कोरोना प्रकोप : वुहानमा कार्यरत डाक्टरको मृत्यु

एजेन्सी

बेइजिङ — चीनको वुहानमा फेरि एक जना डाक्टरको कोरोना भाइरस(कोभिड–१९) का कारण मृत्यु भएको छ । बिहीबार राति वुहान अस्पतालमा उपचाररत २९ वर्षीय डाक्टर पेङ यिन्ह्वाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ ।

कोरोना प्रकोप : वुहानमा कार्यरत डाक्टरको मृत्यु

डाक्टर पेङ जियाङजिया जिल्लामा रहेको फस्ट पिपल्स हस्पिटलमा कार्यरत रहेका थिए । बिरामीको उपचारमा खटिएको बेला नै उनमा कोरोना भाइरसको संक्रमण भएको हो । उनलाई जनवरी २५ मा अस्पताल भर्ना गरिएको थियो ।

यसअघि हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङ, कोरोना प्रकोपको चेतावनी दिने ३४ वर्षीय डाक्टर ली वेनलियाङ र वुहान अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको थियो ।


कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार अहिलेसम्म कम्तीमा ७ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक हजार ७ सयभन्दा बढीमा संक्रमण देखिएको छ ।


डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसका कारण शुक्रबार बिहानसम्म चीनमा २२३६ र अन्य देशमा ११ गरी २२४७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै विश्वभर ७६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?