दलहरूलाई टक्कर दिँदै स्वतन्त्र

‘कांग्रेसको एउटा समूह खुलेर स्वतन्त्र उम्मेदवारका पक्षमा देखिएकोले अहिले नै बैतडीमा के हुन्छ भन्न सकिने अवस्था छैन’

कार्तिक १६, २०७९

डीआर पन्त

धनगढी — सुदूरपश्चिम प्रदेश राजधानी रहेको कैलाली–५ मा कांग्रेस नेतृ आरजु राणा निर्वाचनमा उठ्ने चर्चामा थियो । प्रत्यक्षतर्फ उनको उम्मेदवारी नपर्दा कांग्रेसका अर्का नेता डिल्लीराज पन्तले मौका पाए । नेतृ राणा प्रत्यक्ष चुनावमा नउठे पनि यो क्षेत्र अहिले स्वतन्त्र उम्मेदवार पूर्वमन्त्री पुष्करनाथ ओझाका कारण चर्चामा छ ।

गत निर्वाचनमा नेतृ राणालाई हराउने भूमिका खेलेको आरोपमा ओझालाई कांग्रेसले कारबाही गरेको थियो । ओझा अहिले सत्ता गठबन्धन र एमाले दुवैतर्फका उम्मेदवारका लागि चुनौती बनेका छन् । प्रदेशको एक मात्र उपमहानगर र कैलारी गाउँंपालिकाका दुई वडासहितको यो निर्वाचन क्षेत्रमा स्वतन्त्र, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि कांग्रेस आरजुलाई पराजित गरेका एमाले नारदमुनी राना यस पटक उम्मेदवार छन् । 

सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्र रहेको यो क्षेत्रलाइ सबै दलले प्रतिष्ठाको विषय बनाएका छन् । धनगढी उपमहानगरमा एक लाख बढी मतदाता छन् भने कैलारीका दुई वडामा ५ हजार मत छन् । स्थानीय तह निर्वाचनमा दोब्बर बढी मतले कांग्रेसका नृप वडलाई हराउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमालले नगरप्रमुख जितेका थिए । वडाको मतका आधारमा गठबन्धनका उम्मेदवार पन्त बलिया देखिए पनि जातीय रूपमा मत ध्रुवीकरण भयो भने थारू समुदायबाट एमालेका नारदमुनी रानाले फेरि दोहोर्‍याउन सक्ने अड्कल पनि गरिन थालिएको छ ।

यो क्षेत्रमा थारू समुदायको बसोबास धेरै छ । थारूहरू मतदतामा यस पटक नागरिक उन्मुक्ति पार्टीका नेताहरूको प्रभाव बढी देखिएको छ । नागरिक उन्मुक्तिका लक्ष्मण थारूको उम्मेदवारी खारेज भएपछि कसलाई समर्थन गर्छन् भन्नेमा चुनावी परिणाम पनि त्यस्तै आउने बुझाइ धेरैको छ । ‘उन्मुक्ति पार्टीको भूमिकाले यो क्षेत्रको चुनावी परिणामलाई प्रभावित पार्न सक्छ,’ धनगढीका सामाजिक अगुवा लोकेन्द्र जोशी भन्छन्, ‘उम्मेदवारी खारेज भएपछि उक्त पार्टीले कसलाई सहयोग गर्ने भन्ने निर्णय गरेको छैन ।’ यता गठबन्धनका उम्मेदवार पन्तले पनि कांग्रेसका मत एकलौटी पाउन सक्ने अवस्था छैन ।

आन्तरिक विग्रह र कांग्रेस नेता ओझा नै स्वतन्त्र उम्मेदवार भएपछि कांग्रेसका मतदाता विभाजित छन् । यदि उन्मुक्ति पार्टीले संस्थागत रूपमा स्वतन्त्र उम्मेदवार ओझालाई सहयोग गर्‍यो भने गठबन्धन र एमाले दुवैका उम्मेदवारलाई उनले चुनौती दिन सक्ने अनुमान छ । नागरिक उन्मुक्ति पार्टीका एक जना केन्द्रीय सदस्य कांग्रेस र एमालेलाई आफ्नो दलले सहयोग गर्न सक्ने वातावरण नभएको बताउँछन् । तर उनले स्वतन्त्र उम्मेदवार ओझालाई सहयोग गर्ने निर्णय भइनसकेको दाबी गरे ।

कैलाली–५ का स्वतन्त्र उम्मेदवार ओझा जस्तै बैतडीमा पनि सत्ता गठबन्धन र एमालेका लागि स्वतन्त्र उम्मेदवार केशवबहादुर चन्द चुनौती बनेका छन् । उनी यसअघि पाटन नगरपालिकाका प्रमुख हुन भने ०५४ मा महिला बालबालिका तथा समाज कल्याण सहायक मन्त्री भइसकेका हुन् । कांग्रेसका पुराना नेता चन्दले एमालेका पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारी र गठबन्धनका उम्मेदवार संविधानसभा सदस्य भइसकेका नरेन्द्र कुँवरसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट बैतडीमा माओवादीका उम्मेदवार हुन कुँवर । तीनै जना उम्मेदवार भौगोलिक रूपमा एकै क्षेत्रका हुन् । एमालेका भण्डारी र स्वतन्त्र उम्मेदवार चन्द पाटन नगरपालिकाका हुन् । गठबन्धनका उम्मेदवार कुँवर पुर्चौडी नगरपालिकाका हुन् । भण्डारी र चन्द एकै ठाउँका भएकाले मत बाँडिन सक्ने आकलन बढेको छ । जातीय रूपमा चन्दका पक्षमा मत ध्रुवीकरण भयो भने उनी दलका उम्मेदवारकालागि चुनौती हुन सक्ने अनुमान गरिएको छ । बैतडीमा १ लाख ५० हजार १ सय ५६ मतदाता छन् ।

पछिल्लो स्थानीय तह निर्वाचनमा १० स्थानीय तहमध्ये एमाले र कांग्रेसले ४/४ वटा स्थानीय तह र माओवादीले एउटा नगरपालिका मात्र जितेको थियो । एउटा स्थानीय तह स्वतन्त्र उम्मेदवारले जितेका हुन् । स्थानीय तह निर्वाचनको आधारमा गठबन्धन अगाडि देखिन्छ । तर संघीय निर्वाचनमा भने यहाँ जहिले पनि जातिय र भेगीय आधारमा मत विभाजित हुँदै आएको छ ।

कांग्रेसका मत स्वतन्त्र उम्मेदवार चन्दे ताने बैतडीमा गठबन्धनका लागि चुनाव जित्न कठिन हुने अनुमान नेताहरूले गरेका छन् । पाटनका एक कांग्रेस नेता भन्छन्, ‘स्वतन्त्र उम्मेदवार चन्दले पनि प्रतिस्पर्धा गर्न सक्ने अनुमान गर्न सकिन्छ । अहिलेकै अवस्थामा गठबन्धनका उम्मेदवार जित्न गाह्रो देखिएको छ,’ उनले भने, ‘कांग्रेसको एउटा समूह खुलेर स्वतन्त्रका पक्षमा देखिएका कारण अहिले नै बैतडीमा के हुन्छ भन्न सकिने अवस्था छैन ।’

बैतडीको सलेनाका स्थानीय जयराज जोशी स्वतन्त्र उम्मेदवार चन्द एमाले र गठवन्धनका उम्मेदवारका लागि हार जितको कारण बन्न सक्ने बताउँछन् । तल्लो स्वराड क्षेत्रमा स्वतन्त्र उम्मेदवार चन्दको पकड बलियो देखिएको पनि उनले बताए । जोशीले भने, ‘गत निर्वाचनमा एमालेका भण्डारीले राम्रो मत पाएका हुन् तर उनलाई केही पनि गर्न नसकेको आरोप तल्लो स्वराडवासीको छ ।’ 

सुदूरपश्चिममा दलहरूलाइ टक्कर दिन सक्ने अनुमान गरिएका अर्का स्वतन्त्र उम्मेदवार हुन् डोटीका नरेन्द्र खड्का । डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीका प्रेम आले उम्मेदवार छन् । एमालेले गौरी ओलीलाई उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवार खड्का उद्योग वाणिज्य संघ डोटीका पूर्वअध्यक्ष र लोकप्रिय सामाजिक अभियन्ता पनि हुन् । पहिलेदेखि नै डोटीमा तेले लेकपारि र वारिको नारा लाग्दै आएको छ । बैतडी जस्तै यहाँ पनि जातीय तथा भेगीय रूपमा मतदाता ध्रुवीकरण हुँदै आएका छन् । आले तेलेपारि जोरायल क्षेत्रका र खड्का सदरमुकाम क्षेत्रका हुन् ।

गठबन्धनका आलेसँग कांग्रेसका नेता कार्यकर्ता कसैको पनि राम्रो सम्बन्ध छैन । आलेको अडानका कारण कांग्रेसका प्रदेश अध्यक्ष वीरबहादुर बलायरले डोटीबाट कैलाली झर्नुपरेको छ । आलेले टिकट पाएपछि अधिकांश प्रभावशाली कांग्रेसका नेता कार्यकर्ता तराई झरेका छन् । कांग्रेसभित्रको असन्तुष्ट पक्ष पनि खड्कासँग देखिएका छन् । खड्काले कांग्रेसका परम्परागत मत ल्याउन सके भने डोटीमा पनि गठबन्धनका लागि स्वतन्त्र उम्मेदवार चुनौती बन्न सक्ने देखिएको छ । 

आमनिर्वाचन २०७९

डीआर

Link copied successfully