धनगढी — कोरोना भाइरसका शंकास्पद बिरामी निगरानी र सतर्कताका बारेमा प्रचार गर्ने जिम्मेवारीमा रहेका डोटीको सुजङ अस्पतालका स्वास्थ्य सहायक लोकेन्द्र कठायतले दिपायलको पिपल्ला बजारमा दिनभरि एक्लै कुरे । त्रिपालमुनि राखिएको सहायता कक्षमा कोही नजिक गएनन् ।
ओहोरदोहोर गरिरहेका केही गाडीका यात्रुहरूलाई सम्झाउने प्रयास गरे । धेरैले वास्तै गरेनन् । स्वास्थ्य सहायक कठायत आफैंलाई सहायता कक्ष प्रभावकारी हुन नसकेको महसुस भएको छ । ‘म एउटैलाई मात्र यहाँ खटाइएको छ, मेरो कुरा नै कसैले सुनिदिइरहेका छैनन्,’ उनको गुनासो थियो, ‘गाडी रोकेर यात्रुहरूलाई अनिवार्य स्वास्थ्य जाँच गर्ने र परामर्श लिने ब्यवस्था भए उपयुक्त हुनेमा यो त झारा टार्ने मात्र भयो ।’
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार डोटीका चार ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ । सिलगढी, दिपायलको पिपल्ला, मौवा र बुडरमा राखिएको हो । सबैको अवस्था कठायतलाई खटाइएको भन्दा फरक छैन । ‘अहिले नै यात्रु ओरालेर अनिवार्य चेकजाँच अव्यावहारिक हुन्छ,’ प्रजिअ पौडेल भन्छन्, ‘अहिलेलाई चेतनामूलक ढंगको जोड हो ।’
सिलगढीस्थित जिल्ला अस्पतालमा दुई शय्याको आइसोलेसन वार्ड छुट्याइएको छ । स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले भने, ‘प्राइभेट हस्पिटलहरूलाई पनि एक कोठामा दुई बेड राख्न निर्देशन दिएका छौं ।’
कोभिड–१९ को संक्रमण फैलिने हल्लाले बझाङमा ग्रामीण क्षेत्रका बासिन्दा पनि भयभीत छन् । गाउँपालिकाहरूले आयोजना गर्ने कार्यक्रम स्थगित गरिएका छन् ।
केही साताअघि तल्कोट–२ मा दुई जनाको अकस्मात् मृत्यु भएको थियो । उनीहरूको मृत्यु कोभिड–१९ ले भएको भन्ने हल्ला चल्यो । त्यसैको केहीपछि त्यहीँ थप तीन जना उस्तै लक्षण देखा परेर बिरामी परेपछि जिल्लाभर सनसनी फैलियो । स्वास्थ्य कार्यालय बझाङले स्थलगत अध्ययन गर्दा मृत्युको कारण कमसल खालको मदिरा सेवनले रहेको खुल्यो । यतिबेला विभिन्न हल्लाले डर फैलिएको छ । कुनै गाउँमा अन्य रोगले कसैको मृत्यु भए पनि कोरोनाकै कारण भनेर हल्ला चल्छ । ‘पहिले रुघाखोकीका बिरामी फाट्टफुट्ट मात्रै अस्पताल आउँथे, अहिले ज्वरो आए पनि जाँच गर्न आउने निकै बढेका छन्,’ जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले भने । आत्तिइहाल्नुपर्ने अवस्था नभए पनि सचेत भने हुनुपर्ने उनले बताए ।
दिपायलमा सुनसान हेल्थ डेस्क
संक्रमणको सम्भावित जोखिमलाई ख्याल गर्दै उच्च सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाहिर जिल्लाबाट प्रवेश गर्ने एक मात्र दक्षिणी नाका बित्थडचिर गाउँपालिकाको स्याडी र चीन नजिक उत्तरी साइपालको धुलीमा हेल्थ डेस्क राखिएको छ । जिल्ला अस्पताल र सिमखेतस्थित बसपार्कमा पनि डेस्क स्थापना गरेर यात्रु तथा बिरामीहरूको स्वास्थ्य जाँच गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी एसईईका सबै परीक्षा केन्द्रहरूमा स्वास्थ्यकर्मी र औषधिसहितको हेल्थ डेस्क स्थापना गर्न लागिएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । यहाँका स्थानीय तहहरूले सभा, समारोह, भोजभतेर तथा भेलाहरू नगर्न सूचना जारी गरेका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का हर्क न्यौपानेले भारतबाट घर आउन हिँडेको चार दिन भयो । विगतमा तेस्रो दिन घर पुगिने भए पनि यो पल्ट उनी समयमा घर पुग्न सकेका छैनन् ।
‘अहिलेसम्म नाकामै रोकिएको खबर छ,’ न्यौपानेकी श्रीमती रूपाले भनिन्, ‘कोरोना भाइरसले बम्बैतिर सताएको छ रे । त्यसैको चेकजाँचका लागि रोकेको भन्ने खबर आएको छ ।’ उनका अनुसार भारतबाट घर हिँडेकाहरूमध्ये अधिकांश समयमै घर पुग्न सकेका छैनन् । घरमा आउँदा कहाँ राख्ने के गर्ने भन्नेबारे खासै जानकारी छैन । रूपालाई जस्तै अछामका धेरै परिवारमा त्रास छ । जनगणना–०६८ अनुसार ४८ हजार घरधुरी रहेको अछाममा प्रायः सबै घरबाट रोजगारीका लागि भारतमा रहेको तथ्यांक छ । भारतमा कोभिड–१९ देखिएकाले डराएर घर फर्कनेहरूको संख्या बढ्दा पनि जोखिम बढाएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए । ‘सजग रहनुपर्छ । भारतमा विकराल बने प्रत्यक्ष प्रभाव अछाममा पर्छ,’ उनले भने । दैनिक करिब ५० जनासम्म भारतबाट घर आइरहेका छन् ।
अछाम प्रवेश गर्ने चौरपाटी गाउँपालिकाको चौखुट्टे बजार, साँफेबगर विमानस्थल र बेलखेतमा हेल्थ डेक्स स्थापना गरिएको छ । आइतबारबाट सञ्चालन गरिएको जिल्लाका तीन हेल्थ डेस्कमा दुई र दुई जना स्वास्थ्यकर्मीलाई खटाइएको छ । जिल्ला अस्पताल मंगलसेन र बयालपटा अस्पतालमा आइसोलेसन वार्ड तयार पारिएको ढुंगानाले बताए ।
कैलालीमा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा कोरोना रोकथामको तयारी सुस्त छ । टीकापुरमा सचेतनाका लागि माइकिङ गरे पनि जोशीपुर गाउँपालिकामा यसको बारेमा कुनै कार्यक्रम गरिएको छैन । स्थानीय रेडियोमार्फत सन्देशहरू प्रसारण गरेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले बताए ।
जोशीपुर गाउँपालिकाको जोशीपुर स्वास्थ्य केन्द्रमा पर्याप्त औषधि नभएको निमित्त प्रमुख जितबहादुर चौधरीले बताए । माग गरे पनि गाउँपालिकाको स्वास्थ्य शाखाले औषधि उपलव्ध गराएको छैन । जोशीपुर गाउँपालिकाले औषधि खरिदका लागि ३५ लाख ५० हजार विनियोजन गरे पनि ३ लाख ६१ हजारको मात्र खरिद गरेको छ ।
-(बझाङबाट वसन्तप्रताप सिंह, डोटीबाट मोहन शाही, अछामबाट मेनुका ढुंगाना र टीकापुरबाट गणेश चौधरी)
