितको हो । 


उनले भने, ‘०५२ सालदेखि हात्तीसार क्याम्पसमा माइक्रोबायोलोजी अध्ययन सुरु भएयता आफैंले हात सफा गर्ने सेनिटाइजर उत्पादन र प्रयोग गर्दै आएका थियौं । अहिले पहिलो चरणमा २ सय लिटर उत्पादन गरेर धरानका प्रत्येक २० वटा वडामा वितरण गर्नेछौं ।’ विभागका अनुसार क्याम्पसबाट उत्पादित सेनिटाइजरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बनाएको निर्देशिकाअनुसारको गुणस्तरीय रसायन प्रयोग गरिएको छ । 


सेनिटाइजर ग्लिसिरिन, इथाइल अल्कोहल, हाइड्रोजन पेरोअक्साइड, डिस्टिल वाटरको अनुपात मिलाएपछि तयार भइरहेको विभागीय प्रमुख लिम्बूले बताए । प्रविधि र जनशक्ति केन्द्रीय प्रविधि क्याम्पससँग रहेकाले सेनिटाइजर उत्पादन गर्न उपमहानगरपालिका र प्रतिष्ठानले समन्वय गरेका छन् । 


उपमहानगरको स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले पहिलो चरणमा धरानलाई ५ क्षेत्रमा विभाजन गरेर सामाजिक संघसंस्थाका अगुवाहरूमध्ये ५० जनालाई सेनिटाइजर उत्पादन प्रशिक्षण दिइने बताए । 

कोरोना भाइरस

Link copied successfully