सिड्नी — कोरोना भाइरस (कोभिड – १९) को संक्रमण रोक्नका लागि आफ्ना नागरिकलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बुधबार बिहान उक्त घोषणा गरेका हुन् ।
भाइरसको संक्रमण दिनहुँ बढिरहेको सन्दर्भमा प्रधानमन्त्री मरिसनले विश्वको कुनै पनि स्थानमा यात्रा नगर्नका लागि निर्देशन दिएका हुन् । यो निर्देशन अर्को सूचना नआउञ्जेलसम्मका लागि लागू हुनेछ । उनले अत्यन्तै आवश्यक बाहेक एक सयभन्दा बढी सहभागी हुने कुनैप नि भित्री जमघट गर्न नपाइने बताएका छन् । जसमा विद्यालय, कलेज तथा सार्वजनिक सवारी, नर्सिङ होम, सपिङ सेन्टरलगायत पर्नेछन् । ‘यो अत्यन्तै प्रस्ट निर्देशन हो । कोही पनि विदेश भ्रमण नजानुस् ।’ उनले बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा भने । उनका अनुसार अस्ट्रेलियाले यस किसिमको प्रतिबन्ध आजसम्म लगाएको थिएन । सरकारले बढिरहेको यस भाइरसको संक्रमणबाट बच्नका लागि ६ महिनासम्मको तयारीका साथ कार्यक्रमहरु ल्याइरहेको समेत मरिसनले बताए ।
अस्ट्रेलियाका गर्भनर जनरलले मानवीय जैविक सुरक्षा आपतकाल घोषणा गरेका छन् जसले सरकारी निकायलाई यस भाइरसको संक्रमण रोक्न र नियन्त्रण गर्नका लागि थप अधिकार प्रदान गर्ने भएको छ । यसैगरी प्रधानमन्त्री मरिसनले बृद्धबृद्धाहरुको रेखदेख गरिने यहाँ रहेका हजारौं नर्सिङ होममा आफन्त भेट्नका लागि समेत कडाइ गरेका छन् । सरकारले यसअघि नै विदेशमा रहेका आफ्ना सबै नागरिकलाई जतिसक्दो चाँडो घर फर्कन आग्रह गरिसकेको छ । यसैबीच यहाँ रहेका दुई घरेलु विमान कम्पनी क्वान्टास र भर्जिन एयरलाइन्सले आफ्नो अधिकांश विदेश उडानलाई कटौती गरेका छन भने स्वदेशी उडानलाई समेत घटाएका छन् ।
सरकारले २० हजार नर्सिङका विद्यार्थीहरुको न्यूनतम काम गर्न पाउने अधिकारलाई समेत तत्कालका लागि खारेज गरेको छ । उनीहरुलाई यस भाइरसको संक्रमण रोक्न र नियन्त्रण गर्नका लागि काम गर्न प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई लगाइएको दुई साताको ४० घण्टामात्र काम गर्न पाउने नियमलाई तत्कालका लागि खारेज गरेको हो । यसको अर्थ नेपालीलगायत अन्य देशका नर्सिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले यस भाइरस नियन्त्रणका क्षेत्रमा आफूले चाहेजति काम गर्न पाउनेछन् ।
अस्ट्रेलियामा अहिलेसम्म ४ सय ५२ जनामा संक्रमण भेटिएको छ भने ५ जनाले ज्यान गुमाएका छन् । बढिरहेको संक्रमणलाई रोक्न तथा नयाँ रोगीहरुको जाँच गर्नका लागि ९७ हजार भाइरस जाँच गर्ने उपकरणसमेत भित्र्याएको छ । यहाँ रहेका विद्यालय तथा शैक्षिक संस्था बन्द गर्नुपर्ने आवाज उठिरहेको भए पनि मरिसनले विद्यालयहरु अहिले बन्द नगरिने प्रस्ट पारेका छन् ।
