अर्जेन्टिना र इंग्ल्यान्डबीचको पछिल्लो खेल सन् २००५ मा भएको थियो, उक्त खेल इंग्ल्यान्डले ३–२ ले जितेको थियो।
एटलान्टा — इंग्ल्यान्डले विश्वकप फुटबलमा बिहीबार तहल्का मच्चाउने सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्दा एउटै लक्ष्य राख्नेछ, लियोनल मेसीको लगातार दोस्रोपल्ट फाइनल खेल्ने सपनालाई टुटाउने ।
जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनमा टिकेर अन्तिम चारको चरण पुगेको इंग्ल्यान्डले एटलान्टा स्टेडियमको छानामुनि मेसीविरुद्ध खेल्दै छ । त्यो त्यही मैदान हो, जहाँ डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले यसै विश्वकपमा सम्झनलायक जित निकालिसकेको छ ।
यी दुई टिम सन् २००२ को विश्वकपयता पहिलो पटक भिड्न लागेका हुन् । यिनीहरूको खेल आफैं अनेक सम्झनलायक प्रदर्शनले समेटिएको छ । त्यसमा सबैभन्दा अगाडि आउने त सन् १९८६ को विश्वकप नै हो, जसको क्वाटरफाइनलमा डिएगो म्याराडोनाले हातले गोल गरेका थिए । सन् १९९८ मा डिएगो सिमोनीलाई प्रहार गरेको आरोपमा डेविड बेकह्यामले रातो कार्ड खाएका थिए । अझ यी सबैको पृष्ठभूमिमा दुई देशले लडेको फकल्यान्ड युद्ध छँदै छ ।
स्विट्जरल्यान्डविरुद्ध क्वाटरफाइनलमा ३–१ को जित निकालेयता अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कोलानीले तनावको स्थिति मत्थर पार्ने उद्देश्यले भनेका छन्, ‘म सबैलाई भन्न चाहन्छु, यो फुटबलको एक अर्को खेलमात्र हो ।’ हुन् त यो खेलमा विशुद्ध फुटबलको दृष्टिकोणले हेर्न मिल्ने अनेक आयाम छन् । जस्तो, इंग्ल्यान्ड आफैं सन् १९६६ यता पहिलो पटक विश्वकपको फाइनल पुग्ने प्रयासमा छ । इंग्ल्यान्डले त्यति बेला एकै अवसरमा मात्र विश्वकपको उपाधि जितेको थियो ।
अर्कोतर्फ अर्जेन्टिना भने लगातार दोस्रोपल्ट फाइनल पुगेर सन् १९६२ मा ब्राजिलले चुमेको यस्तै कीर्तिमानको बराबरी गर्न चाहन्छ । मेसीले इंग्ल्यान्डविरुद्धको खेलको पूर्वसन्ध्यामा भनेका छन्, ‘यो टिमलाई इतिहास बनाउँदै गर्दा थकाइ लाग्दैन । अझ यो टिम बढी सफलता हात पार्न चाहन्छ । विश्वकप उपाधि जित्न सजिलो छैन, हामीले जति जित्यौं, त्यो पनि सहज थिएन । त्यसमाथि अहिलेको उच्च स्तरको प्रतिस्पर्धामा लगातार सेमिफाइनल पुग्नु पनि ठूलै हो ।’
संयोगले मेसीका लागि यो सेमिफाइनल इंग्ल्यान्डविरुद्ध आफ्नो खेल जीवनकै पहिलो खेल पनि हुनेछ । सेमिफाइनलसम्मको यात्रामा दुवै टिमको प्रदर्शन एकनासे र सहज रहन सकेको छैन । अर्जेन्टिनाले समूह चरण त सजिलै काट्यो, तर त्यसयताका नकआउट चरण गाह्रै साबित भएको छ । कुनै समय वेस्ट ह्यामका फुल–ब्याक रहेका स्कोलानीको टिमले केप भार्डेलाई अतिरिक्त समयमा हराएको थियो ।
