वर्ष २०२४ : गुगलमा बढी के खोजियो ?

सर्च इन्जिन गुगलमा यस वर्ष खेलकुद, मनोरञ्जन, राजनीति, खाना, आइफोन १६ सँगै डोनाल्ड ट्रम्प, बेलायती युवराज्ञी क्याथरिन र गायक लियाम पेनका बारेमा बढी खोजी भयो

पुस २, २०८१

सजना बराल

Year 2024: What is searched more on Google?

काठमाडौँ — गुगलमा सामान्यतया तपाईं के खोज्नुहुन्छ ? विश्वभरका गुगल प्रयोगकर्ताले भने सन् २०२४ मा ‘कोपा अमेरिका’ फुटबलदेखि डोनाल्ड ट्रम्प, आइफोन १६, अधिक ताप, ओलम्पिक चकलेट मफिन्स, माइक टाइसन, हाउस अफ ड्रागन, पवन कल्याण, फिलिपिन्सको राजधानी मनिलामा रहेको रिजाल पार्क, भाइरल क्युकम्बर सलादजस्ता विषयमा सबैभन्दा धेरै ‘गुगल सर्च’ गरेका थिए ।

भारतमा सबैभन्दा बढी सर्च गरिएका सेलेब्रिटीमा कुस्तीबाज तथा भारतीय कंग्रेसकी नेता विनेश फोगटले सबैभन्दा उच्च स्थान पाएकी छन् । व्यापारी मुकेश अम्बानीकी नवविवाहित बुहारी राधिका मर्चेन्टबारे पनि भारतीयले निकै चासो राखेको देखिन्छ । 

च्याटजीपीटी, जेमिनाई, बिङजस्ता अनेक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट र कन्टेन्ट जेनरेट गर्ने टुल्सको भीडमा गुगल सर्चको प्रयोग घटेको छैन । गुगलले हालै आफ्नो वार्षिक ‘इयर इन सर्च’ अर्थात् सन् २०२४ भर गुगलमा प्रमुख खोजी भएका विषयहरूबारे विस्तृत रिपोर्ट सार्वजनिक गरेको छ । सरसर्ती हेर्दा, यो वर्ष विश्वभरका प्रयोगकर्ताले सधैंझैं अनौठा जिज्ञासा, मनोरञ्जन र नयाँ ज्ञानको खोजी गर्न गुगल प्रयोग गरेको देखिन्छ । गुगल सर्चको यस नतिजाले उनीहरूको खास रुचि केमा छ भन्ने पनि संकेत गर्छ । 

यस वर्ष खेलकुद, मनोरञ्जन, राजनीति, खाना, प्रविधिसँगै भाइरल क्षण र सामग्रीले गुगल प्रयोगकर्ताहरूको ध्यान उल्लेख्य रूपमा खिचेको देखिन्छ । समाचारहरूको भीडमा खेलकुद र द्वन्द्वसम्बन्धी विषय यस वर्ष प्रमुख आकर्षणका रूपमा खोजी गरिए । खेलकुदमा कोपा अमेरिका र यूएफा युरोपियन च्याम्पियन्स लिग विश्वव्यापी रूपमा सबैभन्दा धेरै खोजिएका विषय बने । आईसीसी टी–ट्वान्टी विश्वकप र भारतविरुद्ध इङ्ल्यान्ड क्रिकेट सिरिज पनि बढी खोजिएका विषयमा रहे । सबैभन्दा बढी खोजिएका १० वटा विषयको सूचीमा ६ वटा खेलकुदसँग सम्बन्धित छन् । 

सन् २०२४ मा खानेकुरासम्बन्धी विषयहरू पनि प्रयोगकर्ताले धेरै खोजेको भेटियो । नर्वेजियन पौडीबाज हेनरिक क्रिस्टियान्सेनको चर्चित चकलेट मफिनले विश्वभरिका मानिसलाई लोभ्याएको देखियो । धेरैले यस मिठाईलाई घरमै बनाउन खोजे । भारतका परम्परागत बिरयानी र समोसाजस्ता परिकारहरू सधैंझैं बढी खोजिए भने किटो डाइट, शाकाहारी खानेकुरा, पास्ता, स्मुदी र विभिन्न पाउरोटीसम्बन्धी विषय बढी चासोमा रहेको पाइयो । घरैमा गर्न मिल्ने व्यायाम र योगसम्बन्धी विभिन्न विषयमा पनि धेरैको चासो रह्यो । विश्वव्यापी रूपमा कनेक्सन्स, पाल वर्ल्ड, इन्फाइनाइट क्राफ्ट, काउन्टर स्ट्राइक, माइनक्राफ्टजस्ता गेमहरूबारे गुगलमा उल्लेख्य खोजी भयो भने भारतलगायत आसपास क्षेत्रमा पब्जी, फ्रिफायर, कल अफ ड्युटी, लुँडोजस्ता गेमहरू पनि गुगल खोजीको विषय बने ।

सांगीतिक समूह ‘वान डिरेक्सन’ का गायक लियाम पेनको निधन, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती युवराज्ञी क्याथरिन एलिजावेथ मिडलटनसँगै आइफोन १६ पनि गुगलमा बढी खोजिएका विषयवस्तु बने । प्रशंसकहरूले भारत र बंगलादेशबीचको क्रिकेट शृंखला र ओलम्पिक खेलहरूबारे पनि मनग्गे खोजी गरेका थिए । ठूलो जनसंख्या र गुगल प्रयोगकर्ता रहेको दक्षिण एसिया र विशेष गरी भारतमा क्रिकेटसँग सम्बन्धित विषयको धेरै चासो रहने भएकाले क्रिकेटका विषयहरू बढी खोजी भएको देखियो ।

मनोरञ्जन क्षेत्रमा डिज्नी र पिक्सरको ‘इनसाइड आउट २’ फिल्मबारे विश्वभरका मानिसको चासो रहेको गुगल सर्चको तथ्यांकले प्रस्तुत गरेको छ । पहिलो भागको सफलतापछि यस फिल्मको दोस्रो भागलाई लिएर फ्यानहरू निकै उत्साहित थिए । संगीत क्षेत्रमा केन्ड्रिक लमारको ‘नट लाइक अस’ ले वर्षको सबैभन्दा धेरै खोजिएको गीतका रूपमा स्थान बनाएको छ । मनोरञ्जन क्षेत्रमा खोजिएका अन्य विषयमा गायिका टेलर स्विफ्टको टुर, ‘ओप्पनहाइमर’ र ‘बार्बी’ सिनेमा, ‘द लास्ट अफ अस’ र ‘बेबी रेइन्ड’ जस्ता नेटफ्लिक्सका सिरिज छन् । ओस्कार, मेटगाला र ग्रामीजस्ता मुख्य हलिउड इभेन्टबारे पनि गुगलमा प्रशस्त सर्च गरिएको पाइयो । 

बढी खोजिएका कलाकारमा केट विलियम्सदेखि भारतको आन्ध्र प्रदेशका उपमुख्यमन्त्रीसमेत रहेका तेलगु स्टार पवन कल्याण, र्‍यापर सन डीडी, गायक केन्ड्रिक लमार, जोडी फोस्टर, ग्लेन पवेल, युसरलगायत छन् । कुस्तीबाज विनेश फोगटसँगै भारतमा बिहारका मुख्यमन्त्री नितिश कुमार, भाजपा नेता चिराग पासवान, क्रिकेटरहरू हार्दिक पान्ड्या, शशांक सिंह र रवीन्द्र जडेजा, ब्याडमिन्टन खेलाडी लक्ष्य सेन, व्यापारी मुकेश अम्बानीकी नवविवाहित बुहारी राधिका मर्चेन्ट र मोडल पुनम पाण्डेसमेत अत्यधिक खोजीको सूचीमा रहेको देखिन्छ । त्यस्तै, भारतमा ‘सर्भिकल क्यान्सर’, ‘अके’, ‘अल आइज अन रफाह’, ‘तवाइफ’ जस्ता शब्दको अर्थ सबैभन्दा धेरै खोजी गरिएका थिए । 

विश्वव्यापी रूपमा राजनीतिसँगै एआई, अन्तरिक्ष, जलवायु परिवर्तन, कोभिड–१९, नोबेल पुरस्कार विजेताहरू, युक्रेन र मध्यपूर्वको द्वन्द्व र प्रविधि क्षेत्रको रोजगारी कटौती एवं अर्थतन्त्रका समस्याका विषयमा प्रशस्तै गुगल सर्च गरेको देखिन्छ । प्रयोगकर्ताहरूको चासोमा अमेरिकी चुनाव सबैभन्दा धेरै खोजिएको पाइयो । समाचार विधाअन्तर्गत अधिक ताप, मिल्टन आँधी, जापानको समुद्री आँधी (टाइफुन), इरान रफाह, क्राउडस्ट्राइक, ट्रम्पमाथिको आक्रमण, फिल्म ‘द मेनेन्डेज ब्रदर्स’ र मंकीपक्सबारे धेरै खोजी भएको थियो । 

प्रविधिको क्षेत्रमा आइफोन १६, गुगल लेन्स र सर्कल टु सर्चजस्ता नयाँ प्रविधि र सुविधाहरूतिर प्रयोगकर्ता आकर्षित भएका देखिए । सन् २०२४ वर्षभरि एआईमा आधारित च्याटबटबारे पनि उल्लेख्य रूपमा खोजी भयो । फाइभजी प्रविधि, विद्युतीय सवारी, भर्चुअल रियालिटी, ब्लकचेन, क्वान्टम कम्प्युटिङसँगै घरायसी सुविधाका प्रविधिहरू खोजिए । प्रयोगकर्ताले आइफोनसँगै सामसङ ग्यालेक्सी, गुगल पिक्सेल, प्लेस्टेसन, एप्पल वाच र टेस्लाबारे गुगलमा जानकारी खोजेका थिए । 

गएका केही वर्षझैं सन् २०२४ मा पप संस्कृति र भाइरल घटनाहरूले सबैलाई मनोरञ्जन दिएको पाइयो । ‘डिम्योर’ को अर्थ बुझाउने एउटा भिडियो इन्टरनेटमा निकै चर्चित बन्यो र यसले धेरैलाई शब्दको अर्थ खोज्न प्रेरित गर्‍यो । त्यसैगरी ‘मब वाइफ एस्थेटिक’ जस्तो फेसन ट्रेन्ड अमेरिकामा लोकप्रिय बन्यो । टेलर स्विफ्टको एराज टुरजस्ता कार्यक्रमसँगै अमेरिका र विश्वभरका प्यालेस्टाइन समर्थित प्रदर्शनहरू भाइरल बनेर खोजी भए । ओलम्पिक, एआईबाट बनेका कन्टेन्ट, विभिन्न हलिउड र बलिउडका चलचित्र र तीबाट प्रभावित विषय पनि भाइरल कन्टेन्टका रूपमा खोजी भए । गुगल खोजीमा भाइरल विषय र तीसँग सम्बन्धित व्यक्तिबारे उल्लेख्य खोजी भएको देखिन्छ ।

गुगलले भारत, हङकङ, अस्ट्रेलिया, पाकिस्तानलगायत देशको गुगल सर्च ट्रेन्डबारे छुट्टाछुट्टै रूपमा विवरण राखे पनि नेपालबारे समावेश गरेको छैन । विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार नेपालबाट सन् २०२४ मा खेलाडी सन्दीप लामिछाने, सगरमाथा, पर्यटन, चाडपर्व र काठमाडौंका बारेमा धेरै गुगल सर्च गरिएका विषय थिए ।

वर्ष २०२४ 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully