कोरोनाले सुनसान कोरिया

संक्रमण बढेसँगै समग्र देश कोरोनाविरुद्धको युद्धमा होमिएको राष्ट्रपति मुन जाय–इनको भनाइ

फाल्गुन २१, २०७६

गोकुल थोकर

दक्षिण कोरिया — दक्षिण कोरियाको राजधानी सोलबाट तीन सय किलोमिटर पर रहेको थेगु सहर अहिले सुनसान छ । कोरियाको चौथो ठूलो सहर सुनसान भएको तीन साता भयो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको केन्द्रबिन्दु भएर होला २५ लाख मानिस रहेको थेगुमा खासै चहलपहल छैन । यही सहर आसपास सात हजार नेपाली पनि बस्छन् ।

स्थानीय प्रशासनले नै सकेसम्म घर बाहिर ननिस्किन भन्दै छिनछिनमा मोबाइलमा म्यासेज पठाउने गरेको छ । अति व्यस्त रहने थेगुमा मान्छेको चहलपहल नै नभएपछि नेपाली रेस्टुरेन्ट चलाएर बसेका चिरञ्जीवी पाण्डे कोठामै बसेको ठ्याक्कै तीन साता भयो । गत शुक्रबार एक छिन गएर पूजा गरे । कोही नेपाली आउँदा फोन गर्थे । आजकाल कसैले फोन गरेका छैनन् । कोरियाली त हिँड्दैनन् भने नेपाली के हिँड्थे ?’ उनले भने ।

कोरोना संक्रमण दर बढ्न थालेपछि दक्षिण कोरियाका अधिकांश कम्पनीमा काम घटेको छ । धेरै कम्पनीमा बेसिक मात्रै कामभएका छन् भने केहीले साताको चार दिनसम्म बिदा दिएका छन् । केही बन्द गरिएका छन् । सबैजसो कम्पनीले आफ्ना कामदारलाई बाहिर हिँड्डुल गर्न प्रतिबन्धलगाएको छ । प्रतिबन्धपछि थेगुकै एक कम्पनी थोङ्छन ह्वासानमेनमा काम गर्ने तिलक मोक्तान पनि कम्पनीको कम्पाउन्डभित्रै बस्ने गरेका छन् । हामी विदेशीलाई मास्क लाउन र बाहिर नहिँड्न भनिएको छ । कोरियालीहरू भने मास्क नै नलाई कताकता डुलेर आउँछन् । देख्दै डर लाग्ने । रोग सबैलाई लाग्छ नि,’ उनले बताए । धेरै कामदारको दैनिकी फेरिएको छ । काम भए गर्ने नत्र कम्पनीसँगैको खिसुक्सा (होस्टल) मा बस्ने वा कोठामै सुत्ने । बजार जाने कोरियाली जे जस्तो किनेर ल्याउँछन् त्यही पकाएर खाने ।

खेम खत्रीको कम्पनी थेगुको थोङबुकमा छ । कम्पनीमा बीएमडब्लू गाडीको पार्टस बन्छ । एउटै साहुका दुई ठाउँमा कम्पनी छन् । उनी बस्ने ठाउँबाट १५ मिनेट गाडी चढेर कम्पनी पुगिन्छ । तोकिएको समयमा कम्पनीको गाडी लिन पनि आउने गरेको छ । गत बुधबार साहुको अर्को कम्पनीमा काम गर्ने कोरियाली महिलालाई कोरोना संक्रमण भएको पुष्टि भयो । संक्रमित महिलालाई अस्पतालमा राखिएको छ । हामी सात जना नेपाली छौं ।

हामी चढ्ने गाडी र त्यो महिला चढ्ने गाडी एउटै हो । त्यो महिलालाई भाइरसको संक्रमण लागेको कन्फर्म भएपछि चार दिन कम्पनी बन्द भयो । हामीलाई हल्का चेकअप गरे । समस्या छैन भनियो । कम्पनीमा किटनासक छरेर सोमबारदेखि काम गर्दै छौं । साथीहरू डराई डराई काम गरिरहेका छन्,’ खत्रीले भने, ‘हामीभन्दा धेरै २५ जना श्रीलंकाका कामदार छन् । उनी सबैले हामी एक महिना आउँदैनौं भनेर कम्पनीमा कुरा राख्दा हुँदै हुँदैन भनेर छुट्टी दिएनछन् । हाम्रो त झन् के सुन्थे ?’

कोरियाली सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि अनेक प्रयास जारी राखेको छ । उच्च सतर्कता अपनाएसँगै केही नियम परिवर्तन भएका छन् । विभिन्न निर्देशन जारी भएका छन् । संक्रमणबारे जानकारी नगराएको भन्दै सिनचोनजी चर्चमा छापा मारिएको छ । थेगुका सिनचोनजी चर्चबाट कोरोना भाइरस फैलिएको भन्दै सोमबारै सोल सरकारले त्यहाँका धार्मिक नेताविरुद्ध हत्या अभियोगमा मुद्दा दायर गरेको थियो । अहिले भाइरसबाट यही धार्मिक समूहका सबैभन्दा बढी प्रभावित छन् । आफ्ना सदस्यका बारेमा कुनै जानकारी नदिने भएकाले यो समूहमा कति कोरियाली संलग्न छन् भन्ने यकिन छैन । दुई लाख कोरियालीले यो धर्ममा आस्था राख्ने अनुमान छ ।

रोकिएन संक्रमण

दक्षिण कोरियामा कोभिड१९ संक्रमितको संख्यामा बढ्ने क्रम रोकिएको छैन । सरुवा रोग नियन्त्रण विभाग कोरिया (केसीडीसी) ले बिहान र बेलुकी दुई पटक कोरोना संक्रमितको बारेमा जानकारी गराउँदै आएको छ । विश्व स्वास्थ्य संगठनको वेबसाइटमा उल्लेख भएअनुसार बुधबार बिहानसम्ममा कोरियामा हजार सय ८६ जना संक्रमित भएका छन् भने ३२ जनाको मृत्यु भएको छ । संक्रमित संख्या बढ्न नरोकिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जायइनले मंगलबार भाइरस रोकथाम तथा नियन्त्रणका लागि थुप्रै कार्यक्रम घोषणा गरेका छन् ।

पढाइ अनिश्चित

कोरोना संक्रमण बढेसँगै दक्षिण कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका पढाइ अनिश्चित भएको छ । प्रायः सबै विश्वविद्यालयले विद्यार्थीको दीक्षान्त गरेका छैनन् । कोरियामा मार्च २ बाट शैक्षिक सत्र सुरु हुने भए पनि तत्कालका लागि दुई साता सरेको छ । यो अहिले हामीलाई विश्वविद्यालयले दिएको जानकारी हो । उनीहरू आफैं दुई सातासम्म के हुन्छ भनेर कन्फर्म छैनन् । यस्तै कोरोनाको संक्रमण बढे कसरी पढाइ हुन्छ ?’ नेपाली विद्यार्थी समाज (सोनसिक) का अध्यक्ष प्रकाश देवकोटाले भने । सबैभन्दा बढी विद्यार्थी नै अप्ठेरोमा परे पनि खासै गुनासो गर्ने अवस्था नरहेको उनी बताउँछन् । काम कम भएको छ । विश्वविद्यालय बन्द छन् । के गर्नु त ? पर्ख र हेर अवस्था छौं,’ उनले भने ।

 मास्कको अभाव

सरकारले अनिवार्य रूपमा सबैलाई मास्क प्रयोग गर्न निर्देशन दिएसँगै दक्षिण कोरियामा माक्सको अभाव भएको छ । खुद्रा पसल, ठूला मार्ट, अनलाइन सपिङमा समेत मास्कपाइँदैन । पाइने ठाउँमा पनि माक्सको तीन गुणाले महँगिएको छ । कुपाङ, दानावा, जीमार्केट, लोट्टे मार्ट, इमार्टजस्ता ठूला अनलाइन सपिङ साइटले मास्क सकिएको सूचना राखेका छन् ।

मास्क किन्नका विभिन्न मार्टअघि लामा लाइन देखिन्छन् । अभाव भएपछि सोमबार सरकारले मास्क बनाउने कम्पनीले उत्पादनको १० प्रतिशतभन्दा बढी निर्यात गर्न नपाउने नियम लागू गरेको छ । सरकारी हुलाक सेवाले पनि सुलभ मूल्यमा मास्क बेचिरहेको छ ।

कोरोना भाइरसविरुद्ध युद्धको घोषणा

कोभिड१९ को संक्रमण फैलन नरोकिएपछि दक्षिण कोरियाले यसविरुद्ध युद्धको घोषणा गरेको छ । राष्ट्रपति मुन जायइनले मंगलबार मन्त्रिपरिषद् बैठकमा कोभिड१९ विरुद्ध युद्ध घोषणा गरेका हुन् । थेगु र ग्योनबुक प्रान्तमा संक्रमण उच्च बिन्दुमा पुगेसँगै समग्र देश संक्रामक रोग कोभिड१९ विरुद्ध युद्धमा होमिएको छ,’ भाइरसले अति प्रभावित क्षेत्रबारे उल्लेख गर्दै बैठकमा राष्ट्रपति मुनले बताए ।

उनले देशैभरका अस्पतालमा थप शय्याको व्यवस्थापन गर्न र मास्कको उचित आपूर्तिका लागि पनि मन्त्रिपरिषद् सदस्यसहित सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । उनले मास्कलाई अत्यावश्यक सामग्रीका रूपमा स्टक राख्नसमेत भनेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले उल्लेख गरेको छ ।

मुनले मास्क अभाव भएकामा सार्वजनिक माफी पनि मागेका छन् । पर्याप्त मात्रामा र सहज तरिकाले मास्क उपलब्ध गराउन नसकेकोमा म क्षमा माग्छु,’ उनले भने । कोभिड१९ संक्रमणले आघात पुगेका साना व्यापारीलाई सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

एसियाकै चौथो ठूलो अर्थतन्त्र दक्षिण कोरिया कोरोना संक्रमितको संख्यामा चीनपछि सबैभन्दा धेरै प्रभावित राष्ट्र हो । प्रकोपको त्राससँगै कोरियालीहरू मास्क किन्न घण्टौं लाइनमा लाग्न परिरहेको छ ।

विश्वभर कोभिड१९ संक्रमितको संख्या ९ हजारभन्दा बढी छ भने तीन हजार बढीको मृत्यु भएको छ ।

कोरोना भाइरस

गोकुल

Link copied successfully