सर्लाही — सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का कोरोना संक्रमित ५२ वर्षीय पुरुषको उपचार नपाएर सोमबार मृत्यु भयो । भेन्टिलेटर नपाएपछि उनको छट्पटिएर ज्यान गयो ।
मृतकलाई ‘उच्च ज्वरो’ देखिएपछि आफन्तले वीरगन्ज लगेका थिए । स्वाब परीक्षणमा कोरोना पुष्टि भए पनि अस्पतालले बेड अभाव भन्दै फिर्ता पठाइदियो । गत बुधबार उनी जिल्लाकै हरिवन नगरपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भए । त्यहाँका चिकित्सकले समेत बिरामीको अवस्था गम्भीर रहेकाले सुविधा सम्पन्न अस्पताल जान सुझाए । तर, बिरामीका आफन्तले अन्य कतै बेड पाउन नसकिरहेकाले थप उपचारका लागि लैजान सकेनन् ।
सोमबार बरहथवा नगरपालिका–११ का ४२ वर्षीय पुरुषको पनि भेन्टिलेटरको अभावमा उपचारै नपाएर ज्यान गयो । उच्च ज्वरो र खोकी लागेपछि आफन्तले उनलाई जिल्ला अस्पतालमा भर्ना गराएका थिए । कोरोना संक्रमित ती पुरुषको स्वास्थ्यमा जटिल बनेपछि अस्पतालले रेफर गरिदियो । तर आर्थिक स्थिति कमजोर भएकोले आफन्तले भेन्टिलेटरसहितको अस्पतालमा लान नसक्दा ज्यान गयो ।
यस्तै मंगलबार अन्तिम अवस्थामा जिल्ला अस्पतालमा भर्ना भएकी कविलासी नगरपालिका–४ की ७० वर्षीया महिलाको पनि ज्यान गयो । दमकी बिरामी रहेकी ती महिलालाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । महिलालाई पनि रेफर गर्दा गर्दै ज्यान गयो ।
जिल्लामा कोभिडका संक्रमितका लागि सुविधा सम्पन्न अस्पताल नहुँदा गम्भीर बिरामी बाहिर पठाउने गरिएको छ । सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटरको व्यवस्था छैन । गम्भीर बिरामीलाई वीरगन्ज र जनकपुर पठाउने गरिएको स्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताए । ‘जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटरको छैन, जसले बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘ती उपकरण भए यहीँ उपचार गर्न सकिन्छ ।’
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जीव सिंहले सम्बन्धित निकायमा आईसीयू र भेन्टिलेटरका लागि पहल गरे पनि उपलब्ध हुन नसकेको जानकारी दिए । यता जिल्ला प्रशासन कार्यालयले भने अस्पतालमा आईसीयू र भेन्टिलेटरको व्यवस्थापन भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले सूचना जारी गर्दै अबको केही दिनमा ती उपकरणको व्यवस्था भइसक्ने जनाएका छन् ।
जिल्लामा झन्डै सात सय जना सक्रिय संक्रमित छन् । दुई दर्जनभन्दा बढीको ज्यान गइसकेको छ । सक्रिय संक्रमित अधिकांश होम आइसोलेसनमा बसिरहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
