डिलाशैनीमा स्वतन्त्रको चुनौती

‘जितेकाले आफ्नो नेता र आफन्तका लागि मात्र काम गरे, सहरमा घर बनाए, जनताले गाउँमा पानीसम्म पाएका छैनन्’

वैशाख २२, २०७९

तृप्ति शाही

बैतडी — स्थानीय तहको चुनावका लागि बैतडीका उम्मेदवारहरू पनि चुनावी अभियानमा छन् । जनताको घरदैलोमा गएर उम्मेदवारहरू भोट मागिरहेका छन् । ६ गाउँपालिका र ४ नगरपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लाका दोगडाकेदार, पंञ्चेश्र र डिलाशैनी गाउँपालिकामा सत्तासाझेदार दलहरूको गठबन्धन छ ।

गएको चुनावमा ती तीनवटै पालिकामा एमालेले जितेको थियो । जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा एकीकृत समाजवादी र माओवादीको गठबन्धन छ । अन्य पार्टी एक्लाएक्लै चुनावी मैदानमा छन् । मेलौली र पुरर्चौंडी नगरपालिकामा सबै पार्टीर्ले एक्लाएक्लै उम्मेदवार बनाएका छन् । शिवनाथ गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धन छ । सुर्नया गाउँपालिकामा समाजवादी र माओवादीले गठबन्धन गरेका छन् । सुर्नयामा एमालेले पनि राप्रपासंॅग गठबन्धन गरेको छ । जिल्लाको एक मात्र पालिकामा एमालेले गठबन्धन गरेको हो । पाटन नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन छ । सिगास गाउँपालिकामा सबै दल एक्लाएक्लै चुनावमा गएका छन् ।

दुर्गममा रहेको डिलाशैनी गाउँपालिकाको चुनावी प्रतिस्पर्धाको चर्चा भने जिल्लामा मात्र नभई जिल्लाबाहिर पनि छ । जिल्लाका अधिकांश मानिस डिलाशैनी गाउँपालिकाको चुनावलाई निकै चासो दिएर नियालिरहेका छन् । यसको कारण हुन् डिलाशैनीमा स्वतन्त्रबाट उम्मेदवारी दिएका युवा सन्तोष प्रकाश जोशी । जिल्लाका अन्य ९ वटै पालिकामा प्रमुख राजनीतिक दल एमाले, कांग्रेस , माओवादी , समाजवादीको मात्र प्रतिस्पर्धा छ । तर डिलाशैनीमा भने सबै दलको चुनौती स्वतन्त्र उम्मेदवार जोशी बनेका छन् ।

डिलाशैनीमा सत्तासाझेदार दलहरूले अध्यक्षमा माओवादीका लोकेन्द्र रानालाई उम्मेदवार बनाएको छ । राना गएको स्थानीय तहको चुनावमा पनि अध्यक्षमै पराजित भएका हुन् । उनी पार्टीको प्रदेश कमिटी सदस्य हुन् । डिलाशैनी — १ को बासिन्दा उनी पालिकामै राजनीति गर्दै आइरहेका छन् । एमालेले अक्कलबहादुर रानालाई अघि सारेको छ । उनले गएको स्थानीय तहको चुनावमा वडा नम्बर १ को अध्यक्षमा जितेका थिए । ०७४ को चुनावमा एमालेका उकेन्द्रबहादुर बोहराले जितेको पालिकामा एमालेको बहुमत थियो । कांग्रेस दोस्रो र माओवादी तेस्रो दल बनेको थियो ।

एकै वडावासी लोकेन्द्र र अक्कलले आफ्नो पार्टीले डिलाशैनीको विकास गर्ने भन्दै चुनावी प्रचार गरिरहेका बेला स्वतन्त्र उम्मेदवार जोशीले ५ वर्षसम्म पनि पार्टीले जितेर केही गर्न नसकेको भन्दै आरोप लगाएका छन् । उनले अब पालो स्वतन्त्र र युवाको भन्दै दलहरूको निराशालाई आफूतिर तान्न लागिरहेका छन् । विगतको चुनावी परिणाम हेर्दा यो पालिकामा एमालेले बलियो पकड भएको मानिन्छ । यो पालिकाको चुनावी नतिजा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालको प्रतिष्ठासँग पनि जोडिन्छ ।

यता स्वतन्त्रका उम्मेदवार सन्तोष स्वतन्त्र रूपमा निर्वाचित भएर आफूले पालिकाको विकास गर्ने प्रतिबद्धता बाँड्दै हिँडेका छन् । दलले काम गर्न सक्दैनन् र अब नेतृत्वमा युवाको पालो भन्ने उनको एजेन्डाले चर्चा बटुलेको हो । दललाई नरुचाउने रुष्ट मतदाता उनीतिर लागेका छन् । पालिकाको कार्यालय अहिले एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पालकै घरनजिक पंसेरामा छ । सन्तोषले भने पहिल्यैबाट सुगममा नभई दुर्गममा पालिका कार्यालय स्थापना गरी पूवार्धारहरू निर्माण गर्नुपर्ने माग राख्दै पालिकाका जनप्रतिनिधि र एमालेका नेताहरूसंॅगै विद्रोह गरेका थिए । दुर्गम धामीगाउँमा पालिकाको कार्यालय राख्नुपर्ने उनको आन्दोलनलाई स्थानीयले मन पराएका छन् । यो विषय अदालतसम्म पुगेको छ । अहिले निर्वाचन कार्यालय धामीगाउँमै स्थापना भएको छ । धामीगाउँमा गत वर्ष मात्र सडक पुगेको हो । सन्तोषकै नेतृत्वमा जनश्रमदानबाट त्यहाँ सडक पुगेको हो । 

पार्टीले जितेर जनताले राज्यबाट पाउनुपर्ने सेवासुविधामा पनि विभेद भएकोले पार्टीको विश्वास गर्न नसकिएको वडा नम्बर ७ का बासिन्दा रामसिंह थलाल बताउँछन् । उनले भने, ‘हामीले धेरैपटक दलका उम्मेदवारलाई जितायौं । उनीहरूले आफ्नो नेता र आफन्तका लागि मात्र काम गरे । सहरमा घर बनाए । जनताले गाउँमा पानीसम्म पाएका छैनन् ।’

समृद्ध डिलाशैनी बनाउँछु भनेर चुनाव जितेका दलहरूले जनतालाई दमन गरेर राखेको स्थानीय बताउँछन् । जनप्रतिनिधि आफू समृद्ध भएकाले अब जनताले विश्वास गर्न नसक्ने स्थानीय हिक्मत नाथ बताउँछन् । जोशी विद्यार्थी हुँदैका बखत एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा आवद्ध थिए । उनी राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सचिव एवं सुदूरपश्चिम अध्यक्ष पनि थिए । जनस्तरमा रुचाइएका जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा आकांक्षी थिए ।

एमाले जिल्ला कमिटीेले उनलाई सिफारिस गरेन । गाउँ कमिटी बैठकमा उनको नाम आएपछि माइन्युट पुस्तिका कब्जा गरेर अरूको नाम मात्र सिफारिस गरेर पठाएपछि जोशी एमाले छोडेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । उनी ०६३ सालबाट विद्यार्थी राजनीतिमा सक्रिय छन् । ३ वर्ष जनस्वास्थ्यको अधिकृतको जागिर खाएका उनले राजनीतिकै लागि जागिर पनि छोडेका थिए । डिलाशैनीमा जोशी भर्सेस दलहरू भएकाले यस पटकको चुनाव बैतडीमा निकै चर्चा र रोचक बन्न पुगेको हो ।

स्थानीय तह निर्वाचन २०७९

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully