प्रधानमन्त्री देउवा चितवनमा, सरकारी छाडेर निजी गाडीमा

रासस

चितवन — प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा हिँड्न थालेका छन् । नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् ।

प्रधानमन्त्री देउवा चितवनमा, सरकारी छाडेर निजी गाडीमा

प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नम्बरको ल्यान्डक्रुजर गाडीमा देउवा होटल पुगेका हुन् । श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए । श्रेष्ठले भने, 'यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ ।'

श्रेष्ठका अनुसार देउवा चितवनमा रहँदा पार्टीको व्यवस्थापनमा बस्नेछन् । सभापति देउवा र उनको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै हुन् । पार्टी सभापति देउवा बुधबार विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट चितवन आएका हुन् । प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो । उनले भने, 'निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो ।'

जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा चितवन आएका हुन् । उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बुधबार चितवन आइसकेका छन् । बिहीबार हुने सभालाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल , नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता शेखर कोइराला, कांग्रेस महामन्त्री गगन थापासहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार छिन् । त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् । एमालेबाट भने प्रमुखमा विजय सुवेदी र उपप्रमुखमा एमालेसँग तालमेल गरेको राप्रपाकी हिमला गुरुङ उठेका छन् । त्यस्तै कांग्रेसको असन्तुष्ट समूहबाट जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित : वैशाख २१, २०७९ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?