बुधबार बिहान ००:४५ मा हुने सेमिफाइनलमा स्पेनको मजबुत रक्षापंक्तिलाई छिचोल्न फ्रान्सलाई सजिलो पक्कै हुने छैन ।
डालास — किलियन एमबाप्पे र फ्रान्सको आक्रमण विश्वकप फुटबल २०२६ मा निकै उच्च लयमा रहेको छ । टोली लगातार तेस्रो फाइनल खेल्ने दाउमा रहेको छ । तर बुधबार बिहान ००:४५ मा हुने सेमिफाइनलमा स्पेनको मजबुत रक्षापंक्तिलाई छिचोल्न फ्रान्सलाई सजिलो पक्कै हुने छैन ।
डालासको एट एन्ड टी रंगशालामा हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अझ फ्रान्सका प्रशिक्षक डिडियर डेस्याम्प्सले सोमबार स्पेन यस खेलमा दाबेदार रहेको भनेर ‘माइन्ड गेम’ खेलिसकेका छन् ।
‘उनीहरुले राम्रोसँग आक्रमण गर्छन्, रक्षा पनि राम्रो गर्छन् र गोल खर्चदैनन्, त्यसैले यो खेल दर्शनीय हुनेछ,’ डेस्याम्प्सले भनेका थिए । फ्रान्सले पछिल्लो दुई संस्करण फाइनल खेलिसकेको छ । त्यसमा सन् २०१८ मा रुसमा उपाधि जितेको थियो भने चार वर्ष अगाडि कतारमा भएको फाइनलमा लियोनेल मेसीको अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । जबकी त्यो फाइनलमा एमबाप्पले ह्याट्रिक गोल गरेका थिए ।
१९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स अहिले तेस्रो पटक विश्व च्याम्पियन बन्ने दाउमा रहेको छ । फुटबल संस्कारमा धनी भए पनि फ्रान्सले एकमात्र विश्वकप उपाधि २०१० मा दक्षिण अफ्रिकामा जितेको थियो ।
स्पेनसँग अहिले जुन स्तर छ, त्यो दोस्रो पटक विश्वकप उपाधि जित्नलाई बलियो आधार रहेको धेरैको विश्वास छ । केप भार्डेसँग पहिलो खेलमै गोलरहित बराबरीमा रोकिए पनि नआत्तिएको स्पेनले त्यसपछि आफ्नो लय निकै राम्रोसँग मिलाइसकेको छ । स्पेनको अब पालो आएको छ, फ्रान्सको बलियो आक्रमणपंक्तिलाई रोक्ने ।
एमबाप्पेले ८ गोल गरिसकेका छन् र उनी मेसीसँगै गोल्डेन बुटको दौडमा मेसीसँगै अगाडि रहेका छन् । त्योसँगैं फ्रान्ससँग बालोन डी’ओर विजेता ओसमन डेम्बले र माइकल ओलिस रहेको छ, जसले एमबाप्पेलाई खुला रुपमा खेल्न दिएको छ र विपक्षीलाई आच्छु आच्छु पारेको छ ।
विश्वकप अघि फ्रान्सको कमजोर पक्ष मानिएको डिफेन्स पनि यस प्रतियोगितामा प्रभावशालाी देखिएको छ । फ्रान्सका प्रशिक्षक डेस्याम्प्सले आफ्नो १४ वर्षे कार्यकाल यसै प्रतियोगितापछि टुंग्याउँदै छन् । उनी विश्वकपको इतिहासमा यस्ता चार व्यक्ति हुन्, जसले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जितेका छन् । यसपटक उपाधि जितेमा डेस्याम्प्सले अन्य सबैलाई पछाडि पार्नेछन् ।
सोमबार १९ औं जन्मदिन मनाएका लामिन यमालले आफूले किनेको हिरा जडित गहना लगाएर सञ्चारमाध्यमसामु प्रस्तुत भएका थिए । उनी यस्ता खेलाडी हुन्, जसलाई मेसीको उत्तराधिकारी र युवा एमबाप्पेको स्वरुपमा हेरिन्छ । तर यस विश्वकपमा उनले अझै त्यो छवि देखाइसकेका छैनन् ।
स्पेनलाई युरो २०२४ को उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनी ह्यामस्ट्रिङको चोट बोकेर यस विश्वकप खेल्न अमेरिका आएका थिए, त्यसले पनि उनी खुलेर खेल्न सकेका छैनन् । बार्सिलोनाका यी खेलाडी स्पेनले बेल्जियमविरुद्धको क्वाटर्रफाइनल २–१ ले जित्दा प्लेयर अफ द म्याचमा चुनिएका थिए ।
यमालकै कारण स्पेनले फ्रान्सलाई युरो २०२४ को सेमिफाइनलमा २–१ ले र गत वर्ष नेसन्स लिगको सेमिफाइनलको हाइ स्कोरिङ खेलमा ५–४ गोलले पराजित गरेको थियो । गत साता स्पेनले बेल्जियमलाई क्वाटरफाइनलमा पराजित गरेपछि यमालले यसअघिका खेललाई इंगित गर्दै स्पेनलाई भन्दा फ्रान्सलाई ‘डर’ भएको जनाएका थिए ।
सोमबारको पत्रकार सम्मेलनमा उनले यही भनाईलाई स्पष्ट पारेका थिए । ‘मलाई फ्रान्ससँग डर लाग्छ भनि सोधिएको थियो, मैले लाग्दैन भने,’ यमालले त्यसको कारण खुलाए, ‘हामी युरोपीयन च्याम्पियन हौं, फुटबलमा यति सामन्य नै हो ।’
आइतबारको विश्वकप फाइनल आफ्ना लागि जन्मदिनको उत्तम उपहार हुने पनि यमालले जनाए । ‘मैले अहिलेसम्म धेरै उपहार पाएको छैन, सबैभन्दा राम्रो जन्मदिनको उपहार फ्रान्ससँगको खेल जित्दै फाइनललाई न्यु योर्कको यात्रा गर्नु हुनेछ ।’
यमाललाई साथ दिँदै मिकेल मेरिनोले स्पेनको पछिल्लो दुई खेलको अन्तिम मिनेटमा गोल गर्दै आएका छन्, जसले स्पेनलाई सेमिफाइनलसम्म डोर्याएको छ । फ्रान्समा जन्मिएका एमेरिक लापोर्टेको नेतृत्वमा रहेको स्पेनले रक्षापंक्तिमा जब्बर प्रदर्शन गर्दै आएको छ र केवल १ गोलमात्र खर्चिएको छ, जुन टोलीले पछिल्लो खेलमा बेल्जियमविरुद्ध खाएको थियो ।
स्पेनका प्रशिक्षक लुइस डे ला फुइन्टेले आफ्नो टोलीको जोड अग्रपंक्तिमै रहेको बताएका छन् ।
