‘निःसन्तानलाई सन्तान सुख दिन आईभीएफ’

नेपालमा कति दम्पतीमा निःसन्तान समस्या छ भन्ने यकिन तथ्यांक छैन ।

चैत्र २४, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वभर नै निःसन्तानपनको समस्या बढ्दै गएको वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. भोला रिजालले बताएका छन् । कान्तिपुर दैनिकले आयोजना गरेको स्वास्थ्यसम्बन्धी राउन्ड टेबल कार्यक्रममा उनले युवा उमेरमा वैदेशिक रोजगारका लागि जाने र फर्किएपछि सन्तानको चाह गर्नेमा झन् बढी समस्या देखिने गरेको जनाए ।

अस्वस्थकर खानपानका साथै बदलिादो जीवनशैलीले पनि निःसन्तान हुने दर बढाइरहेको हुन सक्ने आफ्नो अनुभवले देखाएको डा. रिजालको दाबी छ । कुनै विवाहित दम्पतीले सन्तान प्राप्त नगर्दा अहिले पनि महिलालाई नै प्रमुख कारक मान्ने गरे पनि त्यसमा पुरुष पनि उत्तिकै जिम्मेवार हुने गरेको उनले बताए । ‘सय जनामा ८५ प्रतिशतमा बच्चा जन्माउन कुनै समस्या हुँदैन । समस्या हुने १५ प्रतिशतमा पनि महिला वा पुरुष जसका कारणले समस्या हुने गरेको भए पनि धेरैजसोमा सामान्य उपचारपछि नै त्यो ठीक हुन्छ,’ उनले भने, ‘२–३ प्रतिशतलाई मात्रै इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) आवश्यक हुन्छ ।’

नेपालमा पछिल्लो समय निःसन्तान दम्पतीको संख्या बढ्दै गएको देखिएको निःसन्तान उपचार विज्ञ डा. स्वस्ति शर्माको भनाइ छ । ‘नेपालमा कति दम्पतीमा निःसन्तान समस्या छ भन्ने यकिन तथ्यांक छैन । तर जुन रुपमा उपचारका लागि समस्यामा परेका दम्पती आइरहनुभएको छ, त्यसले नै संख्या बढिरहेको इंगित गर्छ,’ उनले भनिन्, ‘धेरैको समस्या सामान्य काउन्सिलिङ वा इन्ट्रायुटेरस इन्सेमिनेसन (आईयूई) ले पनि गर्न सक्छ । आईभीएफ भनेको त अन्तिम उपाय हो ।’

महिला र पुरुष दुवैमा बढ्दो उमेरसागै सन्तान जन्माउने क्षमता पनि कम हुँदै जाने वैज्ञानिक अध्ययनहरूले नै पुष्टि गरिसकेको डा. स्वस्तिले जनाइन् । ‘कसैले ३५ वर्षपछि सन्तान प्राप्तिको इच्छा राख्छन् भने सबैका लागि त्यो सहज नहुन सक्छ । यस्तोमा विज्ञहरूसँगको परामर्श गरेर केही उपाय अवलम्बन गरे सहज हुन्छ,’ उनले भनिन्, ‘महिला वा पुरुष कुनै एक वा दुवै जनामा पनि समस्या हुन सक्छ । तर त्यसको समाधान पनि हुन्छ ।’

उनका अनुसार निःसन्तान दम्पतीमध्ये कोमा समस्या छ भन्ने सामान्य परीक्षणबाटै थाहा हुने भएकाले त्यो पत्ता लगाएर समयमै उपचार गराएमा पैसा र समय दुवैको क्षति हुनबाट जोगिन सकिन्छ । ‘हामीले केही हर्मोन परीक्षण र अल्ट्रासाउन्डलगायत परीक्षण गरेर कहाँ समस्या छ भनेर निर्क्योल गर्छौं । त्यसपछि सोहीअनुसारको उपचार पद्धति सुझाउँछौं,’ उनले भनिन् ।

हाल नेपालमा सुरु भएको आईभीएफ सेवाले धेरै निःसन्तान दम्पतीलाई सन्तान सुख प्राप्त गर्न सहयोग गरेको पनि उनले बताइन् । ‘विश्वभरमा आईभीएफबाट सन्तान प्राप्त गरेर घर नै लैजाने दर भनेको ३५ देखि ४० प्रतिशत हो । नेपालमा पनि त्यो दर हासिल भइरहेको छ,’ उनले भनिन्, ‘धेरैले यो सेवाबाट सन्तान सुख प्राप्त गर्नुभएको छ ।’

आईयूईले पनि समस्या समाधान नभएको अवस्थामा मात्रै आईभीएफ पद्धतिबाट उपचारका लागि निःसन्तान दम्पतीलाई सल्लाह दिने इम्ब्रियोलोजिस्ट प्रीति विष्टले बताइन् । उनको भनाइमा नेपालमा गरिने आईभीएफ पद्धति विश्वका कुनै पनि विकसित देशमा गरिने पद्धतिभन्दा कम आकलन गर्न मिल्दैन ।”IVF to give child happiness to the childless”

सामान्य रुपमा बुझ्दा आईभीएफमा पुरुषबाट शुक्रकिट र महिलाबाट डिम्ब प्राप्त गरेर त्यसलाई प्रयोगशालामा निसेचन गरेर त्यो पूर्ण रुपमा निसेचित भएर भ्रूण बन्ने भएमा मात्रै पुनः लगेर महिलाको पाठेघरमा राखिन्छ । त्यसपछि पाठेघरमा बच्चा बस्ने प्रक्रिया प्रारम्भ हुन्छ । ‘हामीले आईभीएफ पद्धतिबाट उपचार गर्दा शुक्रकीट र डिम्ब दुवैको गुणस्तर हेर्छौं । त्यसले गर्दा नै स्वस्थ्य सन्तान प्राप्त गर्ने दम्पतीको इच्छा पुरा हुन्छ,’ उनले भनिन् ।

नेपालका दुर्गम क्षेत्रमा निःसन्तानहरू उपचार गर्न सक्ने वातावरण निर्माण गर्न सकेमा अझ धेरैलाई सहज हुने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जनाए । ‘हामीले अहिले पनि सामान्य समस्याका कारण निःसन्तान भएकाहरूलाई उनीहरूलाई पायक पर्ने स्थानमै सेवा दिन चुकिरहेका छौं । त्यो व्यवस्था सरकारी स्तरमा मिलाउन सके धेरैलाई सहज सेवा मिल्न सक्थ्यो,’ उनले भने, ‘त्यो सहजता होस् भनेर हामीले तालिम दिन पनि थालेका छौं । त्यसमा स्वास्थ्य मन्त्रालयको पनि सहयोग भए अझ सहज हुन्छ ।’

प्रसूति गृहले पनि सन्तान प्राप्तिको इच्छा भएका निःसन्तान दम्पती उपचारका लागि आईयूआई र आईभीएफ सेवा सुरु गरेको भए पनि राजधानी बाहिरबाट आएर यहाा बसेर उपचार गराउनुपर्दा धेरै महंगो पर्ने गरेको उनले उल्लेख गरे । ‘आईयूआई लागि अस्पतालमै बस्न नपरे पनि फलोअप गर्नुपर्छ । एकदुई दिन तलमाथि हुँदा केही साता फेरि कुर्नुपर्ने हुन सक्छ । जसले गर्दा थोरै पैसामा हुने उपचार पनि महंगो भइदिन जान्छ,’ उनले भने, ‘प्राविधिक कारणले गर्दा आईभीएफ तत्कालका लागि धेरै स्थानमा सुरु गर्न सकिन्न तर आईयूआई सकिन्छ । त्यसका लागि पहल हुन जरुरी छ ।’

