प्रदेशसभामा जो दोहोरिए

मंसिर २४, २०७९

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकालमा सांसद रहेका ५३ मध्ये चार सांसद दोहोरिएका छन् । निवर्तमान भएका १३ जनाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रका दुई जना र एकीकृत समाजवादीका दुई सांसद दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका छन् ।

उम्मेदवारी दिएकामध्ये कांग्रेसका दुई, एमालेका तीन, माओवादी केन्द्रका एक, एकीकृत समाजवादीका दुई र पहिलो कार्यकालमा एमालेबाट विजयी तथा अहिले नागरिक उन्मुक्तिबाट उम्मेदवार भएका एकसहित नौ जनाको प्रदेशसभामा दोहोरिने प्रयास सफल हुन सकेन ।

हाल प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रहेका माओवादी केन्द्रका मानबहादुर धामी दार्चुला (२) बाट र यसअघि सचेतक रहेका अछाम निर्वाचन क्षेत्र २ (२) बाट अक्कल रावल पुनः निर्वाचित भएका हुन् । धामीले एमालेका रामदत्त जोशीलाई पराजित गरे । रावलले एमाले उम्मेदवार भीमबहादुर बिष्टलाई पराजित गरेका हुन् । 

दोहोरिने अर्का दुई उम्मेदवार एकीकृत समाजवादीबाट हालका बहालवाला मन्त्री छन् । भौतिक पूर्वाधार विकासमन्त्री रहेका एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी कैलाली ४ (१) र आर्थिक मामिला मन्त्री रहेका प्रकाशबहादुर रावल कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट पुनः निर्वाचित भएका हुन् । सोडारीले एमालेका भीमबहादुर देउवा र रावलले राप्रपाका धर्मराज जोशीलाई पराजित गरेका हुन् ।

पहिलो कार्यकालमा सांसद रहेका आफ्नो पार्टीका १२ जना कांग्रेसका सांसदमध्ये दोस्रो कार्यकालका लागि पनि उम्मेदवार बनाएका दुई जना भने पराजित भए । कांग्रेस संसदीय दलको नेता तथा वहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र बहालवाला सामाजिक विकास मन्त्री गोविन्द बोहरा भने पराजित भए । उनीहरू दुवै जनालाई कांग्रेसभित्र मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । 

कैलाली निर्वाचन क्षेत्र नम्बर १ (२) बाट गठबन्धन दलका साझा उम्मेदवार रहेका मन्त्री रावल नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीसँग पराजित भएका हुन् । डडेल्धुरा (२) मा गठबन्धनबाट उम्मेदवार बनेका मन्त्री बोहरा स्वतन्त्र उम्मेदवार तारा जोशीसँग पराजित भएका हुन् । 

एमालेले दोहोर्‍याएर उम्मेदवार बनाएका कुनै पनि निवर्तमान सांसदले जित्न सकेनन् । पराजित हुने निवर्तमान सांसदमा एमालेका तीन जनामा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट नेपालु चौधरी माओवादी केन्द्रका रमेश धामीसँग पराजित भए ।

बाजुरा निर्वाचन क्षेत्र नम्बर (१) बाट बलदेव रेग्मी एकीकृत समाजवादीका नरेशकुमार शाहीसंग पराजित भएका हुन् । सत्तारुढ गठबन्धन अन्तर्गत बाजुराको त्यो क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्मा उम्मेदवार भए पनि प्रतिस्पर्धा गरेका शाहीले जित हात पारेका हुन् । पराजित हुने एमालेका अर्का निवर्तमान सांसद बैतडी (२) बाट लीलाधर भट्ट हुन् । उनी कांग्रेसका शिवराज भट्टसँग पराजित भए । 

यस्तै, पराजित हुने निवर्तमान सांसदमा एकीकृत समाजवादीका लालबहादुर खड्का हुन् । उनी कञ्चनपुर क्षेत्र नम्बर २ (२) बाट प्रतिस्पर्धा गरेका थिए । गठबन्धनको साझा उम्मेदवार बन्न नपाए पनि प्रतिस्पर्धामा उत्रेका खड्का कांग्रेसका बहादुरसिंह थापासंग पराजित भए । गठबन्धनको साझा उम्मेदवार भएर पनि एकीकृत समाजवादीका निर्वतमान सांसद अम्मर बहादुर साउद कैलाली क्षेत्र नम्बर ३ (२) बाट नागरिक उन्मुक्तिका खुसी राम डगौरा थारुसंग पराजित भए 

 रावलका विचारमा प्रदेशका योजनाहरू जनसहभागितामूलक हुनुपर्छ । विकास पूर्वाधारका योजनाहरूमा जनसहभागिताले उपलब्धि दिने र स्वरोजगार अभिवृद्धि हुने उनको भनाइ छ । ‘ग्रामीण सडक निर्माणमा डोजरको प्रयोग बन्द गराएर जनसहभागितामा काम गराउँदा स्थानीयले काम पाउँछन् र भारतमा चौकीदारी गर्न जानुपर्दैन,’ उनले भने । 

आमनिर्वाचन २०७९

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully