कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रकोप : इटालीमा एक जनाको मृत्यु, मृतकको संख्या २३६० पुग्यो

एजेन्सी

बेइजिङ — युरोपेली मुलुक इटालीमा कोरोना भाइरसका कारण शुक्रबार एक जनाको मृत्यु भएको छ । इटालीयन टेलिभिजन आरएआईका अनुसार उत्तरी भेनेतो क्षेत्रका ७८ वर्षीय वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

कोरोना प्रकोप : इटालीमा एक जनाको मृत्यु, मृतकको संख्या २३६० पुग्यो

इटालीमा कोरोना भाइरसको कारण मृत्यु भएको यो पहिलो घटना हो । चीनबाट फर्केका ३८ वर्षीय इटालियन युवामा पहिलो पटक जनवरी २१ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो । शनिबार बिहानसम्म इटालीमा २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चीनमा संक्रमितको संख्या घट्दै

यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको संक्रमण बिस्तारै कम हुँदै गएको जनाएको छ । शुक्रबार थप १०९ जनाको मृत्यु भएको तथा थप ३९७ जनामा संक्रमण देखिएको स्वास्थ्य आयोगले जनाएको छ ।

बिहीबार भने ११५ जनाको मृत्यु भएको थियो । शनिबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण दुई हजार तीन सय ४५जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा संक्रमितको संख्या ७६ हजार २ सय ८८ पुगेको छ । शुक्रबार मात्रै २ हजार ३ सण्य ९३ जना अस्पतालबाट डिस्चार्ज भएको तथा निको हुनेको संख्या २० हजार ६ सय ५९ पुगेको पनि चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।


चीनबाहिर इरानमा ४, जापानमा ३, दक्षिण कोरिया र हङकङमा २–२, ताइवान, इटाली, फ्रान्स र फिलिपिन्समा एक–एक जना गरी १५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण विश्वभर दुई हजार तीन सय ६० जनाको मृत्यु भएको छ भने ७७ हजार ७ सय ६७ जना संक्रमित भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक

कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि आवश्यक कदम चाल्नका लागि भन्दै शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) को राजनीतिक ब्युरोको बैठक बसेको छ । पार्टीका महासचिव राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बैठक बसेको थियो । दुई दिनअघि सीकै अध्यक्षतामा पार्टीको स्थायी समितिको बैठक पनि बसेको थियो । बैठकमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्य र आवश्यक सामग्रीमा ध्यान पुर्याउने विषयमा पनि छलफल भएको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?