आईभीएफ पद्धतिबाट निश्चित लिंगकै सन्तान प्राप्त गर्न सम्भव हुन्छ या हुन्न भन्ने प्रश्नमा इम्ब्रियोलोजिस्ट प्रीति विष्टले त्यो पूर्णरुपमा असम्भव नभए पनि गैरकानुनी भएको बताइन् । आईभीएफका विभिन्न चुनौतीमध्ये लिंग छान्ने आशाले पनि धेरै दम्पतीहरू अन्योलमा पर्ने गरेको उनको भनाइ छ । ‘हामीले बच्चा स्वास्थ्य छ या छैन भनेर थाहा पाउन मात्रै जेनेटिक परीक्षण गर्छौं । त्यो गर्दा लिंग थाहा नहुने होइन त होइन । तर त्यो गैरकानुनी विषय हो,’ उनले भनिन्, ‘कानुनले नै वर्जित गरेको विषय कसैले गर्छ भने त्यो त अपराध भयो । इथिकल काम गर्ने कसैले पनि त्यस्तो गर्दैनन् । त्यस्तोको भर नपर्नु नै उचित हुन्छ ।’

आईभीएफ अत्यन्तै प्राविधिक विषय भएकाले पनि अन्य उपचार पद्धतिभन्दा केही मह‌ंगो रहे पनि यसबारे नकरात्मक टिकाटिप्पणी धेरै हुने गरेको डा. स्वस्तिको तर्क छ । ‘पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई प्रयोगशालामा निःसेचन गर्नु भनेको सुने जत्ति सजिलो हुँदैन । हावा, ताप, प्रकाशदेखि आर्द्रता जस्ता कुराले पनि धेरै असर गर्छन् । निरन्तर निगरानी राख्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘त्यसमाथि पनि यहाँ प्राविधिक र दक्ष विज्ञहरूको कमी छ ।’

स्वास्थ्यमा बजेट हरेक वर्ष कम हुँदै गइरहेको सन्दर्भमा कुन विषयलाई प्राथमिकता दिने भन्नेमै अन्योल रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाए । ‘सीमित बजेटमा हामीले व्यक्तिको जीवन जोगाउनतर्फ सोच्ने कि उनीहरूलाई सन्तान प्राप्त गर्न सहयोग गर्ने भनेर प्राथमिकीकरण गर्न गाह्रो छ,’ उनले भने, ‘सीमितताबीच पनि हामीले सकेको सहयोग गर्ने कोसिस गरेका छौं ।’

यस्तै च्याउ जसरी खुलेका आईभीएफ सेन्टरहरूको निगरानी गर्न मन्त्रालय गम्भीर भएर लागेको पनि डा. बुढाथोकीले बताए । ‘आईभीएफ सेन्टरलाई जनस्वास्थ्य ऐन र नियमावली दुवैले विशिष्टीकृत सेवामा राखेको छ । त्यसैले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिई कुनै पनि त्यस्ता सेन्टर सञ्चालन गर्न पाईदैन । सञ्चालन भइरहेको भेटिए कारबाही हुन्छ ।’

अहिले पनि निःसन्तान हुँदा पुरुषभन्दा बढी महिला प्रताडित हुने अवस्था रहेका कारण सरकारले समस्यालाई कम गर्न जिल्लामा खटिने चिकित्सकहरूलाई तालिम दिनुपर्ने वरिष्ठ चिकित्सक डा. भोला रिजालले जनाए । ‘जिल्लामा खटिने चिकित्सकलाई निःसन्तान उपचारको तालिम दिन के गर्न सकिन्छ, त्यसका लागि म सहयोग गर्न तयार छु । हाम्रो संघ पनि तयार हुन्छ,’ उनले भने, ‘त्यसका लागि स्वास्थ्य मन्त्रालय र प्रसूति गृह जस्ता सरकारी संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।’

अभिषेक अधिकारी र आरती पौडेल (प्रशिक्षार्थी)

कान्तिपुर

Link copied successfully