यसपल्टको विश्वकप सकारात्मक पक्षमा मात्र रहेन, यो विवादले भरिएको पनि रह्यो । इरानको सहभागितालाई लिएर राजनीतिक तनाव देखियो । हाइड्रेसन ब्रेकको प्रयोग गरियो ।
What you should know
एटलान्टा — स्पेन र अर्जेन्टिनाबीचको खेलसँगै विश्वकप फुटबल २०२६ टुंगिएको छ । विश्वकपको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगितामा कुल १ सय ४ खेल भएको थियो । तीन देशमा ६ साता जति प्रतिस्पर्धा चल्यो । मैदानमा रोमाञ्चक खेलहरू भए । केही स्तब्धपूर्ण नतिजा पनि आए । नाटकीय पुनरागमन पनि रचिए ।
नाम चलेका ठूला स्टारले आफ्नो प्रतिष्ठाअनुसार खेले । यसपल्टको विश्वकप यस्तै सकारात्मक पक्षमा मात्र रहेन, यो विवादले भरिएको पनि रह्यो । इरानको सहभागितालाई लिएर राजनीतिक तनाव देखियो । हाइड्रेसन ब्रेकको प्रयोग गरियो, तर कमैले मात्र यसलाई रूचाए । स्पेनले उपाधि जितेयता यो विश्वकप २०२६ लाई इतिहासले कसरी सम्झिने छ त ? केही प्रमुख विशेषता :
धेरै टिम, धेरै नाटक
यसपालि सहभागी टिमको संख्या बढेर ४८ टिम पुगेको थियो । यस्तोमा डर थियो, कतै एकपक्षीय खेल धेरै हुने त होइन तर त्यस्तो भएन । केप भार्डे, डीआर कंगो र कुरासाओ जस्तो टिमले इतिहास मात्र बनाएन, धेरैको मन पनि जिते । पहिलो खेलमै केप भार्डेले स्पेनलाई बराबरीमा रोकेको थियो अनि अन्तिम ३२ चरणमा स्थान बनायो । तर केप भार्डे अर्जेन्टिनासँग अतिरिक्त समयको हारपछि मात्र प्रतियोगिताबाट बाहिरियो । केप भार्डेका गोलरक्षक भोजिन्हा सबैभन्दा ठूलो ब्रेकआउट स्टार रहे । त्यो पनि ४० वर्षको उमेरमा ।
उनले एकाएक सामाजिक सञ्जालमा दसौं लाख फलोअर्स कमाए । कंगो भने नकआउट चरण पुगेको थियो । यसक्रममा उसले इंग्ल्यान्डलाई गाह्रै बनायो । कुरासाओसामु पनि अन्तिम समयसम्म दोस्रो चरण प्रवेशको सम्भावना जीवन्त थियो । फिफाले नयाँ टिमलाई अवसर दियो र तिनले पनि यो निर्णय ठीक भएको साबित गरिदिए । तर अन्त्यमा सेमिफाइनल भने तिनै चार टिम पुगे, जुन वरीयताका शीर्ष चारमा रहे । ती क्रमशः अर्जेन्टिना, स्पेन, फ्रान्स र इंग्ल्यान्ड थिए । यी चारै टिम पूर्वविजेता पनि हुन् ।
ठूला नाम चम्के
गोल्डेन बुट अवार्डको होडले पूरा विश्वकपलाई नै रोमाञ्चक बनाइदियो । यो अवार्ड जित्ने होडमा अन्त्यसम्म लियोनल मेसी, केलियन एमबाप्पे, इर्लिङ हालान्ड, ओसमन डेम्बेले, ह्यारी केन र जुड बेलिङ्घम कायम रहे । अवार्ड भने अन्ततः एमबाप्पेले जितेका छन् । यी फ्रान्सेली स्टारले यस विश्वकपमा कुल १० गोल गरे । यसक्रममा विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बने ।
उनले विश्वकपमा गरेको कुल गोलसंख्या २२ पुगेको छ । मेसी भने ८ गोलमै रोकिए । उनले विश्वकपमा गरेको कुल गोलसंख्या भने २१ रह्यो । क्रिस्टियानो रोनाल्डोले यो विश्वकप आफ्नो लागि अन्तिम त भने तर टिमलाई धेरै अगाडि बढाउन सकेनन् । स्पेनका लागि किशोर खेलाडी लामिन यामलको प्रदर्शन ठीकठाक रह्यो, चोटमुक्त भएर मैदानमा ओर्लिंदाको अवस्थामा पनि ।
प्रविधि नयाँ, गुनासो अझै
भीएआर अर्थात भिडियो एसिस्टेन्ट रेफ्री । यही प्रविधि यसपल्टको विश्वकपमा पनि विवादको केन्द्रमा रह्यो, यसले जर्मनी, क्रोएसिया र इजिप्टका केही खास गोलको मान्यता नै उल्टाइदियो । इजिप्टका प्रशिक्षक होसम हसनले त केही ठूलै आरोप पनि लगाए, जतिबेला अर्जेन्टिनाले इजिप्टविरुद्ध दुई गोलले पछाडि रहेको स्थितिमा अन्ततः जित निकाल्यो । हसनले भन्थे, ‘हामीविरुद्ध अन्याय नै भयो ।’
सेन्सर राखिएको उच्च प्रविधियुक्त बलले पनि क्रोएसियाविरुद्ध अन्याय गरेको थियो, जतिबेला अन्तिम ३२ को खेलमा जास्को ग्वाभारडिलको गोललाई मान्यता दिइएन । भलै, यो बल इगोर मान्टिनोभलाई हल्का छोएर पोस्टतर्फ गएको थियो । खेलपछि क्रोएसियाली प्रशिक्षक ज्लाट्को डालिचले आफ्नो पद छाडे र भीआरलक्षित भनाइ राखे, ‘जति पनि निर्णय भएका छन्, त्यो रमाइलोका लागि मात्र लिइएको छ ।’
