रित्तिए अक्सिजन सिलिन्डर

जेष्ठ ६, २०७८

मेनुका ढुंगाना

अछाम — अछाम जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको छ । अस्पतालमा नियमित १० संक्रमितलाई अक्सिजन दिँदै आएकोमा सोमबार अक्सिजन पूर्ण रूपमा अभाव भएको जिल्ला अस्पताल अछामकी स्टाफ नर्स तथा सूचना अधिकारी गंगा बुढामगरले बताइन् ।

उनका अनुसार जिल्ला अस्पताल मंगलसेनमा १५ वटा ठूलो र १० साना सिलिन्डर गरी २५ वटा रित्तो सिलिन्डर मात्रै छन् । ‘सानो सिलिन्डरको अक्सिजनले १ घण्टा पनि काम गर्दैन ।

ठूलो सिलिन्डर प्रयोग गरिने भनेको १५ वटा मात्रै हो । १० जनालाई अहिले अक्सिजन दिइरहेका थियौं,’ उनले भनिन्, ‘अहिले अक्सिजन नहुँदा कन्सन्ट्रेटरबाट काम चलाइरहेका छौं । एक संक्रमितलाई अक्सिजन नै दिनु पर्ने भएकाले बयालपाटा अस्पताल पठाएका छौं । अहिले अक्सिजन नहुँदा अवस्था गाह्रो भएको छ ।’

खाली सिलिन्डरमा अक्सिजन भर्न नेपालगन्ज पठाइएको छ । सिलिन्डर भरिएर जिल्ला अस्पताल पुगेपछि मात्रै अब बिरामीले अक्सिजन पाउने छन् । जिल्ला अस्पतालमा अक्सिजन नपाइने अवस्था आएपछि उपचाररत बिरामी पनि डराउन थालेका छन् ।

‘बाँचौंला भनेर अस्पताल आउनुपर्ने यहाँ नै अक्सिजन पाइँदैन । अप्ठ्यारो भइहाल्यो भने हत्तपत्त हेलिकप्टर बोलाएर काठमाडौं लैजाने हैसियत छैन,’ जिल्ला अस्पतालमा भर्ना भएका एक संक्रमितका छोराले भने, ‘स्वास्थ्यकर्मीले गर्ने व्यवहारले मात्रै सञ्चो हुँदैन । गरिबहरूले उपचार नपाएर मर्नुपर्ने अवस्था छ । कसैले पनि यी कुरामा ध्यान दिँदैनन् ।’

बयालपाटामा हाइफ्लो बेड 

अछामकै बयालपाटा अस्पतालमा हाइफ्लो अक्सिजनको ५ वटा बेड सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले बताए । जटिल संक्रमितका लागि उच्च मात्राको अक्सिजनसहितको थप ५ बेड संचालनमा आएको हो । 

अहिले १५ वटा आइसोलेसन बेडबाट संक्रमितको उपचार भइरकेको पाठकको भनाइ छ । ‘शरीरमा अक्सिजनको मात्रा कम भएका कोरोना संक्रमितका लागि हाइफ्लो बेड प्रयोग गरिने छ,’ डाक्टर पाठकले भने, ‘यहाँ आएका बिरामीलाई अक्सिजन अभावको कारण अन्त रेफर गर्नुपर्ने अवस्था अहिले छैन ।’

कोरोना भाइरस

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully