आईभीएफलाई सरल भाषामा टेस्टट्युब बेबी भनेर बुझिन्छ । महिलाको अन्डा र पुरुषको शुक्रकिटको मिलनबाट गर्भाधारण प्रक्रिया प्रारम्भ हुन्छ । महिलाबाट लिइएको अन्डा र पुरुषको शुक्रकिट नै परीक्षण गरेर प्रयोगशालामा केही दिन राखेर मिलन गराई त्यसबाट बनेको भ्रूणलाई महिलाको पाठेघरमा स्थानान्तरण गर्ने प्रक्रिया नै आईभीएफ हो ।
आईभीएफमा विभिन्न प्रक्रिया जोडिएका हुन्छन् । पुरुषबाट शुक्रकिट निकालेजसरी महिलाको अन्डा निकाल्न त्यति सजिलो छैन । त्यसका लागि एउटा ओबुलेसन प्रक्रियामा हुन्छ । केही दिनसम्म महिलालाई हर्मोनल इन्जेक्सनहरू दिनुपर्ने हुन्छ । त्यसपछि कुनै पनि चिरफारबिना ‘ट्रान्सभजाइनल’ पद्धतिबाट हामीले महिलाको डिम्बाशयबाट तरल पदार्थहरू संकलन गर्छौं । त्यसमा अन्डाहरू हुन्छन् । त्यसपछि प्रयोगशालामा शुक्रकिटसँग निशेचन गरिन्छ । त्यो निशेचन गर्ने पनि फरक प्रक्रिया छ । जसको अन्तिम परिणाम भनेको भ्रूण हो । प्रयोगशालामा बनेको त्यो भ्रूणलाई त्यसपछि महिलामा स्थानान्तरण गर्छौं ।
आईभीएफ पद्धति अपनाउँदा अनुवांशिक र वंशाणुगत दुई छुट्टाछुट्टै परीक्षण गर्न सकिन्छ । हामीले खासमा भ्रूणमा केही खराबी छ या छैन भन्ने निर्क्योल गर्नका लागि जेनेटिक परीक्षणहरू गर्ने हो । कसैले यो सबै परीक्षण गर्ने भनेमा वा धेरै पटक आईभीएफ गर्दा पनि सफलता प्राप्त भइरहेको छैन भने अनुवांशिक कारणहरूको पनि अध्ययन गर्नु जरुरी हुन्छ । त्यसको क्रोमोजोमहरू हेर्छौं र जेनेटिक्स पनि अध्ययन गर्छौं । त्यो गर्दा भ्रूणको लिंग हेर्न नमिल्ने भन्ने हुँदैन । तर, त्यो हेरिँदैन किनकि त्यो गैरकानुनी हो । आईभीएफको लक्ष्य निःसन्तानलाई स्वस्थ बच्चा प्राप्तिका लागि सहायता प्रदान गर्नु हो न कि लिंग छान्न मद्दत गर्नु ।
आईभीएफ गर्दा जुम्ल्याहा बच्चा नै हुन्छ भन्ने भ्रम निकै धेरै छ । त्यो पनि गलत हो । जुम्ल्याहा हुन सक्ने सम्भावना करिब १५ प्रतिशत हो । त्यो पनि कुन दिनमा कति वटा भ्रूण स्थानान्तरण गरियो भन्ने प्राविधिक विषयमा भर पर्छ । उमेरसँगै पाठेघरको रिसेप्टिभिटी कस्तो छ, अन्डा र शुक्रकिटको गुणस्तर कस्तो छ भन्ने विषयमा भर पर्छ ।
आईभीएफको सफलता राम्रो हुनका लागि क्वालिटी इन्स्योरेन्स, क्वालिटी कन्ट्रोलदेखि लिएर काउन्सेलिङ दिने र प्रयोगशालालाई चुस्तदुरुस्त राख्नेसम्मका काम गर्नुपर्छ । त्यसका लागि फुल टाइम इम्ब्रियोलोजिस्टले मात्रै सम्भव छ । नेपालमा इम्ब्रियोलोजिस्टको मुख्य समस्या भनेको प्रमाणीकरणको पनि हो । यहाँ कसले कुन संस्थाबाट प्रमाणीकरण गर्ने भन्ने पनि ठूलो समस्या छ । त्यसको सम्बोधन नहुँदा धेरै दक्ष जनशक्ति विदेशिएका छन् ।
– नेपाल मात्र होइन, विश्वभर नै निःसन्तानपनको समस्या बढ्दै गएको विज्ञहरु बताउँछन् । यसै सन्दर्भमा नेपालमा निःसन्तानपनको अवस्था, भविष्यमा यसले निम्त्याउन सक्ने जोखिम आदि विषयमा केन्द्रित रहेर कान्तिपुरले आयोजना गरेको स्वास्थ्यसम्बन्धी राउन्ड टेबलमा इम्ब्रियोलोजिस्ट विष्टले राखेको विचारको सम्पादित अंश ।
