कोरोना भाइरसको संक्रमणबाट स्पेनमा पनि एक जनाको मृत्यु 

फाल्गुन २१, २०७६

एजेन्सी

म्याड्रिड — स्पेनमा पनि कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोभिड–१९ का कारण स्पेनमा मृत्यु भएको यो पहिलो घटना हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनको भ्यालेन्सियामा एक जनाको मृत्यु भएको हो । रोयटर्सका अनुसार ती व्यक्तिको मृत्यु फेब्रुअरी १३ मा भए पनि पोस्टमर्टम रिपोर्टमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । ती व्यक्ति नेपालबाट फर्किएलगत्तै बिरामी परेको डेली मेल अनलाइनले जनाएको छ । उनमा निमोनियाको लक्षण देखिए पनि उनी नेपाल छँदै संक्रमण भएको थियो वा अन्त कतै भयो भन्नेबारेमा चाहिँ केही खुलेको छैन । 

संक्रमण बढ्दै गएपछि स्पेनको स्वास्थ्य मन्त्रालयले ठूला खेलकुद प्रतियोगिता आयोजना स्थगित गर्न आग्रह गरेकै केही समयपछि कोभिड–१९ बाट स्पेनी नागरिकको मृत्यु भएको समाचार आएको हो । बुधबार बिहानसम्म स्पेनका विभिन्न ठाउँमा गरी १६५ जनामा संक्रमण देखिएको छ । 

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि च्याम्पियन्स लिगअन्तर्गतको भ्यालेन्सिया र इटालियन क्लब एटलान्टाबीचको खेल पनि प्रभावित हुने सम्भावना रहेको छ । त्यस्तै युरोपा लिगअन्तर्गतको गेटाफे र इन्टर मिलानबीचको खेल तथा थुप्रै बास्केटबल प्रतियोगिताहरु पनि तत्कालका लागि स्थगित हुने सम्भावना रहेको छ । 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully