डिजिटल दुर्व्यवहार भोग्दै महिला उम्मेदवार

महिला अधिकारकर्मी सन्जोग ठकुरी भन्छन्- समाजलाई विचार राख्ने, नीति निर्माण र संगठनात्मक छलफलमा सक्रिय हुने महिला मन पर्दैनन् । पुरुषप्रधान सोच भएका समूहलाई विचारशील र प्रश्न गर्ने महिला स्वीकार्य हुँदैन ।

फाल्गुन १०, २०८२

प्रकृति दाहाल

Female candidate facing digital abuse

What you should know

काठमाडौँ — ९ फागुन साँझ ८ः०९ मा रिमा विश्वकर्माले सामाजिक सञ्जालमा एउटा फोटो राखिन् । फोटोको क्याप्सन थियो ‘दिनभरिको थकान तर हिम्मत अझै थाकेको छैन’ । उनको यो फोटो र स्टाटसमा छिनभरमै लाइक र कमेन्टले भरियो । यो फोटोमा सकारात्मक नकारात्तक दुवै कमेन्ट थिए ।

जुम्लाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने एक मात्र महिला उम्मेदवार हुन् बिनिता कठायत । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिस्पर्धामा छन् । गत २१ माघमा पत्रकार सम्मेलन गरी ‘चुनावी वाचापत्र’ सार्वजनिक गरेयता उनीमाथि सामाजिक सञ्जालमा निरन्तर आक्रमण भइरहेको छ । सामाजिक सञ्जालहरूमा उनीप्रति लक्षित गर्दै आइरहेका गाली, बेइज्जती र घृणास्पद अभिव्यक्ति व्यहोरिरहेकी छन् । राजनीतिमा हतोत्साहित गर्ने उद्देश्यले गरिएका ‘तिमी राजनीतिमा काम छैन, अब बिहे गर,’ ‘दुःख नमान दिदी, खासमा तिम्रो केही काम छैन,’ ‘बिहे नगरी बच्चा कहिले जन्माउने हो,’ जस्ता व्यक्तिगत र अपमानजनक टिप्पणीहरू गरिएका छन् । महिला उम्मेदवारलाई विचार, एजेन्डा र राजनीतिक दृष्टिकोणका आधारमा मूल्यांकन गर्नुको सट्टा शरीर, पहिरन, वैवाहिक अवस्था र व्यक्तिगत जीवनलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको उनको भनाइ छ । 

जुम्ला निर्वाचन क्षेत्रमा उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाही पनि उम्मेदवार छन् । पत्रकार सम्मेलनमा राप्रपाका शाहीले बालेन शाह र रवि लामिछानेको नाम प्रयोग गरेर चुनाव जित्न खोजेको टिप्पणी गरेपछि गालीको वर्षा भएको उनले बताइन् । सांसद भइसकेकी कठायत अहिले अश्लील, अपमानजनक र धम्कीपूर्ण सन्देशहरूको सामना गरिरहेकी छन् । उनले भनिन्, ‘जुम्लाजस्तो ठाउँमा पुरुषलाई गलत गरेको छ... भनेर बोल्नुको परिणाम मैले भोग्नुपर्‍यो,’ उनले भनिन् । 

महिलालाई कुन स्तरसम्म गिराइदो रहेछ भन्ने प्रत्यक्ष महसुस गरेको उनले बताइन् । ‘तर, यस्ता कमेन्ट र गालीले मलाई झन् मजबुत बनाएको छ,’ उनले भनिन् । उनले सामाजिक सञ्जालमा मात्र होइन मोबाइल म्यासेजमार्फत पनि घृणास्पद म्यासेज आइरहेको बताइन् । उनले भनिन्, ‘तलाई रेप गर्न केटा पठाइदिन्छु, भन्नेसम्मका सन्देश आएका छन् । सबै कमेन्ट र म्यासेजको स्क्रिनसट सुरक्षित राखेकी छु, चुनावपछि कानुनी कारबाहीको प्रक्रियामा लाग्छु ।’ उनका अनुसार हालसम्म आएका अधिकांश गालीगलौज जुम्लाबाहिरका व्यक्तिहरूले ‘फेक आइडी’ बनाएर गरेका हुन् । जुम्लाबाहिरका मान्छेहरू भएकाले यसले केही फरक पर्दैन भनेर आफू निर्वाचनमै केन्द्रित भएको उनले बताइन् । 

९ फागुन साँझ ८ः०९ मा रिमा विश्वकर्माले सामाजिक सञ्जालमा एउटा फोटो राखिन् । फोटोको क्याप्सन थियो ‘दिनभरिको थकान तर हिम्मत अझै थाकेको छैन’ । उनको यो फोटो र स्टाटसमा छिनभरमै लाइक र कमेन्टले भरियो । यो फोटोमा सकारात्मक  र नकारात्मक दुवै कमेन्ट थिए । केहि त व्यक्तिगत लाञ्छना लाग्ने कमेन्ट पनि आएका छन् । ‘डिल्लीबजार जाने कि नक्खु जाने तयारी गर्दै गर्नु’ ‘पापको पिण्ड फुट्नेवाला छ’ ‘चटकेका चटक धेरै’ ‘संसदमा तिम्रो काम छैन’ ‘तिमी पाजीको के नै काम छ र’ ‘अवसरवादी’ जस्ता कमेन्टहरू बर्सिए । 

गर्भवती रञ्जु दर्शना यतिबेला चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर १ बाट उनी प्रतिस्पर्धामा छन् । सुरुवाल र टिसर्ट लगाएर मतदाताबीच बोलेको उनको भडियोमाथि थुप्र्रै अश्लील कमेन्टहरू आइरहेका छन् । उनले लगाएको लुगामाथि कमेन्ट गरिरहेका छन् । ‘सुरुवालको गति हेर्नू त लुगा सम्हाल्न सकेको छैन, अलच्छिना लाको छ छि’, ‘यसलाई काम गर्नु पर्‍यो रे, रिक्सा किनिदेउ न’ भनेर पनि लेखेका छन् । कमेन्टहरू यतिमै सिमित छैन । उनको पेटमाथि पनि कमेन्ट गरिएको छ । ‘झर्ला के अलि बिस्तारै बोल, कुर्ता सुरुवाल लगाउनुस् दिदी झोला बिसाउ देशलाई भार भयो, जस्ता कमेन्ट छन् ।’ 

गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा छन् निशा अधिकारी । ब्याट्री चिन्ह लिएर चुनावी अभियाननमा हिँडेकी उनले अश्लील कमेन्टहरू मात्रै होइन थुप्रै घृणास्पद अभिव्यक्तिको पनि सामाना गरिरहेकी छन् । ‘तिम्रा लागि राजनीति काम छैन,’ जस्ता अभिव्यक्ति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पोखिरहेका छन् । उनीमाथिका कमेन्टहरू व्यक्तिगतदेखि राजनीतिक तहसम्मका छन् । एकजनाले लेखेका छन्, ‘बेइज्यत यार यस्ताले राजनीति गर्ने रे आलु जस्तो, फिल्ममा एक्टिङ गरेजस्तो हो र राजनीति गर्नलाई, नलेज, भिजन चाहिन्छ । फ्लप फिल्ममा काम गरे जस्तो हुँदैन ननसेन्स ।’ चुनावी अभियानकै एउटा भिडियोमा अर्काले कमेन्ट गरेको छन्, ‘काहिँ नभएको जात्रा यता छ ।’ कमेन्ट उनको शरीर र पहिरनमा मात्रै सिमित छैन, अभिव्यक्तिहरूमा पनि अश्लील कमेन्टहरू भएका छन् । उनको सम्बन्धलाई लिएर पनि लेखेका छन्–एउटा श्रीमानसँग मिलेर बस्नु नसक्नी मान्छेको कुरा कत्रो ।

निर्वाचन आचारसंहिता–२०८२ को परिच्छेद २ को दफा ४ को (ञ)मा ‘सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने उल्लेख छ । साथै, दफा ४ कै (ठ)मा ‘सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पीच) जस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने’ भनिएको छ । तर पनि महिलामाथि हुने ‘हेट स्पिच’हरू रोकिएका छैनन् । उनीहरूको व्यक्तिगत राजनीतिक टिकाटिप्पणीहरू सामाजिक सञ्जालमा अश्लिल तरिकाले छरिएका छन् । 

अधिकारकर्मी भन्छन्– महिलाको क्षमता र विचार मन नपराउनेहरूबाट भद्दा मजाक

महिला अधिकारकर्मी सन्जोग ठकुरीले समाजमा महिलालाई अझै पनि साजसज्जा र आकर्षणको माध्यमका रूपमा हेर्ने पितृसत्तात्मक सोच हाबी रहेको बताए । उनका अनुसार सार्वजनिक कार्यक्रम, स्टेज तथा रिसेप्सनमा महिलालाई सजाउने वस्तुका रुपमा राखिने प्रवृत्ति कायमै भएको र त्यसबाहिर निस्कदा महिलालाई स्वीकार्न नसक्ने प्रवृत्तिको असर महिला उम्मेदवारमा परेको हो । 

‘समाजलाई विचार राख्ने, नीति निर्माण र संगठनात्मक छलफलमा सक्रिय हुने महिला मन पर्दैनन् । पुरुषप्रधान सोच भएका समूहलाई विचारशील र प्रश्न गर्ने महिला स्वीकार्य हुँदैन,’ उनले भने, ‘महिलाको क्षमता र विचार मन नपराउनेहरूले भद्दा र अश्लील टिप्पणी गर्छन्, जुन प्रत्यक्ष रूपमा लैंगिक हिंसा र पितृसत्तात्मक सोचको उपज हो ।’

उनले महिलाहरू शिक्षा, पेशा र सार्वजनिक जीवनमा सशक्त भइसके पनि समाज भने अझै उनीहरूसँग कसरी सहकार्य गर्ने भन्नेमा पछाडि नै रहेको बताए । विचार, क्षमता र नेतृत्व प्रस्तुत गर्न थालेपछि समाजले महिलालाई सहज रूपमा स्वीकार गर्न नसकिरहेको अवस्था अहिले सामाजिक सञ्जालमा देखिएको उनको भनाइ छ । 

प्रतिनिधिसभा निर्वाचन २०८२

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully