धनकुटा — पाँचवटा पहाडी जिल्लाको कोरोना परीक्षण धनकुटा जिल्ला अस्पतालमा हुने गरेको छ । यसले गर्दा रिपोर्ट आउन ढिला हुने समस्या देखिएको छ ।
धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभाको परीक्षण हुँदै आएकामा अब पाँचथर पनि थपिएको छ । दैनिक एक सयभन्दा बढीको नमुना परीक्षण हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. पूजन विश्वकर्माले बताए ।
त्यसमध्ये अधिकांशको पोजिटिभ नतिजा आउने गरेको छ । सेवा विस्तार र लक्षणसहितका बिरामी थपिने क्रम भएपछि पीसीआरका लागि आवश्यक किट अभाव हुन थालेको उनले बताए । भने, ‘तत्काल अत्यावश्यक किट खरिद गर्न बजेटको जरुरी भइसकेको छ ।’
हालसम्म १२ सयभन्दा बढीको परीक्षण भइसकेको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले बताए । अस्पतालको आन्तरिक स्रोतबाट १५ लाख रुपैयाँ बराबरको टेस्ट किटले १ हजार व्यक्तिको परीक्षण गरिएको जानकारी दिए । सरकारी अस्पतालले निःशुल्क परीक्षण गरिने भएकाले आन्तरिक स्रोतबाट समेत धान्न नसकिने अवस्था रहेको बताए ।
प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट पठाउने भनिए पनि हालसम्म प्राप्त नभएपछि आन्तरिक स्रोतबाट धान्न कठिन भएको छ । स्रोत अभावका कारण परीक्षण कार्य बन्द गर्नुभन्दा पालिकास्तरमा समन्वय गरेर सेवा सुचारु राख्न आवश्यक रहेको जिल्ला स्वास्थ्य प्रमुख तुलसीप्रसाद गुरागाईंको भनाइ छ ।
