सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

जेष्ठ १, २०७८

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकामध्ये पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।

अस्पतालमा १ सय ८ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार शनिबार दिउँसोसम्म  मृत्यु हुनेमा कैलालीका ४ पुरुष र १ महिला र बैतडीका १ पुरुष गरेर ६ जना हुन् ।

मृत्यु हुनेहरुमा कैलालीको बर्दगोरिया–२ का ४० वर्षीय पुरुष, कैलालीको गोदावरी–१० की ५८ वर्षीया महिला, कैलाली गोदावरी –१ का ४१ वर्षीय पुरुष, कैलाली धनगढी– ५ का ५३ वर्षीय पुरुष,  बैतडी दशरथ चन्द –४ का ३६ वर्षीय पुरुष र कैलालीको गोदावरी– १० का ६४ वर्षीय पुरुष  रहेका श्रेष्ठले बताए । 

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा शनिबार दिउँसोसम्म उपचाररत १ सय ८ जना  संक्रमितमध्ये १ जनाको भेन्टिलेटरमा, आईसीयूमा १४ जना र अक्सिजनको सपोर्टमा ९० जना तथा  अन्य ४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १६ जना अस्पतालमा नयाँ संक्रमित भर्ना गरिएको श्रेष्ठले जानकारी दिएका हुन् । 

यसैगरी पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ८ सय ३५ जनाको परीक्षण गरिएको छ । जसमध्ये ५ सय ५५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । 

पोजेटिभ देखिएकाहरुमा धनगढी उप महानगरपालिका क्षेत्रका १ सय ७० पुरुष र १ सय २ महिला गरी २ सय ७२ जना, कैलाली जिल्लाको विभिन्न क्षेत्रका १ सय ७५ पुरुष र ८८  महिला गरी २ सय ६३ जना तथा कैलाली बाहेक अन्य जिल्लाका १६ पुरुष र ४ महिला गरी २० जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

कोरोना खोपकोरोना भाइरस

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully