काठमाडौँ — कोरोना संक्रमणको त्रास बढेसँगै अहिले बजारमा मास्कको अभाव भइरहेको छ । चीन, भारत लगायतका मुलुकबाट मास्क तथा कच्चा पदार्थ आयत हुन्छ । कोरोनाको त्राससँगै अहिले आयत ठप्प भएको छ ।
बनेपाको साँगामा साँगा क्लिन सिटी उद्योगले दैनिक ५ हजारदेखि १० हजार थानसम्म नर्मल मास्क उत्पादन गरिरहेको छ । मागअनुसार सरकारलाई एक लाख थान र स्वास्थ्य विभागलाई २५ हजार थान उद्योगले मास्क बिक्री गरेको सञ्चालक सुकदेव जोशीले बताए । उद्योगले खुद्रा व्यापारी, विद्यालय र सर्जिकल डिलरलाई पनि मास्क बिक्री गरिरहेको उनले जानकारी दिए ।
जोशीको उद्योगबाट प्रतिगोटा ५ रुपैयाँमा मास्क बिक्री भइरहेको छ । कालोबजारी बढेसँगै उपत्यकामा खरिद मूल्यको तेब्बर रुपैयाँसम्म बिक्री भइरहेको छ । यतिबेला उद्योगमा सीमित कच्चा पदार्थ भएकाले अब ७/८ दिनसम्म मात्र उत्पादन गर्न सकिने जोशीले बताए । सरकारले कच्चा पदार्थ उपलब्ध गराए मास्क उत्पादन हुने उनले बताए । यो उद्योगक बाहेक काठमाडौंको बौद्धस्थित उद्योगले दैनिक तीन हजार थान नर्मल मास्क उत्पादन गर्छ । बुटवलमा रहेको उद्योगले कपडाको कटन मास्क उत्पादन गर्छ । यी उद्योगको दैनिक क्षमता साढे १३ हजार थानसम्म मास्क उत्पादन छ ।