टिकट महँगो, दर्शक उत्तिकै
यस विश्वकपका टिकट मूल्य असाध्यै धेरै रह्यो, तर पनि दर्शकको अभाव रहेन । फिफाले स्वचालित मूल्य निर्णयको प्रक्रिया अपनाएको थियो । यसक्रममा फिफामाथि आम दर्शकलाई लुट्नसम्म लुटेको पनि आरोप पनि लगाइयो । लिग चरणको खेलमै टिकट १ सय ४० देखि २ हजार ७ सय ३५ डलरसम्म पुगेको थियो । फाइनलको टिकट त झन ८ हजार ६ सय ८० सम्म पुगेको थियो र त्यसपछि त्यो बढ्दै गएको थियो ।
कतारमा भएको पछिल्लो विश्वकपको तुलनामा टिकट मूल्यले आकास छोएको थियो । फिफाको जत्तिकै आलोचना भए पनि दर्शक खेल हेर्न रंगशालामै पुगे । त्यस्ता खेलमा पनि दर्शक अभाव रहेन, जसमा स्टार खेलाडी कोही नहोस् । दक्षिण कोरिया र चेक गणतन्त्रबीचको खेलमा पनि केही खालि कुर्सी देखिए । नत्र अमेरिकी आतिथ्यतामा सबै खुसी नै देखिए ।
मन पराइएन ‘हाइड्रेसन ब्रेक’
फिफाले यो विश्वकपमा एउटा नयाँ नियम पनि लागू गरेको थियो । त्यो थियो, हाइड्रेसन ब्रेक । प्रत्येक हाफबीचको तीन मिनेटको विश्राम । धेरैले यसलाई मन पराएनन् । केही पुराना खेलाडीले पनि यसको सक्दो विरोध गरे । यही नियमलाई लिएर आयरल्यान्डका पूर्वखेलाडीले ओभरल्याप पोडकास्टमा भनेका थिए, ‘हामी अमेरिकामा छौं, त्यसैले त टाइमआउटको नियम लागू भयो ।’
खासमा यो नियम किन लागू गरिएको थियो भने यसले खेलाडीलाई फाइदा नै होस्, चर्को गर्मीबाट बचोस् भनेर । तर यो नियम चिसो मौसम भएका बेला पनि लागू गरियो । केही प्रशिक्षकले आफ्ना खेलाडीलाई निर्देशन दिन यो नियमको फाइदा उठाए । प्रसारणकर्ताले पनि यसलाई अतिरिक्त विज्ञापन बजाउन मिल्ने समयका रूपमा प्रयोग गर्यो । अब यो नियमको भविष्य के हुनेछ, त्यो अन्योलपूर्ण नै छ ।
युद्धको भूमरीमा इरानको सहभागिता
विश्वकपमा फुटबल र राजनीतिबीच संघर्ष चल्नु आफैंमा नयाँ होइन । यसपल्टको सबैभन्दा ठूलो राजनीतिक मुद्दा रह्यो, इरानको सहभागिता । मध्यपूर्वमा चर्केको युद्धका कारण इरानको सहभागितालाई लिएर सुरुमै अन्योल छाएको थियो । तर, इरानले यो विश्वकप खेल्यो । यसबीच इरानले आफ्नो केन्द्रलाई एरिजोनाबाट हटाएर मेक्सिकोमा कायम राखेको थियो ।
इरान अमेरिका पुग्नु अगाडि भिसाको समस्या भयो, अमेरिकाले टिमका केही खास–खास सदस्यलाई प्रवेशाज्ञा दिन मानेन । इरानले पनि आफ्नो यात्रामा धेरै प्रकारले बाधा पुर्याइएको दाबी गरेको थियो । प्रत्येक खेलपछि इरानले लगभग तुरुन्तै जसो अमेरिका छाड्नुपरेको थियो । इरान समूह चरणबाट अगाडि बढ्न भने सकेन र यसलाई लिएर अमेरिकी सुरक्षा अधिकृत मार्कवायने मुलिनले खुसी नै व्यक्त गरे ।
ट्रम्पको भूमिकामाथि प्रश्न
डोनाल्ड ट्रम्प प्रशासनले केही देशका फुटबल समर्थकलाई अमेरिका प्रवेशमा रोक त लगायो, तर विश्वकप चलिरहेकै बेला आप्रवासी रहेकालाई देश निकाला गर्ने काम भने गरेनन् । नत्र मानवअधिकारवादीलाई डर थियो, ठूलो संख्यामा आप्रवासीलाई देश निकाला गरिनेछ, यही विश्वकपकै बेला । फाइनललाई छाडेर ट्रम्पले कुनै पनि खेल प्रत्यक्ष हेरेनन्, तर फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीचको उनको सम्बन्ध भने चर्चामा रह्यो ।
बेल्जिमयविरुद्धको अन्तिम १६ को खेलअगाडि रातो कार्डका कारण अमेरिकी खेलाडी फ्लोरिन बोलोगन एक खेलको प्रतिबन्धबाट गुज्रिरहेका थिए । ट्रम्पले यसै विषयमा इन्फान्टिनोलाई यो प्रतिबन्ध हटाउन भने र फिफाले पनि यस्तै काम गर्यो । यसलाई राजनीतिक हस्तक्षेपकै रूपमा लिइयो, तर अमेरिकालाई फाइदा भने गरेन । टिम बेल्जियमसँग नमज्जा पराजित रह्यो ।
