उपल्लो डोल्पामा घोडाबाटै सेनाको सुरक्षा गस्ती

मंसिरयता परेको हिउँ जमेर हिँडेर गन्तव्यमा पुग्न समस्या भएपछि सेनाले स्थानीयको सहयोगमा घोडा प्रयोग गरेरै विकट गाउँबस्तीको गस्ती सुरु गरेको हो ।

फाल्गुन १०, २०८२

रामचन्द्र न्यौपाने

Army security patrol on horseback in Upper Dolpa

डोल्पा — हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा नेपाली सेनाले घोडा प्रयोग गरेर सुरक्षा गस्ती सुरु गरेको छ ।

मंसिरयता परेको हिउँ जमेर हिँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्न समस्या भएपछि सेनाले स्थानीयको सहयोगमा घोडा प्रयोग गरेरै भए पनि विकट गाउँबस्तीको गस्ती सुरु गरेको हो ।

अहिले उपल्लो डोल्पामा पर्ने धो,कागकोट र सुम्दुवामा सेनाले आफ्नो बेस खडा गरेर निर्वाचन लक्षित सुरक्षा गस्ती गरिरहेको छ ।

Army security patrol on horseback in Upper Dolpa

उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्व, छार्काताङ्सोङ् र शे-फोक्सुण्डो गाउँपालिकामा २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष रुपमा सम्पन्न गर्न सेनाले घोडा प्रयोग गरेर गस्ती सुरु गरेको संग्राम शार्दुल गुल्म सुलिगार्डका गुल्मपति (सेनानी) हरिश शाहीले जानकारी दिए ।

जिल्लाका आठ वटै पालिकामा सैनिक बेस खडा गरेर सेनाले पेट्रोलिङ गरिरहेको पनि सेनानी शाहीले बताए ।

जिल्लाका आठ ठाउँमा सेनाको निर्वाचन लक्षित सुरक्षा बेस क्याम्प खडा गरिएको छ ।

डोल्पामा ६८ मतदान केन्द्र स्थायी र २ अस्थायी मतदान केन्द्र तोकिएको छ । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १ सय ८७ र पुरुष मतदाता ११ हजार ९ सय २८ रहेका छन् ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully