पर्सामा थप ११ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ २, २०७८

भूषण यादव

वीरगन्ज — पर्साका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराका ६ जना, पर्साका ४ जना र एकजना सर्लाहीका हुन् ।९ जनाको नारायणी अस्पतालमा, एक जनाको वीरगन्ज हेल्थ केयर हस्पिटलमा र अर्को एकजनाको नारायणी बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

गत वैशाख ३१ मा नारायणी अस्पतालमा भर्ना भएकी वीरगन्ज महानगरपालिका– १३ राधेमाई निवासी ५० वर्षीय महिलाको आइतबार १ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासले जनाए । ३१ गते नै कोरोना पुष्टि भएकी महिलामा कडा निमोनिया र श्वासप्रश्वासको समस्या रहेको थियो । 

वैशाख १५ मा भर्ना भएका वीरगन्ज– १६ मिथलानगरका ४४ वर्षीय पुरुषको बिहान मृत्यु भएको डा. दासले बताए । वैशाख १६ मा कोरोना पुष्टि भएका ती पुरुषमा कडा निमोनियो देखिएको थियो । बाराको जितपुर सिमरा उपमहानगरपालिका– २ बस्ने ३३ वर्षीय पुरुषको आइतबार १२ बजेर ५० मिनेटमा मृत्यु भएको डा.दासले जनाए । वैशाख २८ मा कोरोना पोजेटिभ भएका उनी वैशाख २९ मा नारायणीमा भर्ना भएका थिए । जीतपुर सिमरा– ९ छातापिपरा निवासी ६० वर्षीय पुरुषको विहान साढे ११ बजे उपचारको क्रममा मृत्यु भएको डा.दासले बताए । वैशाख २४ मा कोरोना संक्रमित पुष्टि भएका ती पुरुष वैशाख २८ मा अस्पताल भर्ना भएका थिए । वैशाख २१ मा नारायणीमा भर्ना भएका सर्लाही फरहतवा– ५ निवासी ४७ वर्षीय महिलाको विहान साढे ५ बजेको समयमा मृत्यु भएको डा.दासले बताए । 

वैशाख २५ मा भर्ना भएकी कलैया उपमहानगरपालिका– २५ सिसहनिया निवासी ३८ वर्षीय महिलाको पनि आइतबार विहान ४ बजेर १० मिनेटमा मृत्यु भएको कोभिड संयोजक डा.दासले बताए । वैशाख ३० मा भर्ना भएका सुवर्ण गाउँपालिका– २ का ६० वर्षीय पुरुषको आइतबार बिहान सवा दुई बजे मृत्यु भएको उनले बताए । वीरगन्ज १० निवासी ६८ वर्षीय महिलाको आइतबार बिहान सवा ४ बजे वीरगन्ज हेल्थ केयर हस्पिटलमा र वीरगन्ज– १ का ६४ वर्षीय पुरुषको नारायणी बयोधा हस्पिटलमा बिहान सवा ३ बजे मृत्यु भएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जनाए । यसैगरि वाराको प्रसौनी– ५ का ४६ वर्षीय पुरुष र निजगढ नगरपालिका– ७ का ४३ वर्षीय पुरुषको शनिबार नारायणीमा मृत्यु भएको डा. दासले बताए ।

कोरोना भाइरस

भूषण

Link copied successfully