सखियामा महभारतका कथा समावेश गरिन्छ । कृष्णलीलादेखि कंशको मृत्युसम्मका गीत गाइन्छ ।
काठमाडौँ — थारु समुदायका प्रायः महिला परम्परागत पहिरनमा सजिएका छन् । कसैले अन्य लुगा लगाएका छन् । पुरुषहरु बसेर मादल बजाइरहेका छन् ।
समुदायको मौलिक पहिरनमा सजिएका महिला मादलकै तालमा ताल मिलाउँदै छन् । कञ्चनपुरको बेदकोट नगरपालिका-९ लालपुर गाउँमा दसैं नजिकिएसँगै सखियाको रौनक बढेको छ ।
अगाडि पुरुषहरु मादल बजाउँछन् । पछाडि महिला मिजरा बजाउदै त्यही तालमा नाच्छन् । दसैंका बेला थारु बस्ती सखिया नृत्यले गुञ्जिएका हुन्छन् । दिनभरि धान भित्र्याउन व्यस्त भए पनि साँझपख सबै जना बरघरको घरमा जम्मा भएर सखिया नृत्यमा रमाउँछन् । ‘यो सतियुगदेखिको परम्परा हो, हाम्रो पहिचान पनि हो,’ लालपुर गाउँका बरघर धीरेन्द्र डगौंराले भने, ‘सखीसखी (साथी साथी) हरु मिलेर नाचिने भएकाले यसलाई सखिया भन्ने गरिएको हो ।’
उनका अनुसार सखिया नृत्यका लागि गाउँका सबै घरबाट कम्तीमा दुई जना उपस्थित हुनुपर्छ । सहभागी नहुनेलाई जरिवाना वा अन्य कारबाही गरिन्छ । युवायुवती मादल बजाउने र नाच्ने गर्छन् भने वृद्धवृद्धा र बालबालिका हेरेर समाउँछन् ।
लालपुर गाउँ बेदकोट नगरपालिका-७ र ९ मा पर्छ । यहाँ ४६ परिवार छन् । सखिया नाच सुरु भएदेखि नसकिएसम्म सबै घरबाट नियमित रुपमा दुई जना अनिवार्य रुपमा सहभागी हुनुपर्छ । सबैजना साँझपख खाना खाएर ८ बजेसम्म बरघरको घरमा जम्मा हुन्छन् । त्यसपछि एक/डेढ घण्टा नाच गरेर घर फर्किन्छन् ।
‘पहिले पहिले त एक महिनासम्म सखिया नृत्य हुन्थ्यो,’ लालपुरकी सिता डगौंराले भनिन्, ‘अहिले त्यो घटेर नवरात्रिमै सीमित भएको छ ।’ उनका अनुसार अहिले मानिस धेरै व्यस्त भएका छन् । यसप्रति चासो पनि घट्दै गएको छ । त्यसकारण अहिले घटस्थापनादेखि दसैंसम्म सखिया नृत्य गरिन्छ । अन्य दिन बरघरमै नाच देखाए पनि नवमी र दसैंका दिन भने गाउँका सबै घरमा पुग्ने गरेको डगौंरा बताउँछिन् ।
सखियामा महभारतका कथा समावेश गरिन्छ । कृष्णलीलादेखि कंशको मृत्युसम्मका गीत गाइन्छ । सुरुका दिन गाउँटोलका सबै देवीदेउतालाई गीतबाटै बोलाइन्छ । त्यसपछि कृष्णको लीला गाइन्छ । ‘पहिलेजस्तो गाउन सक्ने पनि अहिले कमै भेटिन्छन्,’ डगौंरा भन्छन्, ‘गाउँमा एक/दुई जना मात्रै गाउन सक्ने पाइन्छन् ।’
सुरुमा गीत गाउनेलाई मोरिन्या भनिन्छ । त्यसपछि गाउनेलाई जेठगोहिया र अन्तिममा पछगोहिया भनिन्छ । मादल बजाउनेलाई मदरिया । मोरिन्याले मादलकै तालमा गीत गाउँछन् भने अरुले मिजरा बजाउँदै त्यसलाई पछ्याउछन् । ‘घटस्थापनादेखि बरघरकै घरमा खेल्छौं, नवमी र दसैंका दिन भने गाउँभरिका सबैका घरमा पुग्छौं,’ लालपुरकै मनिषा डगौंराले भनिन्, ‘सबैका घरमा पुग्न नसके र महाभारतको कथा पूरा नभए दसैंपछि पनि सखिया नाचिन्छ ।’ उनका अनुसार सखिया नृत्यमा सुरुमा गीतबाटै दानवदेखि देवीदेउतालाई बोलाइन्छ र अन्तिममा बिदाइ गरिन्छ । बिदाइ गर्न नसके दसैंपछिसम्म पनि यो चलिरहन्छ ।
रातिको समयमा मादलको तालसँगै अंगिया र घगरिया लगाएर नृत्य गरिरहेका महिलाको दृश्य निकै आकर्षक देखिन्छ । यो नृत्य हेर्न अन्य समुदायका स्थानीयसमेत पुग्ने गरेका छन् । हरेक गाउँमा हुने भएकाले गाउँभरि मादल घन्किरहेका हुन्छन् । यसले चाडपर्वको माहोल अझै उल्लासमय बनाउँछ ।
‘सखिया नृत्य सुरु भएपछि मात्रै दसैं सुरु भएको अभास हुन्छ,’ लालपुरकी निशा डगौंराले भनिन्, ‘पहिले पहिले हाम्रा पुर्खा एक महिनासम्म नाच्थे, अहिले हामी ८/१० दिनमै खुम्चिएका छौं ।’ उनका अनुसार विगतमा थारू समुदायले भदौमा मनाउने हरेली पूजाका दिनदेखि सखिया नृत्यु सुरु हुन्थ्यो । त्यो दसैंका दिनसम्मै चल्थ्यो । एक महिनासम्म नृत्य गरेर सबै गाथा पूरा हुन्थ्यो । तर अहिले १० दिनमै सक्नुपर्ने बाध्यता रहेको छ ।
थारु समुदायले नाच्ने विभिन्न नाचमध्ये सखिया प्रमुख र आकर्षक मानिन्छ । समूहमा नाचिने भएकाले पनि यसको महत्व अझ बढी रहेको । यसले समुदायमा आपसी सहयोग र भाइचाराको सम्बन्ध समेत विकास गर्ने बडघर डगौंरा बताउँछन् । ‘जसरी कुनै महत्वपूर्ण कामका लागि सबै एकजुट हुन्छन्, त्यसैगरी सखिया नृत्यका लागि पनि सबै एकजुट हुन्छन्,’ उनले भने, ‘यो परम्परासँगै समुदायलाई एकतामा बाध्ने सुत्र पनि हो ।’
