धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार आइतबार दिउँसोसम्म मृत्यु हुने ३ जना पुरुष कैलालीका हुन्।
मृत्यु हुनेहरुमा कैलालीको धनगढी–२ का ६७ वर्षीय पुरुष, कैलाली धनगढी–६ का ६५ वर्षीय पुरुष र कैलालीकै धनगढी–५ का ४५ वर्षीय पुरुष रहेका श्रेष्ठले बताए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा आइतबार दिउँसोसम्म १ सय ९ जना संक्रमितमध्ये एक जनाको भेन्टिलेटरमा, आईसियूमा १५ जना र अक्सिजनको सपोर्टमा ८९ जना तथा अन्य ५ जनाको उपचार भइरहेको छ । आकस्मिक कक्षमा उपचार गराइरहेका २० पुरुष र ६ महिला समेत गरी अस्पतालमा उपचार गराउने संक्रमितहरुको संख्या १ सय ९ पुगेको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ७ सय ४७ जनाको परीक्षणमा ४ सय ३५ जनामा कोरोना पुष्टि भएको छ ।
