वासिङ्टन — विश्वव्यापी महामारीको रूप लिँदै गरको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ५० विलियन डलर अर्थात् ५८ खर्ब आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
७० भन्दा बढी राष्ट्रमा भाइरस संक्रमण फैलिएपछि आईएमएफले सहायता रकम उपलब्ध गराउने घोषणा गरेको हो । संक्रामक रोगसँग लड्न नसक्ने र कमजोर स्वास्थ्य प्रणाली भएका गरिब र मध्यम आय भएका राष्ट्रलाई सहायता रकम उपलब्ध गराउने आईएमएफले जनाएको छ । कैयौं राष्ट्रका केन्द्रीय बैंकले ब्याजदर घटाइरहेकै बेला विश्वव्यापी आर्थिक निकायले कोभिड–१९ विरुद्ध लड्न प्रदान गरेको यो नै हालसम्मकै सबैभन्दा ठूलो रकम हो । यसै साता विश्व बैंकले पनि कोरोना भाइरस फैलिरहेको विकासोन्मुख राष्ट्रलाई अनुदानस्वरूप १२ विलियन डलर अर्थात् १३ खर्ब ९२ अर्ब उपलब्ध गराउने घोषणा गरेको थियो ।
सहायता रकम घोषणा गर्दै आईएमएफले भाइरस संक्रमणका कारण गत वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा गिरावट आइसकेको चेतावनी पनि जारी गरेको छ । सन् २००८ को आर्थिक मन्दी यताकै सबैभन्दा कमजोर स्थितिमा विश्व अर्थतन्त्र रहेको कोषको भनाइ छ ।
काेराेना प्रकाेप
आईएमएफकी महानिर्देशक क्रिस्टालिना जर्गिभाले विश्व अर्थतन्त्रमा कोरोना भाइरसले कतिको प्रभाव पार्छ भनेर अहिले नै भन्न नसकिए पनि गत वर्षको तुलनामा सन् २०२० मा विश्व अर्थतन्त्रमा गिरावट आउने बताइन् ।
