नेपालमा बन्द भए फेसबुक, युट्युब, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल

इन्टरनेट सेवा प्रदायकहरूले नयाँनयाँ आईपी एड्रेस पहिचान गरी धमाधम प्लाटफर्महरू बन्द गरिरहेको जानकारी दिएका छन् ।

भाद्र २१, २०८२

कान्तिपुर संवाददाता

Facebook, YouTube, Instagram and other social networks were closed in Nepal

काठमाडौँ — नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लाटफर्महरू सरकारले निष्क्रिय पार्ने निर्णय गरेपछि इन्टरनेट सेवा प्रदायकहरूले यसलाई कार्यान्वयनमा ल्याएका छन् । बिहीबार सरकारको निर्देशनपछि आज शनिबारसम्म फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जरजस्ता ठूला प्लाटफर्म निष्क्रिय भएका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको छाता संस्था, आइस्पान र सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीले सरकारको निर्णयअनुसार प्लाटफर्महरूलाई बन्द गर्दै लगिएको बताए । ‘नयाँनयाँ आईपी एड्रेसहरू आइरहेका छन्, त्यसलाई पत्ता लगाउँदै धमाधम बन्द गर्दै गरिरहेका छौं,’ उनले भने, ‘मोबाइल अपरेटर र आईएसपीहरूको एउटा भाइबर ग्रुप बनाएका छौं, कसैले नयाँ लिंक फेला पारेमा त्यही ग्रुपमा राखेर सबैले ब्लक गर्दै छौं ।’ 

पराजुलीका अनुसार एकैचोटि सबै प्लाटफर्म पूर्ण रूपमा बन्द गर्न गाह्रो छ । यसले गर्दा केही ठाउँमा चल्ने र केहीमा नचल्ने भइरहेको हो । उनले भने, ‘हामीले वेब संस्करणहरू लगभग निष्क्रिय पारिसकेका छौं र मोबाइल एपहरू पनि क्रमशः बन्द हुँदै छन् ।’

सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि नेपालमा भीपीएन चलाएर र डीएनएस सेटिङ परिवर्तन गरेर ती प्लाटफर्महरूमा पहुँच बनाउने क्रम बढेको छ । सरकारको कदमपछि प्रयोगकर्ताहरूले वैकल्पिक बाटो खोजिरहेका छन् । 

कान्तिपुर

Link copied successfully