कोरोना प्रभाव : खाली रंगशालामा फुटबल

एजेन्सी

लन्डन — विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसको त्रासका कारण युरोपा लिगका अधिकांश खेल खाली रंगशालामा आयोजना हुने भएका छन् । युरोपा लिग अन्तिम १६ अन्तर्गत पहिलो लेगका खेल बिहीबार र शुक्रबार हुँदै छन् । त्यसमध्ये अस्ट्रियाको लास्क र इंग्ल्यान्डले म्यानचेस्टर युनाइटेडबीचको खेलमा दर्शक हुने छैनन् । 

कोरोना प्रभाव : खाली रंगशालामा फुटबल

अस्ट्रिया सरकारको निर्देशनपछि रंगशालामा समर्थक निषेध गरिएको हो । यस खेलका लागि युनाइटेडले ९ सयभन्दा बढी टिकट बिक्री गरिसकेको छ । युरोपेली फुटबल महासंघले खेलअघि खेलाडीबीच हात नमिलाउन पहिल्यै परिपत्र गरिसकेको छ ।


युरोपा लिगअन्तर्गत ग्रिसको ओलम्पियाकोस र इंग्ल्यान्डको वोल्भरह्याम्पटनबीचको खेल पनि बन्द रंगशालामा हुनेछ । ग्रिक फुटबल संघले दुई सातासम्म आफ्नो देशमा हुने व्यावसायिक फुटबलका सबै खेलमा दर्शकलाई प्रतिबन्ध लगाएको छ । यस खेलका लागि पनि वोल्भसले १ हजारभन्दा बढी टिकट बिक्री गरिसकेको थियो । वोल्भसले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ग्रिसका अधिकारीहरूको निर्देशन मान्नैपर्ने बाध्यबारी अवस्थाका कारण हामी खाली रंगशालामा खेल्दैछौं । यसबाट हाम्रा समर्थकमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’


स्पेनको सेभिया र इटलीको रोमाबीचको खेल पनि बन्द रंगशालामा आयोजना हुनेछ । कोरोना त्रासकै कारण स्पेनिस फुटबल संघले शीर्ष २ डिभिजनका खेलहरू कम्तीमा दुई सातासम्म बन्द रंगशालामा खेलाउने निर्णय गरेको छ । ला लिगा र सेगुन्डा डिभिजनका खेलमा अब दर्शक बस्न पाउने छैनन् । यो निर्णय ला लिगाअन्तर्गत मंगलबार हुने एइबार र रियल सोसिडाडबीचको खेलदेखि नै लागू हुनेछ ।


अर्को साता बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत नेपोलीसँगको घरेलु मैदानको खेल पनि खाली रंगशालामा खेल्नेछ । ‘सरकारको यो निर्णय कडाइका साथ लागू हुनेछ । किनभने यो जनस्वास्थ्यसँग सम्बन्धित छ,’ क्याटलोनिया सरकारका स्वास्थ्य प्रमुख जोन गुइक्सले भनेका छन् ।


च्याम्पियन्स लिगअन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) र बोरुसिया डर्टमन्डबीचको खेल पनि बन्द रंगशालामा खेलाइने यसअघि नै निर्णय भइसकेको छ । इटालीले सम्पूर्ण खेल गतिविधि अप्रिल ३ सम्म स्थगित गरिसकेको छ । जसले शीर्ष डिभिजनको सिरी ‘ए’ का खेलसहित अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टिमको तयारी पनि स्थगित हुनेछ ।

प्रकाशित : फाल्गुन २८, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?