इजिप्टलाई त झन दुई गोलले पछाडि रहेको स्थितिमा हराएको हो । यो खेल एटलान्टामै भएको थियो । त्यसपछि अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्डको चुनौती अतिरिक्त समयको खेलमा समाप्त पारेको थियो । त्यही खेलमा मेसीको विश्वकपको ९ खेलमा लगातार गोल गर्ने क्रम पनि टुटेको थियो ।
तर यसबीच अर्जेन्टिनाले विश्वकपका १२ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । अर्जेन्टिना अन्तिम पटक सन् २०२२ मा साउदी अरेबियाविरुद्धको खेलमा पराजित रहेको थियो । अर्कोतर्फ इंग्ल्यान्डले क्रोएसियालाई हराएर आकर्षक सुरुआत त लियो ।
तर त्यही लय कायम राख्न सकेन । नकआउट चरणमा पनि इंग्ल्यान्डलाई गाह्रै भयो । डीआर कंगोलाई खेलको अन्त्यतिर हराउन कप्तान ह्यारी केनले दुई गोल गर्नुपरेको थियो । इंग्ल्यान्ड आफैं १० खेलाडीमा सीमित रहेर सहआयोजक मेक्सिकोलाई हराउन पनि अप्ठ्यारो परेको थयो । त्यसमा बेलिङ्घमले दुई गोल गरेका थिए । यिनै खेलाडीको दुई गोलको मदतमा इंग्ल्यान्डले अन्तिम आठमा नर्वेलाई रोकेको थियो ।
इंग्ल्यान्डको पक्षमा रहेको एउटा सुखद तथ्य के भने आफूले खेलेका पछिल्ला ५ ठूला प्रतियोगितामा यो चौथो सेमिफाइनल प्रवेशको अवसर हो । इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्ड भन्छन्, ‘हामी सबैलाई थाहा छ, मेसी कति उत्कृष्ट खेलाडी हुन् भनेर । अर्जेन्टिना आफैंमा राम्रो टिम हो । त्यसैले हाम्रो उद्देश्य मेसीलाई रोक्ने त हुनेछ नै छ, हामीलाई तिनका अन्य खेलाडीबारे पनि ध्यान दिनुपर्छ । हाम्रो ध्यान अर्जेन्टिनाको अन्य बलियो र कमजोरी दुवै पक्षमा केन्द्रित हुनुपर्छ ।’
अर्जेन्टिनी टिमलाई लिएर एउटा चिन्ताको विषय भने रहन सक्छ । यो हो, पाका खेलाडीको बाहुल्य । स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिनाले उतारेको सुरुआती ११ खेलाडीको औसत उमेर थियो, ३० माथि । यही तथ्यमा नर्वेविरुद्ध इंग्ल्यान्डको औसत उमेर थियो, २६.६ । इंग्ल्यान्डका लागि सम्भवतः डेक्लेन राइसले खेल्ने वा नखेल्नेमा दुविधा हुनसक्छ, किनभने उनी बिरामी छन् । इंग्ल्यान्डका लागि सबै खेलाडीका लागि मेसीको पहिलो पटकको सामना आफैंमा सम्झनलायक रहन सक्नेछ ।
मेसी भन्छन्, ‘मैले आफ्नो खेल जीवनमा लगभग सबैविरुद्ध खेलेको छु, इंग्ल्यान्डबाहेक । यो विश्व फुटबलको एउटा ठूलो टिम हो, महाशक्ति पनि । त्यसैले मेरा लागि पनि यो विशेष खेल हुनेछ । विश्वकपमा इंग्ल्यान्ड जत्तिको टिमविरुद्ध खेल्न पाउनु पनि ठूलै हो ।’
दुई टिमबीचको अन्तिम खेल भने सन् २००५ को नोभेम्बरमा भएको थियो । त्यस मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ३–२ ले विजयी रहेको थियो । त्यसमा माइकल ओवेनले इंग्ल्यान्डका लागि दुई गोल गरेका थिए । त्यतिबेला मेसी १८ वर्षका मात्र थिए । उनले त्यो खेल खेल्न पाएका थिएनन् ।
