पहाडबाट भोकभोकै हिँडेर तराई

वैशाख ११, २०७७

भवानी भट्ट

महेन्द्रनगर — हातमा लौरो, पिठ्युँमा झोला । लामो पैदल यात्रा र भोकले थकित अनुहार । मंगलबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको सुडा क्षेत्रमा यस्तै दृश्य देखियो ।

झण्डै दुई महिनाअघि पुख्र्याैली थलो डडेलधुरा गएका उनीहरु लकडाउनका कारण त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरुले पैदलै भए पनि घर फर्किने निधो गरेर हिँडेका हुन् । 

‘तीन दिनसम्म लगातार हिँड्दा निकै थाकेका छौं,’ डडेलधुराको भागेश्वर गाउँपालिकाबाट भीमदत्त नगरपालिका–५ सुकाशालस्थित घरमा फर्किन लागेका प्रकाश सेरालाले भने, ‘पहाडबाट बोकेको चामल एक/दुई छाक मात्रै पुग्यो, चाउचाउ खाएर बाटो काट्यौं ।’ उनीहरु डडेलधुराको जोगबुडा क्षेत्रमा पर्ने मलास भएर तराई झरेका हुन् । बाटोमा पसलहरु सबै बन्द भएकाले चाउचाउ मेत नपाएको उनले बताए । 

भीमदत्त नगरपालिकाको सुकाशाल र कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाको वनसमितिका गरी ११ जना भागेश्वरबाट हिँडेरै तराइ झरेका हुन् । होली र चैते दसैंका लागि पहाड गएका उनीहरु लकडाउनका कारण लामो समयसम्म रोकिएका थिए । 

‘हिँडद–ाहिँडदा खुट्टा पनि दुखिरहेको छ, अब त हिँड्नै नसकिने अवस्थामा छौ,ं’ भागेश्वरबाटै फर्किएका रामप्रकाश सेरालाले भने, ‘भोकले समेत निकै सताएको छ ।’ भागेश्वरबाट निस्कदा सबैले एक/एक किलो चामल बोकेका थिए । पिठ्युँमा धेरै बोक्न सकिने पनि थिएन ।  चामल दुई छाकमै सकिएपछि भोकभोकै यात्रा गर्नुपरेको हो । भागेश्वरबाट हिँडेको तेस्रो दिन सांँझ मात्रै उनीहरु महेन्द्रनगर पुगेका हुन् । 

‘बाटोमा चाउचाउ समेत किन्न पाइएन’ राम प्रकाशले भने, ‘भोक मात्रै होइन बाटोमा तिर्खाले पनि सतायो, गर्मीका कारण मूलहरु सुकेर खानेपानीको समेत अभाव रहेछ ।’ हिँड्दाको थकानसंँगै भोकले सताइरहेका बेला बाटोमा सुरक्षाकर्मीहरुले पटक–पटक रोकेर गर्ने सोधपुछले झनै सास्ती भएको उनीहरु बताउँछन् । 

उनीहरुले जिल्ला प्रशासन कार्यालय डडेलधुराबाट यात्राका लागि पाससमेत बनाएका थिए । सुरक्षाकर्मीले रोक्दा  पास देखाउँदै गन्तब्य स्थान र यात्रा सुरु गरेको स्थानबारे जानकारी गराउँथे । जोगबुडाको मलास भएर छिटफुट यात्रीहरु यात्रा गरिरहेका छन् । नवरात्रीका लागि पुख्र्याैली थलो गएकाहरु तराई झरिरहेका छन् भने भारतबाट आएकाहरु पहाडतिर उक्लिरहेका छन् । सवारी साधन नचलेका बेला पहाडतिर यात्रा गर्ने यो नै छोटो बाटो हो । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully