उद्धार हुनेमा अझै अनिश्चित
दार्चुला — ३६ दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा रहेका आफ्ना नागरिकलाई लिन बझाङ र बैतडीका जनप्रतिनिधि दार्चुला पुगेका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले फोन गरेर आफ्ना नागरिक लैजान गाडी ल्याएर आउनु भनेपछि आफूहरु यहाँ पुगेको बताएका छन् ।
तीन दिनअघि बझाङ जिल्ला बुङ्गल नगरपालिकाका प्रमुख धनबहादुर विष्ट एक जना स्वास्थ्यकर्मी लिएर र दुई दिनअघि बैतडी जिल्ला पुर्चौडी नगरपालिकाका ७ का वडाअध्यक्ष रामबहादुर ऐर, ४ का वडाअध्यक्ष शैलेन्द्र धानुक, स्वयंसेवक दिलबहादुर धानुक र स्वास्थ्यकर्मी नरेन्द्र धानुक दार्चुला पुगेका हुन् । दुई–तीन दिनदेखि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रतिनिधिहरुसित कुरा गर्दै आएपनि उद्धार हुने सम्भावना अझै निश्चित हुन सकेको छैन ।
कार्यपालिका बैठकबाट दार्चुला, बैतडी लगायतका भारतीय सीमा क्षेत्रमा फसेका नगरवासीलाई ल्याउने निर्णय गरे अनुसार आफू दार्चुला आएको नगर प्रमुख विष्टले बताए । एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेका छन् । अहिलेसम्म उनीहरुमा कुनै स्वास्थ्य समस्या नआएको हुनाले स्वच्छ छन् । उनले भने, ‘लकडाउनका कारण सीमावर्ती क्षेत्रमा फसेका नेपाली नागरिकको आरडिटी गराएर तत्काल नेपाल प्रवेश गर्न दिनुपर्छ ।’ उनीहरु एक महिना भारतको क्वारेन्टाइनमा बसेका र नेपालमा आएर पनि १४ दिन क्वारेन्टाइनमा बस्न इच्छुक रहेका छन् । ‘सीमापारि रहेका आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौं । नेपाल सरकारले सीमा नाका खोली, सीमामै स्वास्थ्य चेकजाच गरिदिए पुग्छ,’ उनले भने ।
धारचुलाका क्वारेन्टाइनमा बुङ्गल नगरपालिकाका २ सय ३४ जना छन् । भारतका व्यवस्थित क्वारेन्टाइनमा बसेको एक महिनाभन्दा बढी हुँदा उनीहरुलाई मानसिक समस्या आउने सम्भावना बढेको र गर्मी सुरु भएकोले अन्य रोगबाट संक्रमणको जोखिम बढेको उनको भनाइ छ । दार्चुला प्रशासनको सूचनाका आधारमा तयारी भएर आफ्ना नागरिक घर फर्काउन यहाँ पुगेका हौं,’ बैतडी पुर्चौडी नगरपालिका ४ का वडाध्यक्ष शैलेन्द्र धानुकले भने, ‘माथि (गृह मन्त्रालय) र उता (भारत)को आदेश नआएको भन्दै प्रमुख जिल्ला अधिकारीले भने अनुसार तत्काल उनीहरुको उद्धार हुने अवस्था देखिँदैन ।’
‘भारतमा अलपत्र रहेका नागरिकले दिनहुँ फोन गरेर हाम्रो कहिले उद्धार हुन्छ भनेर रातदिन फोन आउँछ । गाउँमा भएका उनका आफन्तहरुले कार्यालयमा आएर भारतमा रहेका आफन्तको उद्धार गर्न तपाईंहरु के हेरेर बस्नु भएको छ भन्छन्,’ बुङ्गल नगरपालिका प्रमुख विष्टले भने, ‘अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने विषय हाम्रो तहबाट सकिँदैन, प्रशासनको हातमा छ ।’ नागरिकले हामीलाई केही गर्न सकेनाैं भन्ने, नेपाल सरकारले आफ्ना नागरिकका पिडा नबुझेको हुँदा उद्धारमा समस्या देखिएको उनको भनाइ छ । ‘भारतमै पनि पिथौरागढ जिल्लामा कोरोना संक्रमण नदेखिएको हुँदा ग्रीन जोनमा राखेको छ’ महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले भने, ‘अहिलेसम्म उनीहरु स्वस्थ छन् । उनीहरुको स्वास्थ्य जाँच गरेर स्वदेश ल्याउनुपर्छ ।’ उनीहरुको व्यवस्थापनका लागि दुई हप्तादेखि लागिपरेका छौं, नेपाल सरकारले सीमा खोलेर ल्याउनुपर्छ । उनले भने, महाकाली नगरपालिकामै अहिलेकै मापदण्डका आधारमा साढे ५ सय मानिस अटाउने सम्भावना छ । धारचुलामा उनीहरु बसेको क्वारेन्टाइन जस्तै बनाउँदा एक हजार ५ सय मानिस महाकाली नगरपालिकाकै अटाउँछन् ।
धेरै दिनदेखि धारचुलामा रहेका नेपालीलाई उद्धार गर्न जिल्लास्थित विपद व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेर पठाएका छौं । दार्चुलाका स्थानीयलाई महाकाली नगरपालिकामा व्यवस्थापन गर्ने र बाहिर जिल्लाका नागरिकलाई सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहहरुसँगको समन्वय पठाउने निर्णय गरेर माथि लेखी पठाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । ‘माथि र उतापट्टी कुरा भइरहको छ । एक–दुई दिनमा केही निर्णय हुने आश गरेका छौं ।,’ उनले भने ।
