‘निःसन्तान समस्याले महिला बढी प्रताडित’

चैत्र २५, २०८१

डा. भोला रिजाल

”Women are more tormented by the problem of childlessness”

अब नेपालमा निःसन्तानहरूको के स्थिति थियो ? कस्तो खालको पीडा थियो ? त्यो किन त्यस्तो थियो ? भन्ने कुरा मैले बारम्बार भन्दै आएको छु । सरसर्ती हेर्दा झन्डै १०० जना दम्पतीहरूमा ८५ जनामा २ वर्ष श्रीमान्सँगै बस्यो भने आफैं बच्चा हुन्छ तर बाँकी रहेको १५ जनालाई अस्पताल जानुपर्ने अथवा चिकित्सकहरूको परामर्श चाहिने हुन्छ । अब त्यो १५ भनेकै पनि धेरै ठूलो संख्या हो । त्यो संख्याको पनि झन्डै ८५ प्रतिशतमा साधारणभन्दा साधारण औषधिहरू दिएर, अलिकति ‘काउन्सेलिङ’ गरेपछि बच्चा पाउन सक्छन् ।

मैले निःसन्तानको क्याम्पहरू लिएर जब गाउँगाउँमा डुल्थें त्यतिखेर धेरैलाई यो भगवान्ले दिएको श्राप हो भन्ने लागेको भेट्थें । त्यो आजको दिनमा ६० प्रतिशतमा हटेको छ, बाँकी ४० प्रतिशतमा अझै पनि त्यही सोच छ । त्यसमा पनि निःसन्तान महिलालाई हेर्ने समाजको धारणा झनै बढी क्रूर छ । तर, जब उपचार पछि दूरदराजका महिलाहरूको पनि सन्तान हुन थाले, धारणा पनि परिवर्तन भयो र उपचारका लागि पनि आउन थाले ।

आईभीएफ सेन्टर देशभर खोल्नुपर्छ भन्ने छैन । तर, निःसन्तानको उपचार हरेक ठाउँमा, हरेक गाउँका वडाहरूको स्वास्थ्य चौकीदेखि लिएर कमसेकम जिल्ला अस्पतालमा हुनु जरुरी छ । यसलाई नै हामीले कसरी अगाडि बढाउने हो भनेर सोच्न जरुरी छ । यसमा स्वास्थ्य मन्त्रालयको अझ ठूलो भूमिका हुनुपर्छ । निःसन्तान हुनुमा ५० प्रतिशत दोष महिलाको हुन्छ भने ५० प्रतिशत दोष पुरुषमा हुन्छ । यसलाई अझै बंग्याउने हो भनेदेखि ३३ प्रतिशत महिला र ३३ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला पुरुष दुवैमा दोष हुन सक्छ । 

भर्खर बिहे गरेर दुई महिना, चार महिना पछि विदेश गएका युवाहरू फर्किएपछि भोगेका समस्या झन् कहालीलाग्दो छ । फेरि दोष महिलामा जान्छ, किनभने उहाँबाट त उसले पैसा कमाएर आएको छ । ऊ पुरुष हो । पुरुषले गल्ती गर्न सक्दैन । गाउँका महिलाहरू त्यसै पनि उत्पीडित छन् । हाम्रो दिमागबाट यो सोच हटाउनुपर्ने छ । मैले ०३९ सालदेखि निःसन्तान उपचारमा काम गर्दै आइरहेको छु । त्यतिबेला कलकत्तामा पढ्न गएका बेलामा पनि त्यहाँ निःसन्तान समस्याको उपचारका लागि पुग्ने नेपालीको संख्या ठूलो थियो । पूर्वतिरका धेरै जान्थे गाई–गोरु बेचेर । त्यसैले पनि मलाई नेपालमा यो उपचार सुरु गर्न प्रेरित गरेको थियो ।

सबै प्रकारको उपचार गर्दा पनि सन्तान प्राप्ति नभएकाहरूको पीडा देखेरै मैले व्यक्तिगत पहलमै आईभीएफ उपचार पद्धति नेपालमा सुरु गरेको हुँ । त्यसले धेरै निःसन्तान दम्पतीलाई सन्तान सुख दियो । सन्तान नहुनेलाई सन्तान सुख दिन सक्नु पनि निकै सन्तुष्टिको काम हो ।

– नेपाल मात्र होइन, विश्वभर नै निःसन्तानपनको समस्या बढ्दै गएको विज्ञहरु बताउँछन् । यसै सन्दर्भमा नेपालमा निःसन्तानपनको अवस्था, भविष्यमा यसले निम्त्याउन सक्ने जोखिम आदि विषयमा केन्द्रित रहेर कान्तिपुरले आयोजना गरेको स्वास्थ्यसम्बन्धी राउन्ड टेबलमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रिजालले राखेको विचारको सम्पादित अंश ।

डा. डा. रिजाल वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

Link copied successfully