अहिले निःसन्तानसम्बन्धी समस्या भएका दम्पतीहरूको संख्या बढेको अवस्था छ । यो समस्या नेपालको मात्र नभई विश्वकै हो । यस्तो हुनुमा धेरै कारणहरू छन्– रहनसहन, खानपिनदेखि लिएर जीवन जिउने तरिका, जिन्दगी बनाउने हेतुले ढिला विवाह गर्नुलगायतका कारण छन् । त्यसमा निःसन्तान समस्याको मुख्य कारण उमेर नै हो ।
प्रसूति गृहमा दैनिक ७ सयदेखि एक हजार जना बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये ४ देखि ५ सय गर्भवती महिला छन् । ३ सयदेखि ५ सय गाइनोका बिरामी आउने गरेका छन् । तीमध्ये पनि ७० देखि ८० जना बिरामी निःसन्तानका हुने गरेका छन् । अस्पतालमा आउने १० देखि १५ प्रतिशत सेवाग्राही निःसन्तानसम्बन्धी समस्या लिएर आउने गरेका छन् । निःसन्तानको समस्या भएका गाउँका कतिपय महिलाहरू अझै पनि उपचारका लागि सहरमा आउने गरेका छैनन् ।
यो समस्या समाधान गर्न सबै ठाउँमा आईभीएफ सेन्टर नै चाहिन्छ भन्ने छैन । गाउँ–गाउँमा सामान्य निःसन्तान उपचार केन्द्र मात्रै भए पनि पुग्छ । त्यहाँ एमबीबीएस डाक्टरले निःसन्तान हुनुको सामान्य कारण जस्तै– महिनावारी भएको कति समयपछि यौन सम्पर्क राख्ने, शरीरको तौल कति राख्नुपर्ने, खान हुने/नहुने, श्रीमान्का सामान्य बानीका कुरा जस्तै मादक पदार्थ सेवनका बारेमा अलिकति मात्र ‘मोडिफिकेसन’ गर्नेबित्तिकै पनि उसको सन्तान हुने सम्भावना बढ्छ । यस्तो उपचार निजी तथा सरकारी स्वास्थ्य संस्था जता गराए पनि धेरै खर्च लाग्दैन । यस्तो सामान्य उपचार गराउन गाउँबाट सहर आउनुपरेको छ । सहर आउँदा समय मिलाएर नआउँदा उपचारका लागि अर्को महिनावारी हुने बेलासम्म कुर्नुपर्छ । एक महिना कुर्नुपर्दा उपचारभन्दा बस्ने खर्च बढी लाग्छ । काठमाडौं, चितवन ठाउँ हेरेर ५० देखि एक लाख रुपैयाँ लाग्न सक्छ ।
यसरी खर्च बढेका कारणले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा मिलेर निःसन्तान उपचारसम्बन्धी तालिम सुरु गरेको छ । यो तालिमलाई अझ व्यवस्थित बनाएर जो काम गर्न इच्छुक छन्, उनीहरूले प्राप्त गर्न मिल्ने अवस्थाको निर्माण गर्न जरुरी छ । स्वास्थ्य मन्त्रालयले तालिम दिएर मात्र भएन । समुदायमा भएका कुन डाक्टरलाई तालिम दिए सेवा दिन सकिन्छ ।
हामीले ६ वटा सेन्टरलाई तालिम दिएकामा अहिले बुटवलमा निःसन्तान उपचार सेवा सुरु भएको छ । त्यसैगरी सेती अस्पतालमा सुरु हुँदै छ । यसरी विभिन्न अस्पतालमा सुरुवातका क्रममा छ । तर, त्यहाँको व्यवस्थापनदेखि लिएर चिकित्सकहरूले अलिकति ‘मोटिभेट’ भएर काम गरे भने दूरदराजका बिरामीले सहज सेवा पाउने थिए ।
– नेपाल मात्र होइन, विश्वभर नै निःसन्तानपनको समस्या बढ्दै गएको विज्ञहरु बताउँछन् । यसै सन्दर्भमा नेपालमा निःसन्तानपनको अवस्था, भविष्यमा यसले निम्त्याउन सक्ने जोखिम आदि विषयमा केन्द्रित रहेर कान्तिपुरले आयोजना गरेको स्वास्थ्यसम्बन्धी राउन्ड टेबलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक अधिकारीले राखेको विचारको सम्पादित अंश ।
