किगाली — चीनको वुहानबाट गत डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण अहिले विश्वका ११९ देशमा फैलिइसकेको छ । पछिल्लो समय चीनमा यसको संक्रमण र जोखिम घटिरहे पनि युरोपेली र अमेरिकी मुलुकमा भने बढिरहेको छ ।
तुलनात्मक रुपमा अफ्रिकी मुलुकहरुमा भने कोभिड–१९ को संक्रमण कम रहेको छ । अफ्रिकाका अल्जेरिया, बुर्किना फासो, दक्षिण अफ्रिका, सेनेगल, ट्युनिसिया, टोगो, इजिप्ट, क्यामरुन, नाइजेरिया र मोरक्कोमा गरी सय भन्दा बढी व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये इजिप्टमा मात्रै आधाभन्दा बढी ५९ जना संक्रमित रहेका छन् भने एक जनाको मृत्यु भएको छ ।
यसैबीच अहिलेसम्म संक्रमण नदेखिएका मुलुकहरुले पनि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्नुका साथै सतर्कता अभियान सुरु गरेका छन् ।
अहिलेसम्म एउटा पनि संक्रमण पुष्टि नभएको अफ्रिकी मुलुक रुवान्डाले कोभिड–१९ को संक्रमणबाट बच्नका लागि आवश्यक कदम चालिसकेको छ । राजधानी किगालीमा रहेको बसपार्कमा यात्रुहरुलाई हात धुनका लागि विशेष व्यवस्था गरिएको छ । बसपार्कमा राखिएको धारामा हात नधोई यात्रुहरुलाई सवारी बसमा प्रवेश गर्न नदिइने पनि रुवान्डाको द न्यु टाइम्सले जनाएको छ ।
SEEN IN KIGALI: To prevent the risk of #Coronavirus outbreak, passengers at the Kigali Bus Park have to wash their hands before getting onto buses.#Rwanda has recorded NO case of the epidemic but the country has stepped up vigilance. pic.twitter.com/tb7cfUNj7K
— The New Times (Rwanda) (@NewTimesRwanda) March 9, 2020
रुवान्डाको यस कदमलाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडानोम गेब्रेयससले पनि प्रशंसा गरेका छन् । महानिर्देशक गेब्रेयससले ट्वीटमा लेखेका छन्, ‘कोभिड–१९ को रोकथाम र नागरिकलाई सुरक्षित राख्ने यो निकै प्रभावकारी कदम हो । रुवान्डाको तारिफयोग्य कार्य ।’
कोभिड–१९ को संक्रमणबाट बुधबार दिउँसोसम्म ४ हजार ३ सयको मृत्यु भइसकेको छ । त्यस्तै एक लाख १९ भन्दा बढीमा संक्रमणको पुष्टि भएको छ । त्यसमध्ये ६६ हजारभन्दा बढी निको भइसकेका छन् ।
