‘आईभीएफको सफलता महिला–पुरुष दुवैमा भर पर्छ’

चैत्र २५, २०८१

डा. स्वस्ती शर्मा

'The success of IVF depends on both men and women'

निःसन्तान उपचार भन्नेबित्तिकै धेरैले ‘इन भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ) भन्ने सोच्छन् । ‘टेस्ट ट्युब बेबी सोचेकै छैन, त्यहाँसम्म किन जाने ?’ भन्ने प्रश्न धेरैको हुन्छ । निःसन्तान उपचारको सामान्य पद्धति पनि नबुझाउन सकेकाले यो कुरा उठेको हो ।

कुनै जोडी एक वर्षसम्म नियमित रूपमा शारीरिक सम्पर्कमा रहेको छ । कुनै पनि परिवार नियोजन प्रयोग गरेको छैन । तैपनि बच्चा भइरहेको छैन भने सबैभन्दा पहिला हामी त्यस्ता दम्पतीको मूल्यांकन गर्छौं । हामीले पहिलो दुवैको उमेर हेर्छौं । त्यसमा पनि महिलाको उमेर ३५ वर्षभन्दा माथि छ भने उनको परीक्षण सुरु गर्छौं । यस्तै, पुरुषको पनि उमेरअनुसारका विभिन्न परीक्षणहरू हुन्छन् ।

कतिपय अवस्थामा छलफल गरेर काउन्सिलिङ र सामान्य औषधिले नै समस्याको समाधान हुन्छ । त्यसले समस्या समाधान नभएमा हामी ‘इन्ट्रायुटेरस इन्सेमिनेसन’ (आईयूई) बाट सम्भव छ कि भनेर हेर्छौं । त्यसमा पुरुषको शुक्रकिटलाई सफा गरेर राम्रो मात्रामा छानेर पाठेघरभित्र लगेर राखिन्छ । जसका कारण कुनै अवरोधबिना शुक्रकिटले अन्डासँग जोडिन पाउँछ र बच्चा बस्न सहयोग पुग्छ । त्यसरी पनि सम्भव नहुने देखिएमा मात्रै टेस्टट्युब बेबी जसलाई हामी आईभीएफ भन्छौं, त्यसतर्फ सोच्ने हो ।

अर्को कुरा आईभीएफ गर्नेबित्तिकै शतप्रतिशत सफलता प्राप्त हुन्छ भन्ने हुँदैन । यो विषय धेरैलाई बुझाउन जरुरी छ । किनभने विभिन्न वैज्ञानिक अध्ययनले नै यसको सफलता दर वा भनौं बच्चा घरै लैजाने अवस्था ४० देखि ४५ प्रतिशत भनेको छ । नेपालमा पनि त्यही नै हो ।

टेस्टट्युब बेबीको सफलता दर श्रीमान् र श्रीमतीमा दुवैमा भरपर्ने गर्दछ । जसमा उमेर पनि पर्छ । शुक्रकिटको क्वालिटी कस्तो छ ? स्पीड कति छ ? के समस्याका कारण उनीहरूलाई टेस्टट्युब बेबी आवश्यक परेको हो । त्यो सबै हेर्नुपर्छ । नेपालमा आईभीएफका बारेमा जुन दक्ष जनशक्ति आवश्यक पर्छ, त्यसको कमी छ । हामीकहाँ आईभीएफ सेवा सुरु भएको लगभग २५ वर्ष हुन लाग्यो । २०७५ सालमा सरकारले यसलाई विशिष्टीकृत सेवाअन्तर्गत राखेर केही नियमहरू बनाएको छ । एमबीबीएस वा एमडी गरेर एक वर्ष फेलोसिप गरेकाले मात्रै गर्न पाउने भनिएको छ । तर, त्यसले समस्याको सम्बोधन गर्दैन किनभने पहिला नै पढेर वा तालिम लिएर आएर राम्रो काम गरिरहेकाहरू पनि छन् ।

डा. भोला रिजालले यसमा काम गर्न थाल्नुभएको २० वर्ष बढी भयो, मैले नै गरेको पनि १५ वर्ष भइसक्यो । 

अब अहिले आएर फेलोसिप गर्न जाने कुरा पनि आएन । तर, ढुक्कसँग काम गर्ने हो भने एक वर्ष फेलोसिप गर्नै जान पर्ने अवस्था छ । 

– नेपाल मात्र होइन, विश्वभर नै निःसन्तानपनको समस्या बढ्दै गएको विज्ञहरु बताउँछन् । यसै सन्दर्भमा नेपालमा निःसन्तानपनको अवस्था, भविष्यमा यसले निम्त्याउन सक्ने जोखिम आदि विषयमा केन्द्रित रहेर कान्तिपुरले आयोजना गरेको स्वास्थ्यसम्बन्धी राउन्ड टेबलमा निःसन्तान उपचार तथा स्त्रीरोग विशेषज्ञ डा. शर्माले राखेको विचारको सम्पादित अंश ।

डा. शर्मा निःसन्तान उपचार तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

Link copied successfully